२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

महाधिवेशनपछिको मार्गचित्र

प्रमुख राजनीतिक दलहरूको महाधिवेशन औपचारिकतामात्र पूरा गरी सम्पन्न भएका छन्। अर्थात् महाधिवेशनपछि पनि यी दलमा उही नेतृत्व प्रभावी भएको छ। तिनको नीतिमा पनि कुनै नवीनता छैन। मुलुकको लोकतन्त्र प्रभावकारी हुन दलको आन्तरिक जीवनमा पनि स्वतन्त्रता हुनुपर्छ। दलहरू आन्तरिक लोकतन्त्रमा उम्दा हुन सक्ने स्थिति तत्कालका निम्ति टरेको छ। 

प्रमुख दलहरूको अहिलेको नेतृत्वका आधारमा भन्न सकिन्छ– अबका पाँच वर्ष यिनले कुनै तात्विक अन्तर पार्ने छैनन्। यस कारण पनि आगामी केही वर्ष प्रतीक्षा नगरी राजनीतिमा खासै परिवर्तनका संकेत देखिने छैनन्। अहिलेसम्म राजनीतिले आमनागरिकलाई निराशामात्र दिनुको प्रमुख कारण राजनीतिक नेतृत्वको अकर्मण्यता हो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को साता भन्दा लामो महाधिवेशनबाट यसका अध्यक्ष पुष्पकमल दाहाल पुनः नेतृत्वमा रहन सफल भएका छन्। ३२ वर्षदेखि नेतृत्व दिइरहेका दाहालले आगामी पाँच वर्षे कार्यकाल पूरा गर्दा यो समयावधि झण्डै चार दशकको हुनेछ। निःसन्देश दाहालले नेपाली राजनीतिमा सशस्त्र आन्दोलनको प्रयोग गरेका छन्। उनले दावी गर्दै आएको समाजवादको सपना भने उनकै नेतृत्वमा पूरा हुने देखिएको छैन। मुलुकको खुला राजनीतिमा उनी आएकोसमेत डेढ दशक भइसकेको छ। यसबीच उनका बारेमा नेपाली जनमानसले जे सुनेको थियो, आज त्यस्तो हुन सकेको छैन। दाहाललाई नेपाली राजनीतिको एउटा धु्रवका रूपमा सक्रिय हुने अवसर भएर पनि त्यसलाई पूरा गर्न सकेनन्।  

महाधिवेशनका दौरान दाहालले आफूहरू सच्चिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। राजनीतिक नेतृत्वमा सच्चिने इच्छा देखिन्छ। तर सच्चिएर कसरी अगाडि बढ्ने भन्ने बाटो देखिएको छैन। जनआन्दोलन २०६२÷०६३ यताको राजनीतिमा दाहाल एक प्रमुख नेता हुन्। आखिर उनले चाहेको बाटोमा राजनीति हिँड्न बाध्य भएको पनि हो। उनको राजनीतिक सफलताको राप र तापमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलले समेत माओवादी अजेन्डालाई स्वीकार गरेर राजनीति अगाडि बढाउन सहयोग गरेका हुन्। तर मुलुकको राजनीति फेरि पनि अस्थिर देखिन्छ। दलबीच मुलुकका प्रमुख अजेन्डामा सहकार्य गर्ने तत्परता देखिएको छैन। मुलुकले राजनीतिक प्रश्नको जवाफ खोजिसकेको हुनाले प्राप्त लोकतन्त्रलाई कसरी बढी भन्दा बढी नागरिकको हितमा लगाउने भन्नेमा अझै ध्यान पुग्न सकेको छैन।

अहिले आमनागरिकका तर्फबाट प्रमुख दलको नेतृत्वप्रति असन्तुष्टि जनाएको स्थिति छ। आफ्नो दलका कार्यकर्ताले नेताको लोकप्रियताको कोरस जति गाए पनि आमनागरिकले परिवर्तनका फल नपाएसम्म त्यो खोक्रो हुन जान्छ। त्यसैले आमनागरिकलाई कसरी खुसी पार्न सकिन्छ भन्नेमा ध्यान पुग्नु जरुरी छ। आफ्ना काम र गतिविधिप्रति नागरिकमा असन्तुष्टि रहेको जानकारी राजनीतिक नेतृत्वलाई पक्कै छ। माओवादीकै महाधिवेशनमा पनि आफ्ना प्रतिनिधिले उठाएका प्रश्नलाई दाहालले मनन गरेको हुनुपर्छ। उनलाई ठेकेदारको घरमा नबस्न आग्रह गर्नेसम्मका आवाज त्यहाँ उठेका हुन्। दाहालले फेरि गाउँ फर्किन्छु भने पनि त्यो एउटा क्षणिक भावनाको पक्षमात्र हो। वास्तवमा नेतृत्वले सुध्रन चाहने हो भने त्यो सम्भव छ। यसले नेतृत्वमात्र सुध्निदैंन दलहरू र नेताहरूलाई हेर्ने दृष्टिकोणसमेत फेरिनेछ।  

आन्तरिक लोकतन्त्रको अध्यासका हिसाबले यसपटक नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले बाजी मारेका छन्। कांग्रेसमा शेरबहादुर देउवा र उनकै टिमका अधिकांश व्यक्ति महाधिवेशनबाट निर्वाचित भए पनि युवाहरू प्रमुख पदमा पुगेका कारण केही भिन्न प्रतिक्रिया व्यक्त भएको छ। आन्तरिक लोकतन्त्रको अभ्यासका हिसाबले कांग्रेसले सबैलाई देखाउने अवसर पाएको छ। राप्रपामा पनि कमल थापा जस्ता नेतालाई हराएर राजेन्द्र लिङ्देन आउनुलाई त्यस्तै सकारात्मक घटनाका रूपमा लिइएको छ। तैपनि यो दलमा अधिकांश पुराना व्यक्तिकै बोलवाला छ।  

पुराना व्यक्तिहरू फेरिफेरि आउनुहुँदैन भन्ने छैन। तर अहिलेको अकर्मण्यताको जवाफ नेतृत्व परिवर्तन हुन सक्छ कि भन्ने अपेक्षा हुनु स्वाभाविक हो। यसरी परिवर्तित भएर आउने व्यक्तिले सरकारको नेतृत्व गर्न पाए भने अहिलेसम्मको कामको ढर्रामा केही हेरफेर हुन्थ्यो कि भन्ने आशा आमरूपमा देखिन्छ। पुराना नेता हुँदैमा काम हुन नसक्ने भन्ने होइन। 

तर हामीकहाँ राजनीतिक परिवर्तनका निम्ति प्रभावकारी भएका नेताहरू सरकार सञ्चालन र मुलुकको बृहत्तर हितमा सक्रिय हुनबाट चुकेका छन्। यो स्थितिमा सुधारका निम्ति पनि दलहरूले आफ्नो नीति र नेतृत्वमा हेरफेर ल्याउनुपर्छ भन्ने अपेक्षा हो। दलका महाधिवेशनहरू यो अपेक्षा पूरा गर्नबाट असफल भएका छन्। यसो हुनुको अर्थ हो– मुलुकको राजनीतिमा तात्विक अन्तर आउने छैन। अहिलेकै नेतृत्वले जसरी मुलुक हाँकेको छ, त्यसरी नै अगाडि बढ्ने देखिन्छ।  

दलहरूको यो अकर्मण्यताको प्रभाव केही उग्र राजनीति गर्न चाहने तत्वहरूका निम्ति फलदायी हुन सक्ने खतरा छ। हिजो जुन पृष्ठभूमिमा माओवादीले मुलुकमा सशस्त्र गतिविधि गरेको थियो, अहिले फेरि त्यस्तै वातावरण बनाउन खोजिएको छ। हिजो कांगे्रस र एमालेका कामले निराश व्यक्तिहरूलाई माओवादी नाराले आकर्षण दिएको थियो। यी दुई दलप्रतिको आक्रोशका कारण माओवादी आएपछि केही हुन्छ कि भन्ने आशा पनि थियो। 

अहिले आएर माओवादीसहितका दलको फेरि उही रवैया देखिए पनि हिंसात्मक राजनीति गरेर मुलुकलाई दिग्भ्रमित तुल्याउने तत्वहरूलाई सहयोग पुग्न सक्छ। अतः महाधिवेशनबाट दलको नेतृत्वमा फेरि फर्किएका नेताहरूले अबको कामबारे गम्भीर हुनु आवश्यक छ। आमरूपमा बढ्दै गएको निराशालाई कम गर्न उनीहरूले भूमिका खेल्नुपर्ने आवश्यकता पनि उत्तिकै छ। त्यसमा पनि माओवादी अध्यक्ष दाहालले झनै मेहनत गर्नुपर्ने देखिन्छ। उनले आगामी पाँच वर्षमा मुलुकको राजनीतिलाई ठीक बाटोमा अगाडि लगाउन भूमिका खेलेनन् भने निराशाले अर्कै बाटो खोज्न सक्छ।

प्रकाशित: २१ पुस २०७८ ०३:११ बुधबार

Download Nagarik App
Download Nagarik App