३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
शिक्षा

सिमान्तकृत समुदायका बालबालिका पढ्ने विद्यालयको नतिजा शतप्रतिशत

अति सिमान्तकृत समूदाय मुसहरको बसोबास रहेको इटहरी वडा नं. १७ र १ का बालबालिका गरिबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ्न जाने गर्थे ।    

ती बालबालिका कतिपय बाबुआमा जाँडरक्सी खाएर रमाउने गर्थे । जसले गर्दा मुसहर वस्तीमा चेतनाको स्तर टिठ लाग्दो थियो ।  चेतनाको स्तरको मापक के लाई मान्ने ? विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ्ने चलन नै थिएन् । स्कुलकै मात्र भर थियो ।  

पछिललो समय यो अवस्थामा परिवर्तन आएको छ । स्थानीय टोल विकास संस्थाको अगुवाईमा मुसहरसँगै त्यस वस्ती तथा आसपासका क्षेत्रका थारु, दनुवार, कुमर, राई, लिम्बू र तामाङ्का बालबालिकालाई नियमित विद्यालय पढाउने अभियान दुई वर्षअघि सञ्चालन गरियो । जसले गर्दा विद्यालय बाहिर रहेका प्रायः सवै बालबालिका विद्यालय भर्ना भए ।  

२०७९ साउन १ गतेदेखि आमा समूह गठन गरेर नियमित आमा समूहको बैठक बस्न थालेपछि स्वास्थ्य सम्बन्धी चेतनास्तर बढेको छ । अब यहाँका महिला गर्भ बसेदेखि नियमित स्वास्थ्य संस्था गएर चेकजाँच गराउँछन भने स्वास्थ्य केन्द्रमै गएर सुरक्षित सुत्केरी गराउने गरेका छन् । दुई वर्षअघि विद्यालयमा भर्ना गर्ने अभियानमा सक्रिय रहेकी बिमला ढकालले भनिन, ‘दुई वर्षअघि र अहिले त मुसहर वस्तीमा शिक्षामा आएको जागरण आकाश जमीन फरक भइ सकेको छ ।’

मुसहरसँगै अन्य पिछडिएको जातजातिका बालबालिका पढ्ने गरेको श्री जनजागृति माध्यमिक विद्यालयबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सतप्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी २० विद्यार्थीहरू उत्र्तीण भएका छन् । ‘वस्तीका बालबालिकाको अवस्थाले गर्दा शत प्रतिशत विद्यार्थी पास गराउनु ठूलै उपलब्धी हो,’ विद्यालयका विज्ञान शिक्षक अच्यूत खडका भन्छन्, ‘अहिले पनि वस्तीका धेरैजसो बालबालिका घरमा गएर कमैले मात्र पढ्छन् । स्कुलकै भरमा सतप्रतिशत उत्र्तीण गरेका हुन् ।’ उनका अनुसार सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेको समुदायमा रहेको विद्यालयले प्राप्त गरेको यो नतिजाले शिक्षा क्षेत्रमा नयाँ आशा र उत्साह थपेको छ ।

प्रकाशित: १ जेष्ठ २०८३ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App