नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण फेरि जनस्वास्थ्य चुनौतीका रूपमा देखापरेको छ। चालु वर्ष मात्र यस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। यो तथ्यांकले हाम्रो जनस्वास्थ्य प्रणालीलाई समयमै सचेत र सक्रिय हुन दिएको गम्भीर चेतावनी हो।
कैलालीकी ५० वर्षीया महिलाको बुधबार मात्र मृत्यु भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार देशभर ११ सय ५३ जनामा शंकास्पद लक्षण देखिएकामध्ये एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २५ जनाको मृत्यु भइसकेको तथ्यले रोगको गम्भीरता प्रस्ट पार्छ।
झापामा मात्र ६ जनाको मृत्यु भएको छ भने कैलालीमा तीन तथा सुनसरी, सप्तरी, पर्सा र अर्घाखाँचीमा दुई/दुई जनाको ज्यान गएको छ। मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, नवलपरासी पश्चिम र कञ्चनपुरमा एकएक जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिसका धेरै बिरामीको अस्पताल नपुग्दै मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरूको अनुभवले मृत्यु संख्या अझ बढी हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर भाइरसजन्य सरुवा रोग हो। संक्रमण भएको पाँचदेखि १५ दिनभित्र यसको लक्षण देखिन सक्छ। यसले मानिसको मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असर पार्ने भएकाले यसको परिणाम सामान्य ज्वरो वा मौसमी रोगभन्दा निकै भयावह हुन सक्छ। टाउको दुख्ने, वान्ता हुने वा वाकवाकी लाग्ने, शरीर लट्ठ हुने, काँप्ने वा बेहोस हुने तथा शरीरमा कडापन देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुग्न आवश्यक छ। बालबालिकामा सुस्त मनस्थिति र पक्षघातसम्म हुन सक्ने भएकाले यसको जोखिमलाई झन् गम्भीरतापूर्वक लिनुपर्छ। सबैभन्दा चिन्ताजनक पक्ष के देखिएको छ भने मृत्यु हुनेमध्ये अधिकांशले खोप लगाएका थिएनन्। अर्थात्, खोपबाट धेरै हदसम्म जोगिन सकिने रोगबाट मानिसहरूले ज्यान गुमाइरहेका छन्।
गत वर्ष खोप अभियान सञ्चालन गरिएको नवलपुरमा यस वर्ष संक्रमण र मृत्यु दुवै घट्नु खोपको प्रभावकारिताको प्रमाण हो। त्यसैले यसअघि १५ वर्षमुनिका बालबालिकामा सीमित गरिएको खोप अभियानलाई यस वर्ष सबै उमेर समूहमा विस्तार गर्ने सरकारी योजना सही दिशातर्फको कदम हो। विशेषगरी खोप नलगाएका ३० वर्षमाथिका व्यक्तिहरू पनि संक्रमणबाट प्रभावित भएको तथ्यले खोपको दायरा फराकिलो बनाउन ढिलाइ गर्नुहुँदैन भन्ने सन्देश दिएको छ।
नेपालमा देखिएका करिब ८५ प्रतिशत संक्रमण तराईका जिल्लामा पाइनु पनि विशेष ध्यान दिनुपर्ने विषय हो। धेरैजसो संक्रमित किसान, बंगुरको खोर तथा हाँसपालन नजिक बसोबास गर्ने किसान र व्यवसायीमा भेटिएका छन्।
धानखेत, पानी जम्ने क्षेत्र, बंगुरको खोर र हाँसपालन आसपास क्युलेक्स जातका लामखुट्टेको जोखिम बढी हुने भएकाले स्थानीय तहदेखि संघीय सरकारसम्मले यस्ता जोखिम क्षेत्र पहिचान गरी विशेष अभियान सञ्चालन गर्नुपर्छ। घरमा जाली लगाउने, राति झुलको प्रयोग गर्ने तथा हाँस र सुँगुरजस्ता जनावरको पालन घरबाट टाढा राख्नेलगायत सामान्य उपायले पनि संक्रमणको जोखिम घटाउन सकिन्छ। साउनदेखि कात्तिकसम्मका चार महिना जापानिज इन्सेफ्लाइटिसको जोखिम बढी रहने भएकाले अहिलेको समय थप संवेदनशील छ।
नेपालका धेरै भूभाग बाढी र डुबानको प्रभावबाट मुक्त भइसकेका छैनन्। बाढीप्रभावित क्षेत्रमा पानी जम्ने, सरसफाइ र फोहोर व्यवस्थापन बिग्रने तथा लामखुट्टेको प्रजनन बढ्ने जोखिम हुन्छ। विपद्पछि राहत र पुनस्र्थापनामा मात्र केन्द्रित हुँदा यस्ता सम्भावित स्वास्थ्य संकट ओझेलमा पर्न सक्छन्। त्यसैले बाढीप्रभावित क्षेत्रलाई जापानिज इन्सेफ्लाइटिससहित लामखुट्टेजन्य रोगको विशेष निगरानी क्षेत्रमा राख्नुपर्छ।
सरकारले संक्रमण फैलिसकेपछि उपचारको तयारी गर्नेभन्दा संक्रमण फैलिनै नदिने रणनीतिलाई प्राथमिकता दिनुपर्छ। जोखिमयुक्त जिल्लामा व्यापक खोप अभियान, लामखुट्टे नियन्त्रण, जनचेतना, समयमै परीक्षण र उपचारको पहुँच विस्तार गर्न आवश्यक छ।
स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सक्रिय बनाउँदै गाउँगाउँसम्म लक्षण, जोखिम र खोपसम्बन्धी सूचना पुर्याउनुपर्छ। एकातिर २५ जनाको मृत्यु भइसकेको छ भने अर्कातिर जोखिमको समय अझै समाप्त भएको छैन। यस अवस्थामा सरकारको ढिलासुस्ती र नागरिकको असावधानी दुवै घातक हुन सक्छन्।
खोपको पहुँच, समयमै उपचार र व्यक्तिगत सावधानीको संयोजनबाट धेरै जीवन जोगाउन सकिन्छ। जापानिज इन्सेफ्लाइटिसलाई अर्को मौसमी रोग ठानेर बेवास्ता गर्ने समय छैन। प्रत्येक रोक्न सकिने मृत्यु राज्यका लागि प्रश्न हो र प्रत्येक जोगाउन सकिने जीवन हाम्रो साझा जिम्मेवारी हो।
प्रकाशित: ३१ भाद्र २०८३ ०६:०० बुधबार

