२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
सम्पादकीय

उज्यालो पर्व परिवर्तनको आकांक्षा

कात्तिकको औंसी रातमा घरआँगनमा दियो बल्छन्। झिलिमिली बत्तीले मनमा नयाँ उमंगको सञ्चार हुन्छ। तिहारको उज्यालोले घरको अँध्यारो मात्र हटाउँदैन, मनमा आशा र आत्मीयताको पनि सञ्चार गर्छ। त्यसैले तिहार दीपावलीको उत्सव मात्र होइन, अँध्यारोबाट उज्यालोतर्फ, निराशाबाट आशातर्फको प्रतीकस्वरूपको पर्व हो।

तिहारले आफ्नो घरमा मात्र होइन, समाज र देशको जीवनमा पनि उज्यालो फैलाउन प्रेरित गरिरहेको छ। त्यति मात्र होइन, तिहार प्रकृति, जीवजन्तु र मानवीय सम्बन्धप्रतिको सम्मान व्यक्त गर्ने अनुपम सांस्कृतिक पर्व पनि हो।

कागको सन्देश, कुकुरको निष्ठा, गाईको ममता, गोरुको श्रम र दाजुभाइ–दिदीबहिनीबिचको स्नेहले हाम्रो जीवनका विविध पक्षलाई सम्मान गर्न सिकाउँछन्। नेवार समुदायको म्हःपूजाले आफ्नै अस्तित्व, आत्मसम्मान र जीवनप्रतिको विश्वासलाई उजागर गर्छ। यी परम्पराभित्र प्रकृतिसँगको सहअस्तित्व, श्रमको सम्मान, प्रेम र सद्भावका गहिरा सन्देश लुकेका छन्।

यही मानवीय मूल्य बोकेको पर्व तिहारमा एउटा सानो दियोले पनि अँध्यारोलाई चुनौती दिन्छ। गत वर्ष भएको जेनजी विद्रोहले समाजमा लामो समयदेखि जमेर बसेको असन्तुष्टिलाई आवाज दिएको थियो। भ्रष्टाचार, बेथिति, असमानता र जवाफदेहिताको अभावविरुद्ध युवा पुस्ताले उठाएको आवाज परिवर्तनको आकांक्षाको अभिव्यक्ति थियो। त्यो केवल एउटा पुस्ताको असन्तुष्टि थिएन। सुशासन, पारदर्शिता र न्यायपूर्ण समाजको चाहना पनि थियो। राज्य र राजनीतिक नेतृत्वलाई नागरिकका अपेक्षा सुन्न, आफ्ना कमजोरी सच्याउन र शासन सञ्चालनको शैली बदल्नुपर्ने सन्देश दिएको छ।

परिवर्तनको अर्थ अनुहार फेरिनु मात्र होइन, व्यवहार र संस्कार बदलिनु थियो। जनमत प्राप्त सरकार अझ बढी जिम्मेवार बन्नुपर्छ। जनताले खोजेको सुशासन भाषणमा होइन, सरकारी कामकारबाहीमा देखिनुपर्छ। पारदर्शिता घोषणामा होइन, निर्णय र व्यवहारमा स्थापित हुनुपर्छ।  

तिहारले घर सफा गर्न, उज्यालो बनाउन र मनमा सद्भाव राख्न सिकाउँछ। यही सन्देश हाम्रो सार्वजनिक जीवनमा पनि आवश्यक छ। दलहरूले आफ्ना कमजोरी पहिचान गर्नुपर्छ, स्वार्थ र गुटबन्दीभन्दा माथि उठ्नुपर्छ। नेतृत्वले आलोचनालाई शत्रुता होइन, सुधारको अवसरका रूपमा लिनुपर्छ। राज्यले असहमत आवाजलाई दबाउने होइन, सुन्ने संस्कार विकास गर्नुपर्छ।

लोकतन्त्रको सुन्दरता नै नागरिकले प्रश्न गर्न पाउनु र राज्यले त्यसको जवाफ दिनुमा छ। न्याय, सहिष्णुता र पारदर्शिताबिनाको उज्यालो दिगो हुन सक्दैन। तिहारको अर्को पक्ष आत्मीयता र सम्बन्धको नवीकरण हो।

  दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्ने भाइटीकाले परिवारभित्रको प्रेम र विश्वासलाई बलियो बनाउँछ। यो पर्व परिवारको घेरामा मात्र सीमित छैन। त्यसभन्दा बाहिर पनि आत्मीयता विस्तार गर्न प्रेरित गर्छ। दुःखमा परेका छिमेकीलाई सम्झनु, विपन्न र असहायलाई सहयोग गर्नु, विभेद र वैमनस्य त्याग्नु तथा सामाजिक सद्भाव कायम राख्नु नै पर्वको वास्तविक मर्म हो।

हामीले मनाउने चाडपर्वले प्रकृति र संस्कृतिसँगको सम्बन्धलाई पनि ताजा बनाउँछन्। तिहारमा गरिने प्रकृति र जीवजन्तुको पूजा मानव जीवन एक्लै पूर्ण हुँदैन भन्ने स्मरण पनि हो। प्रकृतिको संरक्षण, श्रमको सम्मान र सबै जीवप्रतिको करुणा आजको समाजका लागि झन् आवश्यक मूल्य हुन्। आधुनिकताको नाममा आफ्ना सांस्कृतिक पहिचान र परम्परागत सद्भावलाई बिर्सनु हुँदैन तर परम्पराको नाममा विकृति, फजुल खर्च र असमानतालाई पनि निरन्तरता दिनुहुँदैन। पर्वलाई आत्मीयता, संयम र सामाजिक एकताको अवसर बनाउनुपर्छ।

औंसीको रातमा बालिएको दियोको उज्यालो घरको चौघेरामा सीमित हुनुहुँदैन, मन, समाज र राज्यको व्यवहारसम्म फैलिनुपर्छ। निराश मनमा आशा जागोस्, टुटेका सम्बन्ध जोडिऊन्, विभेद र वैमनस्य घटून्। शासनमा पारदर्शिता र जवाफदेहिता बढोस्। नागरिकले खोजेको सुन्दर भविष्य निर्माणमा राज्यका निकायहरू लागून्। उज्यालोको पर्व तिहारले हामीलाई यही प्रेरणा देओस्। आफू उज्यालो बनौं र अरूको जीवनमा पनि उज्यालो फैलाऔं। मनमा प्रेम, व्यवहारमा सद्भाव र सार्वजनिक जीवनमा इमानदारी कायम गरौं। अँध्यारोबाट उज्यालोतर्फको यात्रा घरको दियोबाट सुरु भएर समाज र राष्ट्रको चेतनासम्म पुगोस्’ तिहारको हार्दिक शुभकामना !

प्रकाशित: २० कार्तिक २०८३ ०६:०४ शुक्रबार

Download Nagarik App