३१ वैशाख २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

बढ्दो कोरोना संक्रमणमा सावधानी

कोभिड–१९ को कहर फेरि चम्किने लक्षण देखिँदैछ। विशेषज्ञहरूका अनुसार यो चौथो लहर हो। केही दिनयता संक्रमणको बढ्दो आँकडाले बेलैमा विचार गर्न संकेत गरिसकेको छ। यसअघिका तीन चरणमा भएका कमजोरीलाई मनन गरी नयाँ चरणमा जोगिन पहल गर्ने बेला भएको छ। कोभिड–१९ का कारण हाम्रो दैनिक जीवनमा गम्भीर नकारात्मक असर परेका छन्। आर्थिक क्षेत्र धराशायी भएको छ। सामाजिक जीवन पनि यसले खतरामा पारेको छ। कोभिड संक्रमण आउनुअघिको जस्तो अवस्था अब छैन। जति यसको संकट बढ्छ, त्यसले बहुआयामिकरूपमा जीवनका विविध क्षेत्रमा प्रभाव पार्ने स्थिति छ।  

पछिल्लो आँकडाअनुसार मंगलबारसम्ममा सक्रिय कोरोना संक्रमित संख्या १ हजार ९ सय ८२ पुगेको छ। यो क्रम दैनिक बढिरहेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १ हजार ३ सय ५७ नमुना परीक्षण गर्दा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमणको प्रतिशत प्रत्येक दिन बढेको छ। दैनिक पाँच प्रतिशतभन्दा बढी संक्रमण हुन्छ भने त्यसलाई सामान्य अवस्था मान्न सकिँदैन। केही दिनअघिसम्म दुई अंकमुनि संक्रमण रहेकामा यो दैनिक उच्च गतिमा बढिरहेको छ। यही गतिमा संक्रमण बढ्दै जाने हो भने आगामी दिन असहज हुनेछन्।  

दुई दिनमा एक–एकजनाको मृत्युसमेत भएको छ। यसरी मृत्यु भएका व्यक्तिले कोभिड–१९ को खोप नलगाएकोसमेत खुलेको छ। यसले आममानिसमा खोप पुर्‍याउनुपर्ने जरुरतसमेत देखाएको छ। अहिले पनि मुलुकमा करिब ३० लाखले एक मात्रा पनि खोप लगाएका छैनन्। खोपसम्बन्धी जानकारी लिने र संक्रमणविरुद्ध यो आवश्यक छ भन्ने महसुस नगरुञ्जेल यसबाट हुने मृत्युबाट जोगाउन सकिँदैन। देशमा खोप अभाव भएको होइन। खोप खेर जाने अवस्था रहेकोसमेत देखिएको छ। यस्तो स्थितिमा अधिकांश नागरिकलाई खोप लगाउन सरकारको ध्यान जानु आवश्यक छ। मुलुकमा तीन तहको सरकार छ। त्यसमा पनि स्थानीय तहको सरकार भर्खरै आएको छ र काम पनि थालिसकेको छ। घर–घरको जानकारी लिएर स्थानीय सरकारले खोप नलगाउने जनसंख्यालाई यसका निम्ति प्रेरित गर्नु आवश्यक देखिएको छ।  

अझै पनि प्रत्येक घरमा कोही न कोही मानिस खोप लगाउनबाट छुटेका छन्। तर यो जनसंख्या व्यवस्थापन गर्न सकिने किसिमको छ। त्यति मात्र होइन, खोप लगाउन नचाहने जनसंख्या कुनै न कुनै रूपमा मिथ्या सूचनाबाट समेत प्रभावित छ। मिथ्यां सूचनाको जालो चिर्न देशमा रहेका सञ्चार माध्यमलाई प्रयोग गर्न सकिन्छ। कोभिड–१९ का कारण देशमा ठूलो जनधनको क्षति भएको छ। तर सञ्चारमाध्यमलाई प्रयोग गरेर यसविरुद्ध लड्न राज्यले प्रयास गरेको देखिएको छैन। वास्तवमा प्रचारप्रसारमा ध्यान दिने हो भने त्यसबाट हुने क्षतिभन्दा कम लगानीमै लाभ लिन सकिन्छ। सञ्चार माध्यमलाई साथ लिएर यस्ता संकटमा अघि बढ्ने सोच भने कुनै तहका सरकारमा पनि देखिएको छैन।  

स्थिति सामान्य भएका कारण धेरै व्यक्तिले मास्क लगाउने र स्यानिटाइजर लगाउने काममा पनि केही सुस्तीपना देखिएको छ। संक्रमण बढ्न थालेपछि फेरि आनीबानीमा परिवर्तन गर्नु आवश्यक देखिएको छ। संकमण केही बढ्नासाथ सञ्चार माध्यमले संवेदनशील भएर फेरि यसबारे समाचार र टिप्पणी प्रकाशित गर्न थालिसकेका छन्। यसलाई थप बिग्रन नदिन अहिल्यैदेखि भूमिका खेल्नुपर्ने जिम्मेवारी सरोकारवाला पक्षको हो। भोलि यसबाट उम्कन धेरै मेहनत पर्ने स्थिति आउन दिनु हुँदैन। खासगरी भारतसँगको सीमा क्षेत्र र राजधानी उपत्यकामा संक्रमण बढेको देखिएको छ। यो भनेको घना बस्ती र आवतजावत बढी हुने ठाउँमा यसको संक्रमण बढेको हो।  

संक्रमण कम गर्ने उपाय भनेकै स्वास्थ्य मापदण्डको पालना हो। अहिलेको संक्रमण कोरोनाको ‘बि.ए–५’ प्रजातिबाट भइरहेको छ। तुलनात्मकरूपमा यसको असर कमजोर देखिए पनि खोप नलगाएका कारण मृत्यु संख्या बढाउन सक्ने भने देखिएको छ। कोरोना आफैँ मात्र होइन अन्य रोग लागेका व्यक्ति छन् भने तिनलाई यसले असर पार्दा बढ्ता समस्या पर्न सक्छ। स्वास्थ्य समस्यालाई बढ्ता बिग्रन नदिन बेलैमा ध्यान पुर्‍याउनुपर्छ। त्यसैले उपचार गर्नुभन्दा रोकथाममा ध्यान दिनु बढ्ता बुद्धिमानी हुन्छ। सरकारले सचेतता अभियान र खोप कार्यक्रम सञ्चालन गरेर जनसंख्यालाई जोगाउन सकिन्छ।  

सामाजिक सञ्जालमा क्रमशः आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सजग गराउँदै कोभिड संक्रमणमा परेका व्यक्तिहरूले जानकारी सार्वजनिक गर्न थालेका छन्। यो प्रक्रिया पछिल्ला दिनमा निकै बढेको छ। यसले पनि धेरैमा संक्रमणले प्रभाव पार्न थालेको देखिन्छ। कोभिड–१९ को परीक्षण र उपचार सहज भएको जानकारी आमनागरिकमा पुग्नु पनि उत्तिकै आवश्यक छ। अहिले पनि विदेश भ्रमणमा जाने र अन्य प्रयोजनका निम्ति कोभिड परीक्षण गराउनेबाहेक अन्यले यसतर्फ ध्यान दिएको देखिँदैन। लक्षण देखिएका व्यक्तिले सहजै परीक्षण गर्ने व्यवस्था हुनुपर्छ। सरकारी स्वास्थ्य संस्थामा कोरोना परीक्षण निःशुल्ःक भए पनि धेरैले त्यसलाई सहज महसुस गर्दैनन्। त्यसैले निजी क्षेत्रमा गरिने स्वास्थ्य परीक्षणलाई पनि सहज र सुलभ गराउन सके धेरै फरक पर्ने थियो। बढ्दो संक्रमणमा सावधानी अपनाउन सबैको ध्यान पुगोस्।  

प्रकाशित: ५ श्रावण २०७९ ००:०९ बिहीबार

Download Nagarik App
Download Nagarik App