कात्तिक लागेसँगै चिसो बढ्न थालेको छ। दिउँसो घाम लागे पनि बिहान र साँझको तापक्रम घट्दै गएको छ। आगामी दिनमा जाडो थप बढ्ने भएकाले जनस्वास्थ्यका दृष्टिले आवश्यक सतर्कता अपनाउनुपर्ने बेला आएको छ। चिसोसँगै बाथ र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्छ। त्यसबाट बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र विपन्न परिवारको स्वास्थ्य सुरक्षामा सरकारको अग्रिम तयारी अनिवार्य छ। चिसोबाट जोगिन नागरिकलाई सतर्क रहन आग्रह गरेर मात्र राज्यको दायित्व पूरा हुँदैन। जोखिममा रहेकालाई न्यानो कपडा, सुरक्षित आश्रय र सहज उपचार सुनिश्चित गर्नुपर्छ। अझ पटक पटक आएका विपद्बाट विस्थापितहरूका विषयमा सरकारले अझ धेरै ध्यान पुर्याउनुपर्छ। उनीहरूका लागि सुरक्षित गास र बासको व्यवस्था मिलाउनु अनिवार्य छ।
चिसो बढेसँगै बाथरोगका बिरामीको चाप बढ्न थालेको छ। नेसनल बाथरोग सेन्टरमा गर्मीयाममा दैनिक औसत एक सय ५० जना बाथरोगी उपचारका लागि पुग्ने गरेकामा चिसोसँगै यो संख्या ह्वात्तै बढेको छ। पुसमाघमा दैनिक उपचारमा आउनेको संख्या तीन सयसम्म पुग्ने गरेको छ। चिसोले जोर्नी दुखाइ मात्र बढाउँदैन, श्वासप्रश्वासको जोखिमसमेत बढाउँछ। बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र विपन्न परिवार बढी प्रभावित हुने यस्तो मौसममा स्वास्थ्य सुरक्षालाई सामान्य मौसमी विषय ठानेर बेवास्ता गर्न मिल्दैन। जाडोबाट हुने स्वास्थ्य जोखिम कम गर्न सरकारी पूर्वतयारी आवश्यक छ। चिसो बढेपछि मात्र राहत र उपचारको व्यवस्था गर्ने पुरानो प्रवृत्तिले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षा दिन सक्दैन। मौसमी रोगको सम्भावित चाप आकलन गरी अस्पतालमा औषधि, उपकरण र जनशक्तिको व्यवस्था गर्नु तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउनु राज्यको जिम्मेवारी हो।
बाथरोगलाई सामान्य जोर्नी दुखाइ ठानेर बेवास्ता गर्नु पनि जोखिमपूर्ण छ। प्रतिरक्षा प्रणालीमा गडबडी हुँदा शरीरका स्वस्थ कोषमाथि आक्रमण हुन सक्ने यसले जोर्नीमा दुखाइ र कडापन उत्पन्न गराउनुका साथै केही प्रकारमा मिर्गौला, आँखा र अन्य अंगमा समेत असर गर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। चिसोमा शारीरिक गतिविधि घट्दा दुखाइ बढ्न सक्छ। त्यसैले बाथरोगीले नियमित उपचारलाई निरन्तरता दिनु, चिकित्सकको सल्लाहअनुसार व्यायाम गर्नु र आवश्यक सावधानी अपनाउनु जरुरी छ। दुखाइ सहेर बस्ने वा आफूखुसी औषधि सेवन गर्ने बानीले समस्यालाई झन् जटिल बनाउन सक्छ।
जाडोमा रुघाखोकी, मौसमी फ्लु, निमोनिया र दमजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या बढ्छन्। मौसमअनुसार न्यानो लुगा लगाउने, शरीर ढाक्ने, पोषणयुक्त खाना खाने, पर्याप्त पानी पिउने र घरभित्रको धुवाँबाट जोगिने उपाय अपनाउनुपर्छ। सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा दीर्घरोगका लक्षण असामान्य रूपमा बढ्ने अवस्था देखिए तत्काल उपचार लिनुपर्छ। त्यसका लागि सरकारले स्वास्थ्यसम्बन्धी सचेतनालाई बढाउनुपर्छ।
यद्यपि चिसोबाट जोगिने उपाय सबै नागरिकका लागि समान छैनन्। पर्याप्त न्यानो कपडा, सुरक्षित आवास र पोषणयुक्त खाना जुटाउन नसक्ने परिवारका लागि जाडो आफैंमा ठुलो चुनौती हो। सडकमा आश्रित व्यक्ति, विपन्न परिवार, एक्लै बस्ने ज्येष्ठ नागरिक र दुर्गम क्षेत्रका नागरिक बढी जोखिममा हुन्छन्। उनीहरूलाई व्यक्तिगत सावधानी अपनाउन मात्र उपदेश दिएर राज्यको दायित्व पूरा हुँदैन। स्थानीय तहले जोखिममा रहेका नागरिकको पहिचान गरी न्यानो कपडा, सुरक्षित आश्रय र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ। संघ र प्रदेश सरकारले पनि स्रोत, समन्वय र उपचार सेवाको सुनिश्चितता गर्नुपर्छ।
अस्पतालमा औषधि र जनशक्ति अभाव हुन नदिनु, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउनु तथा विपन्न नागरिकलाई उपचारबाट वञ्चित हुन नदिनु सरकारी प्राथमिकता बन्नुपर्छ। मौसमको पूर्वानुमान र जोखिमको आकलनका आधारमा अग्रिम तयारी गर्नुपर्छ। स्थानीय तह र स्वास्थ्य संस्थाले गरेका तयारीको अनुगमन गरी आवश्यक सहयोग पुगे नपुगेको सुनिश्चित गर्ने जिम्मेवारी पनि सरकारकै हो। मौसम प्राकृतिक कुरा हो। हामीले यसलाई रोक्न सक्दैनौं तर त्यसबाट जोगिने उपाय बेलैमा खोजेर जोखिमलाई छेक्न भने सक्छौं। त्यसैले चिसोका कारण नागरिकले भोग्नुपर्ने कष्ट र स्वास्थ्य जोखिम अपरिहार्य नियति बन्नुहुँदैन। सरकारले मौसमी जोखिमलाई गम्भीरतापूर्वक लिएर समयमै तयारी गर्नुपर्छ, ताकि चिसोका कारण कुनै नागरिक उपचार, न्यानो कपडा वा सुरक्षित आश्रयबाट वञ्चित हुन नपरोस्।
प्रकाशित: १० कार्तिक २०८३ ०६:२० मंगलबार

