६ आश्विन २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

संकटको कोरोना समय

यतिबेला हामी कोभिड–१९ महामारीको तेस्रो लहरको उत्कर्षमा आइपुगेका छौँ। अघिल्लो सातासम्म यो महामारीलाई जितिसकेको अनुभूति आमरूपमा भइरहेको हो। तर विशेषज्ञहरूले माघ लागेपछि यसको व्यापक विस्तार हुन सक्ने संकेत गरिसकेका भए पनि ध्यान दिइएन। यसबीच संक्रमण रोक्न सक्ने गरी गतिविधि गर्न नसकेको अनुभव भएको छ। 

चीनको वुहानमा सन् २०१९ को अन्तिमतिर देखिएको कोरोना भाइरसले यो रूप लेला भन्ने अनुमान कमैले गरेका थिए। त्यसयताका दुई वर्ष बितिसक्दा पनि यसबाट तत्काल पार पाइने अवस्था देखिइसकेको छैन। कोरोना भाइरसको निरन्तर उत्परिवर्तनका कारण परिस्थिति बदलिइरहेको छ। यसबीच सारा विश्वको ध्यान यसबाट कसरी पार पाउन सकिन्छ भन्नेमा गइरहेको छ। मुलुकहरूले आफ्नो सम्पूर्ण ऊर्जा कोरोना भाइरस सिर्जित समस्याबाट आमनागरिकलाई निकाल्नमै खर्च गरिरहेका छन्।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले समस्या सिर्जना गराइरहेको कोरोना–१९ महामारीबाट पार पाउन यसको पछिल्लो उत्परिवर्तन ‘ओमिक्रोन’ लाई हलुका नठान्न आग्रह गरिसकेको छ। यो अघिल्ला उत्परिवर्तन भन्दा बढी संक्रामक भए पनि गम्भीर बिरामी नपार्ने ठानेर आमनागरिकमा लापरबाही गर्ने प्रवृत्ति देखिएको छ। सुरुमा बढी आक्रामक ओमिक्रोन उत्परिवर्तन देखिएको चर्चा हुँदा विश्वका धेरै मुलुक यसबाट टाढै थिए। आज यो सबै ठाउँमा पुगिसकेको छ। सामान्य स्वास्थ्य स्थिति भएका र खोपको मात्रा पूरा गरेका व्यक्तिलाई यसले धेरै प्रभाव नपारेको भए पनि जटिल स्वास्थ्य अवस्था भएका र खोप नलगाएकालाई यसले समस्यामा पार्न सक्छ। धेरै व्यक्ति एकाएक बिरामी हुँदा मुलुकको स्वास्थ्य संरचनाले नधान्ने स्थिति आउन सक्छ। त्यसैकारण पनि यो स्थितिलाई गम्भीरपूर्वक लिन आग्रह गरिएको हो।  

अहिले स्थिति कतिसम्म गम्भीर भइसकेको छ भने हाम्रो मुलुकमा मात्र दैनिक २० हजार नागरिकलाई कोभिड–१९ ले आक्रमण गर्ने अनुमान भइसकेको छ। त्यसैले यो विस्तारलाई रोक्न स्वास्थ्य मापदण्डको पालना प्रत्येक नागरिक र सरकारको पहिलो कर्तव्य हुन आउँछ। हाम्रो मुलुकमा बुधबारसम्मको कोरोना संक्रमण दर ४८.४९ प्रतिशत छ। अघिल्लो दिनको तुलनामा संक्रमण दर ४ प्रतिशतले वृद्धि भएको छ। यही हिसाबले हेर्दा संक्रमण अरू बढ्ने देखिन्छ। अहिलेकै गतिमा संक्रमण बढ्दै जाने हो भने दिनानुदिन २० हजार पुग्न सक्ने अनुमानले हामीलाई पक्कै पनि गम्भीर बनाएको हुनुपर्छ। संक्रमण दर अर्को साताभित्र उच्च स्थितिमा पुगेपछि बिस्तारै ओरालो लाग्न सक्ने अनुमान स्वास्थ्य क्षेत्रका विज्ञहरूको छ।  

कोरोनाका अन्य उत्परिवर्तन भन्दा ओमिक्रोन कम घातक जस्तो देखिएको छ। तैपनि यसलाई सामान्य ठानेर व्यवहार गर्दा यसविरुद्ध क्रियाशील हुने राज्य र व्यक्तिको प्रयासलाई कमजोर बनाउन सक्छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अथानम घेब्रेससले यो स्थितिलाई ध्यानमा राख्दै भनेका छन्– ‘धेरै देशका लागि आगामी साता अत्यन्त चुनौतीपूर्ण देखिएका छन्।’ 

विश्व स्वास्थ्य संगठनले दिएको यो चेतावनीलाई बेलैमा महसुस गरिएन भने स्थिति अरू गम्भीर हुन सक्ने देखिन्छ। सामान्यतः सबै मानिसको प्रवृत्ति केही हुन्न भनी सोच्ने किसिमको हुन्छ। जतिबेला यो समस्या आफूलाई आउँछ, त्यतिबेला ढिला भइसकेको हुन्छ। त्यसैले अहिलेकै स्थितिमा थप जिम्मेवारीबोध गर्नु आवश्यक छ। कोरोना भाइरसले एकपछि अर्को उत्परिवर्तन गर्दै आफूलाई टिकाइरहेको छ। त्यसैले यसको समाप्तिका निम्ति स्वास्थ्य मापदण्डको पालना पहिलो सर्त हुन आउँछ।  

सुरुमा कोभिड–१९ का एकजना बिरामी देखिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार बन्ने स्थिति रहेको हो। तर यो दुई वर्षमा हामी सबैका निम्ति अत्यन्त कठिन समय आइसकेको छ। एकजना बिरामी देख्दा आत्तिने समाज आज घर–घरमै बिरामी हुँदा पनि सावधानी नअपनाउने अवस्थामा छ। कोभिड–१९ बाट बुधबारसम्ममा नेपालमा मात्र ११ हजार ६ सय २८ जनाको मृत्यु भइसकेको छ। बुधबारसम्ममा देशभर ४७ हजार ९ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। बिरामीमध्ये ४६ हजार ५ सय ११ जना होम आइसोलेसनमा रहेका छन्। 

विगतमा जस्तो अस्पतालमा पुगेका बिरामीको संख्या कम भएकोमात्र हो। तर यो स्थिति लम्बिँदै गयो भने स्वास्थ्य सुविधा प्राप्तिमा जटिलता आउन सक्छ। अहिल्यै बजारमा सिटामोल जस्ता अत्यावश्यक औषधिको अभाव देखिइसकेको छ। विगतमा अक्सिजन र भेन्टिलेटरको अभाव महसुस भएकै हो। त्यसैले रोग लाग्नु भन्दा लाग्न नदिन बढी बुद्धिमानी हुन्छ। सकेसम्म कम व्यक्तिलाई संक्रमण होस् भनेर केही दिन सावधानी अपनाउनु उचित हो।  

कोभिड–१९ पछि विश्वको अवस्था फेरिएको छ। गत सातामात्र विश्वमा १ करोड ८० लाख मनिसमा कोभिड–१९ को संक्रमण भएको छ। विश्वभरि ५५ लाख ८३ हजार भन्दा बढी मानिसको ज्यान यसले लिइसकेको छ। कोभिड–१९ विरुद्ध खोप नपाउने व्यक्तिको संख्या अझै कुल जनसंख्याको आधा छ। यसले समेत संसारका विपन्न मुलुकहरूलाई बढ्ता समस्यामा पारेको छ। खोपको उत्पादन सबै देशबाट हुन सकेको भए स्वाभाविकरूपमा प्राप्ति सहज हुन सक्थ्यो। खोप सजिलै नपाएका देशका नागरिक यसबाट बढ्ता आक्रान्त छन्। 

नेपालले खोपको व्यवस्था गरिरहेको छ। तर यसलाई जुन गतिका साथ आमनागरिकमा फैलाउनुपथ्र्यो त्यो हुन नसकेको देखिएको छ। अहिलेको गम्भीर परिस्थितिबाट बाहिर निस्कन आमनागरिक र सरकारको गम्भीर प्रतिकार्य आवश्यक छ। अहिलेको संकटबाट पार हुन सकियो भनेमात्र आगामी चुनौतीका निम्ति हामी तत्पर हुन सक्नेछौँ। एकपटक सबैको संयमित व्यवहार नै कोरोना महामारी नियन्त्रणको उपाय हो।

प्रकाशित: ७ माघ २०७८ ०३:३४ शुक्रबार

Download Nagarik App
Download Nagarik App