आज अन्तर्राष्ट्रिय युवा दिवस। यस अवसरमा सम्पूर्ण युवामा हार्दिक शुभकामना ! वास्तवमा युवा केवल उमेर होइन, चेतना हो; केवल शरीरको ऊर्जा होइन, समाजलाई नयाँ दिशातर्फ लैजाने साहस हो। युवाशक्ति कुनै राष्ट्रको वर्तमान मात्र होइन, भविष्य निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण आधार हो। युवा दिवसले एउटा गम्भीर प्रश्न गर्न बाध्य पार्नुपर्छ– देशले युवालाई र युवाले देशलाई हेर्ने दृष्टिकोण कस्तो छ?
नेपालको वर्तमान अवस्था हेर्दा युवाको प्रश्न झन् गम्भीर बनेको छ। एकातिर ठुलो संख्यामा ऊर्जाशील युवा रोजगारी, शिक्षा र अवसरको खोजीमा दिनहुँ बिदेसिइरहेका छन्। विमानस्थलमा देखिने युवाको लामो पंक्ति आज नेपालको आर्थिक र सामाजिक अवस्थाको एउटा जीवन्त चित्र बनेको छ। गाउँमा खेत बाँझिँदै छन्, बजारमा श्रमशक्ति घट्दै छ र परिवारका सदस्यहरू संसारका विभिन्न कुनामा छरिँदै छन्। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले अर्थतन्त्र धान्न महत्त्वपूर्ण योगदान गरिरहेको भए पनि आफ्ना युवालाई देशभित्रै अवसर दिन नसक्नु कुनै पनि राष्ट्रका लागि गौरवको विषय हुन सक्दैन।
नेपालको युवा पुस्ताको अर्को तस्बिर पनि छ। युवासँग सधैं दीर्घ योजना नहुन सक्छ। उनीहरूमा राजनीतिक परिपक्वता पूर्ण रूपमा विकसित भइसकेको नहुन सक्छ। आजका युवामा धैर्यको कमी पनि देखिन सक्छ। तत्काल परिणाम चाहने प्रवृत्ति, सामाजिक सञ्जालबाट प्रभावित हुने मनोविज्ञान र क्षणिक उत्तेजनामा निर्णय गर्ने प्रवृत्ति पनि उनीहरूमा हुन सक्छ। तर तिनै युवा सधैं परिवर्तका वाहक बनेको इतिहास छ।
यही पुस्ताले देशका राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो जेनजी आन्दोलन यसको ज्वलन्त उदाहरण हो। त्यो आन्दोलनले केवल सरकार परिवर्तन गरेन, राज्य सञ्चालन, राजनीतिक संस्कार, जवाफदेहिता र शासनप्रतिको नागरिक अपेक्षामै नयाँ बहस सिर्जना गर्यो। त्यसैले युवा केवल भौतिक परिवर्तन गर्ने शक्ति होइनन्, उनीहरू समाज र राज्यको सोच नै परिवर्तन गर्न सक्ने शक्ति हुन्।
२००७ सालको परिवर्तनको प्रक्रियामा युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विश्वेश्वरप्रसाद कोइरालालगायतका युवाले राणा शासनविरुद्धको राजनीतिक संघर्षलाई निर्णायक मोडमा पु¥याए। २०४६ सालको जनआन्दोलनमा पनि युवाको सहभागिता उल्लेखनीय थियो। २०६२/६३ को जनआन्दोलनमा त युवा पुस्ताको व्यापक सहभागिताले नै आन्दोलनलाई निर्णायक शक्ति प्रदान गर्यो। पछिल्ला परिवर्तनका आन्दोलनमा पनि अग्रपंक्तिमा युवा नै देखिएका छन्। परिवर्तनका क्रममा जीवन बलिदान गर्ने सहिदहरूको ठुलो हिस्सा पनि युवा नै छ। त्यसैले परिवर्तनको इतिहास लेख्दा युवालाई अलग गरेर लेख्न सकिँदैन।
युवाशक्तिको ठुलो हिस्सा सम्भावनाले भरिएको भए पनि केही युवा कुलत, लागुपदार्थ, हिंसा, अपराध, निराशा, सामाजिक विकृति र उद्देश्यहीन जीवनतर्फ धकेलिँदै छन्। यो समस्यालाई केवल युवाको व्यक्तिगत कमजोरीका रूपमा हेरेर राज्य र समाज उम्कन मिल्दैन। युवालाई सही बाटो देखाउने वातावरण निर्माण गर्नु परिवार, समाज, विद्यालय, समुदाय र राज्य सबैको साझा दायित्व हो।
युवाको हातमा इन्टरनेटमार्फत सूचना तथा संसारसँग जोडिने अभूतपूर्व अवसर छ तर त्यही माध्यमबाट गलत सूचना, घृणा, हिंसा, लत र मानसिक अस्थिरता पनि उनीहरूको जीवनमा प्रवेश गरिरहेको छ। त्यसैले आज युवालाई केवल रोजगारी, प्रमाणपत्र, सहभागिता तथा अवसर चाहिएको छैन, उनीहरूलाई उद्देश्य, सिप, निर्णय क्षमता तथा स्वदेशमै भविष्य देख्ने दृष्टि पनि चाहिएको छ।
नेपालमा अझै पनि अनेक प्रकारका अन्धविश्वास, भेदभाव, छुवाछुत, लैंगिक असमानता, रूढिवाद, विकृति–विसंगति कायम छन्। समाजमा पुस्तौंदेखि जरा गाडेर बसेका यस्ता प्रवृत्तिलाई जरैदेखि उखेल्न सक्ने शक्ति युवामा छ। पुरानो सोचलाई चुनौती दिने साहस, विज्ञान र तर्कलाई स्वीकार गर्ने क्षमता तथा समानताको नयाँ चेतना युवामा विकास गर्न सकियो भने सामाजिक रूपान्तरण तीव्र गतिमा अघि बढ्न सक्छ।
त्यसैले राज्यले युवालाई केवल निर्वाचनको समयमा सम्झिने मतदाता, आन्दोलनको समयमा सडकमा चाहिने भिड वा रोजगारीका लागि विदेश पठाउने श्रमशक्तिका रूपमा हेर्नुहुँदैन। युवालाई राज्य निर्माणको साझेदारका रूपमा हेर्नुपर्छ। शिक्षा नीति बनाउँदा युवाको भविष्य केन्द्रमा हुनुपर्छ। रोजगारी नीति बनाउँदा युवाको सिप र उद्यमशीलता प्राथमिकतामा हुनुपर्छ। उद्योग नीति बनाउँदा युवालाई उत्पादनसँग जोड्ने लक्ष्य हुनुपर्छ। विज्ञान तथा प्रविधिको विकासमा युवाको सिर्जनशीलता प्रयोग गर्नुपर्छ। राजनीति र सार्वजनिक नीतिनिर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्छ।
युवालाई प्राथमिकता दिनु भनेको युवाले उठाएका हरेक माग वा अभियानलाई सही ठान्नु पनि होइन। युवाका आवाज सुन्नुपर्छ तर गलत दिशामा गएका अभियानलाई सच्याउनुपर्छ। युवाको ऊर्जा महत्त्वपूर्ण छ तर ऊर्जा सही दिशामा प्रवाहित भए मात्र त्यसले निर्माण गर्छ। सही दिशा, अवसर र नेतृत्व पाएमा युवाशक्तिले राष्ट्र निर्माण गर्छ, उद्देश्यहीनता, निराशा र गलत प्रवृत्तिको सिकार भयो भने त्यही शक्ति समाजका लागि चुनौती बन्न सक्छ।
त्यसैले अब राज्यले युवालाई नियन्त्रण गर्नेभन्दा विश्वास गर्ने नीति लिनुपर्छ। उपदेश दिनेभन्दा अवसर दिने नीति लिनुपर्छ। युवाको आलोचना गर्नेभन्दा उनीहरूको ऊर्जा उत्पादन र सिर्जनामा लगाउने नीति बनाउनुपर्छ।
युवालाई सडकमा आउन नपर्ने गरी राज्यका संस्थाहरूलाई जवाफदेही, पारदर्शी र जनमुखी बनाउनु पनि राज्यकै दायित्व हो। नेपालको वर्तमान र भविष्य युवाकै हातमा छ। उनीहरूलाई गुणस्तरीय शिक्षा, सिप, रोजगारी, उद्यम, प्रविधि, न्यायपूर्ण अवसर र सुरक्षित सामाजिक वातावरण दिन सक्नुपर्छ।
अन्ततः युवा दिवसको वास्तविक अर्थ युवालाई शुभकामना दिनुमा होइन, युवामाथि विश्वास गर्ने राष्ट्रिय संकल्प गर्नुमा छ। आज विदेश जाने विमानमा चढिरहेको युवा भोलि नेपालमै उद्योग खोल्ने उद्यमी बन्न सक्छ। आज सामाजिक विकृतिविरुद्ध प्रश्न गरिरहेको युवा भोलि राज्यको नीति निर्माता बन्न सक्छ। आज अन्यायविरुद्ध आवाज उठाइरहेको युवा भोलि न्यायपूर्ण समाज निर्माणको नेतृत्व गर्न सक्छ।
त्यसैले युवालाई समस्या होइन, सम्भावना देखौं। उनीहरूलाई भिड होइन, शक्ति मानौं। उनीहरूको आवाजलाई असन्तोष मात्र होइन, परिवर्तनको संकेतका रूपमा बुझौं। उनीहरूको गलत बाटो सच्याऔं तर उनीहरूको सही ऊर्जा रोक्ने काम नगरौं।
प्रकाशित: २७ श्रावण २०८३ ०५:५६ बुधबार

