१२ श्रावण २०८१ शनिबार
image/svg+xml
शिक्षा

हिमाली छात्रावासका कारण पढ्ने मौका पाउँदै विद्यार्थी

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपको लावाजिन घर भएकी हेममाया लिम्बूलाई घरबाट सरस्वती च्यारिबुक माविमा अध्यननका लागि आइपुग्न दुईघण्टा समय लाग्थ्यो। बिहान हतारमा खाना बनाएर खाएर हिड्यो,हस्याङफस्याङ गर्दै पसिना सरी विद्यालय पुग्यो। छुट्टी हुनासाथ विद्यालयबाट हिड्यो,साँझमा घरमा पुग्यो। उनको यो दैनिकीले पढाइमा उल्झन त हुन्थ्यो नै,दोहोरो हिडाँइले शरीर गलेर थकान पनि।  

तीनघण्टा समय लगाएर विद्यालय आउने पासाङकी शेर्पा उस्तै बाध्यतामा अध्ययन गरिरहेकी थिइन्। हेममाया र पासाङ्कीको अहिलेको दैनिकी फेरिएको छ। विद्यालय परिसरमै सुविधा सम्पन्न हिमाली छात्रावास बनेको छ। अहिले उनीहरु त्यहिँ छात्रावासमा बस्छन्। बिहान बेलुका पढ्न पनि पाउने भए। हेममाया  र पासाङकी जस्तै पासाङल्हामु शेर्पालाई पनि छात्रावासले सहज बनाएको छ। दुई–तीन घण्टाको बाटो हिंडेर बिद्यालयमा दिनभरी पढी शिक्षकले दिएको गृहकार्य गर्न समेत गर्न नभ्याउने समस्या व्यहोरी रहेकी उनले छात्रावासकै कारण पढाइमा सहजता आएको अनुभव गरेकी छन्।

‘त्यसो त कति सञ्च सञ्च नी’ विद्यालय संगै जोडिएको छात्रावासमा बसेर पढ्न पाउनुको मजा बारे पासाङल्हामु यसरी गफिइन्। टाढाका विद्यार्थीको पढाइमा असर पर्ने समस्या हटाउन त्यहाँ ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले सुविधा सम्पन्न छात्रावास बनाइदिएको छ।  

रिड नेपाल हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा शैक्षिक उन्नयनका लागि काम गर्ने निकाय हो। रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्त दुर्गम गाउँका विद्यार्थीले अध्ययनमा क्रममा झेलिरहेको समस्या हटाउन सरस्वती च्यारिबुक माविमा छात्रावास बनाउने योजना सफल भएकोमा गर्व गर्छन्।  

‘यसले टाढा र दुर्गम क्षेत्रबाट घण्टौ लगाएर अध्ययनमा आउने विद्यार्थीको पढाइलाई सहज बनाएको महशुस गरेका छौं’छात्रावास निर्माण पछि पन्तले भने। हिमालयन् ट्रष्ट युकेका उपाध्यक्ष जोन वाल्टनसहितको उपस्थितिमा नवर्निमित छात्रावासको समुद्घाटन समेत गरिएको छ। ‘आवश्यक स्थानमा अति आवश्यक भौतिक संरचना बने छ’उद्घाटनका क्रममा भावुक देखिएका वाल्टनले भने। सरस्वती च्यारिबुक दुर्गम मानिएको फक्ताङलुङ गाउँपालिकाको’लिडर‘मावि हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष छोवाङडोमा शेर्पा छात्रावासले विद्यार्थीको पढाई सुधार गर्नेमा विश्वस्त छिन्। भन्छिन्‘टाढाबाट आउने विद्यार्थीका लागि नयाँ बनेको छात्रावास बरदान सावित भएको छ’। रिड नेपालका कार्यक्रम प्रवन्धक पन्तका अनुसार नयाँ छात्रावास आधुनिक तवरको छ। ३४ जना छात्रा बस्न मिल्ने छात्रावासमा बैकल्पिक अवस्था बाहेक दाउरा बाल्नु पर्दैन। ग्याँस चुल्होमा खाना पकाउने प्रवन्ध गरिएको छ।  

सदरमुकाम फुङलिङबाट भरेर लैजानुपर्ने अवस्थाको सिलिण्डरमा कथम अभाव भएमा मात्र दाउरा बाल्नुपर्ने गरी धुुँवा रहित चुल्हो पनि बनाइएको छ। ४ वटा भान्छा घरमा ४–४ जनाले दुईतर्फबाट खाना पकाउन सक्छन्। सुत्ने कोठाको भित्री संरचना पनि आधुनिक तवरकै रहेको छ। प्राय चिसो हुने त्यो छात्रावासमा नुहाउनका लाति तातोपानीको प्रवन्ध गरिएको छ।  

छात्रावास नजिकै शौचालय बनाइएको छ। सुरक्षा संम्वेदनशिलतालाई हेरेर छात्रावास घेराबारा गरिएको छ। पहिला पुरानो रहेको छात्रावासको भुइतलाबाटै रिड नेपालले प्रवलीकरण गरेको हो भने भान्छा कक्ष सहितका अन्य संरचना नयाँ बनाएको हो। रिड नेपालका शिक्षा अधिकृत रोमा मावोका अनुसार छात्रावासको भान्छाघर,भवन प्रवलीकरण,खानेपानी,स्नान कक्ष र घेराबारा सहितको कार्यका लागि ५६ लाख ७४ हजार ५ सय ८१ रुपैंया खर्च भएको छ।

त्यसमध्ये छात्रावासको भान्छाघर निर्माणका लागि ३० लाख ५० हजार ७ सय ५३ रुपैंया खर्च भएको छ। यस्तै छात्रावास प्रवलीकरण(पुर्ननिर्माण)का लागि १५ लाख ६ हजार एकसय रुपैंया,स्नान कक्षका लागि ७ लाख ५७ हजार ७ सय २८ रुपैंया,खानेपानी परियोजनाका लागि २ लाख १० हजार रुपैंया र घेराबाराका लागि १ लाख ५० हजार रुपैंया खर्च भएको छ।  

प्रकाशित: २ मंसिर २०७९ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App