३१ असार २०८३ बुधबार
image/svg+xml
सम्पादकीय

हरेक मनसुनमा उही नियति किन?

निरन्तरको वर्षासँगै देशका अधिकांश भागमा बाढी र पहिरोको कहर सुरु भएको छ। त्यससँगै कतै बस्ती बगेका छन्, कतै सडक खसेका छन् भने कतै सडक अवरुद्ध भएका छन्। धनजन मात्र होइन, बाढी र पहिरोसँगै हाम्रा मनहरू पनि बगेका छन्। मनसुनसँगै विगत वर्षहरूको नियति भोग्न थालेका हामीले फेरि एकपटक विपद्को कठोर परीक्षाका लागि तयार हुनुपर्ने बाध्यता आएको छ। यो हरेक वर्षको नियति हो। अब हामीले प्रकृति र हाम्रो नियतिलाई होइन, हाम्रा नीति र नियतलाई नियाल्नुपर्ने समय आएको पर्छ ।

बाढी–पहिरो हाम्रा लागि अपरिचित र आकस्मिक घटना होइनन्। पुस्तौंदेखि नेपाली समाज यस्ता विपत्तिसँग जुध्दै आएको छ, तापनि राज्य यस्ता विपत्ति न्यूनीकरण एवं दीर्घकालीन समाधान गर्ने नीति बनाउन किन तयार छैन ? प्रश्न त्यहाँ हो। जलवायु परिवर्तनका कारण अवश्य केही असर परेको छ।छोटो समयमा अत्यधिक वर्षा हुने, नदीमा आकस्मिक बहाव बढ्ने र पहिरोको जोखिम फैलिने क्रम बढेको छ। अधिकांश विपद्का घटनालाई जलवायु परिवर्तनसँग जोडेर राज्य पन्छिन मिल्दैन।विपद् अपवाद होइन, नेपालका लागि यथार्थ हो र अझ नयाँ यथार्थ बनेको छ।

काठमाडौंसहित देशका कतिपय ठाउँमा प्रकृति आफैंले निम्त्याएको कहर बन्न पुगेको छ।काठमाडौं उपत्यकामा सामान्य वर्षामै मुख्य सहर तथा बस्ती डुब्नु प्राकृतिक प्रकोपभन्दा बढी व्यवस्थापनको विफलता हो। पानी निकासका लागि नदीनाला, ढलको अव्यवस्था, समन्वय अभाव र गैरजिम्मेवारीपनको परिणाम हो।काठमाडौंले आफ्नो प्राकृतिक जलचक्र गुमाउँदै गएको छ। खुला जमिन कंक्रिटले ढाकिएको छ, पोखरी पुरिएका छन्, कुलो, खोल्सा र खोलाहरू अतिक्रमण गरिएका छन्।जमिनले पानी सोस्ने क्षमता गुमाएपछि वर्षाको पानी सतहमै बग्छ। पानी सडकमै आउँछ अनि बस्तीमै पस्छ।कुलो, खोला, नदीलाई कृत्रिम घेराभित्र थुन्दै अतिक्रमणलाई वैधता दिँदै जाने हो भने आगामी दिनमा काठमाडौंको अवस्था अझ भयावह बन्ने निश्चित छ ।

विकासको नाममा मनलाग्दी पूर्वाधार निर्माण हाम्रा लागि अर्को चुनौती बन्न पुगेको छ।सडक निर्माण गर्दा भूगर्भीय अध्ययनलाई बेवास्ता गर्ने, नदी किनारमा बस्ती विस्तार गर्दै जोखिमयुक्त पूर्वाधार निर्माण गर्ने प्रवृत्तिले प्राकृतिकभन्दा धेरै मानवनिर्मित संकटमा रूपान्तरण हुन पुगेको छ।विपद्पछि राहत बाँड्ने र खोज्ने प्रवृतिबाट माथि उठेर जोखिम घटाउन पूर्वतयारीसाथै जलवायु अनुकूल पूर्वाधार, वैज्ञानिक सहरी योजना, नदीनालाको संरक्षणमा ध्यान दिनुपर्छ।स्थानीय सरकारको क्षमता विस्तारसँगै प्रभावकारी पूर्वसूचना प्रणालीलाई विकास गर्नु आजको आवश्यकता हो।

अहिलेसम्म त जसोतसो धान्यौं, सह्यौं। विपद् सहने  र पुनः जुर्मु राए र उठ्ने उत्थानशीलताको पाठ पनि हामीले सिकेका मात्र छैनौं, सिकाएका छौं। अब विपद् आएपछि हेरौंला भन्ने होइन, जुनसुकै बेला, जुस्तोसुकै स्वरूपमा विपद् आउन सक्ने हुँदा यसविरुद्ध तया र हुनपर्ने छ।विपत् न्यूनीकरणका लागि सोहीअनुसा रका पूर्वाधा र निर्माण, जनचेतनाको विकास  र विस्ता र गर्नु आवश्यक छ। जुन काम कुनै एक तहको सरकार वा आमनागरिक अथवा कुनै एक निकायको सक्रियताले मात्र सम्भव छैन।विपद्बाट बच्न र बचाउन सबै संघसंस्था, निजी क्षेत्र, तीनै तहका सरकारको आडभ रोसासँगै स्पष्ट नीति र दीर्घकालीन सोचसहितको हातेमालो आवश्यक छ। विपद्सँग खेलवाड होइन, सहकार्य र हातेमालो गरौं।

प्रकाशित: ३१ असार २०८३ ०६:०५ बुधबार

Download Nagarik App