५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

उग्रतामा लगाम

सशस्त्र विद्रोह गरेर शान्तिपूर्ण राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन भइरहेका बेला तराईका केही स्थान अशान्त बनेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताले पूर्वविद्रोही नेता पुष्पकमल दाहालको प्रशंसा गरिरहँदा सर्वसाधारण नागरिकले सिरहाका केही स्थानमा आफूलाई राज्यविहीन स्थितिमा रहेको महसुस गर्नुपरेको छ।

सशस्त्र विद्रोह गरेको दलले त अन्ततः शान्तिपूर्ण राजनीतिमा आएर फेरि गतिविधि गर्नु परिरहेको छ भने सिके राउतको जनमत पार्टीले सर्वसाधारणमाथि आतंक मच्चाएर आफूलाई राजनीतिमा स्थापित गर्न खोजिरहेको छ। अहिले पनि एकथरी मानिसलाई उग्रताबाट आफ्नो दल बलियो बनाउन सकिन्छ भन्ने भ्रम छ। त्यही भ्रमपूर्ण विश्वासका आधारमा सर्वसाधारणमाथि ज्यादती भइरहेको छ।

जनआन्दोलन २०६२/०६३ पछि बन्द हड्ताल आदिको सबै भन्दा धेरै दुरूपयोग गरिएको अनुभव छ। कुन ठाउँमा कतिबेला बन्द हुने हो भन्ने त्रासको वातावरणमा सर्वसाधारणले हिँड्नुपरेको हो। त्यही भएर सबैजसो दलले बन्दप्रतिको आफ्नो अरूचि जाहेर गरेका हुन्। मुलुकमा लोकतन्त्र ल्याएर पनि नागरिकले आफूलाई स्वतन्त्र महसुस गर्न पाएनन्। स्कुल/कलेजमा बालबालिकाले सहजै अध्ययन पनि गर्न सकेनन्। यो स्थितिलाई महसुस गरेर सबैले आन्दोलनको यो स्वरूपबाट आफ्नो हात झिकेका हुन्।

अब आइन्दा यस्ता गतिविधिलाई आफ्नो राजनीतिको हतियार नबनाउने प्रतिबद्धता व्यक्त गरेपछि सबैलाई राहत भएको हो। अहिले आएर केही साना दलले यो हतियार प्रयोग गर्न थालेका छन्। उनीहरूलाई यो माध्यमबाट आफ्नो दल बलियो हुँदै जाने र आमनागरिकमा पनि आफ्नो प्रचार हुने लागेको हुनुपर्छ। सर्वसाधारणले तत्काल यसको विरोध नगरे पनि तिनका मनमा यस्तो कार्यप्रति नकारात्मक भाव जन्मिन्छ। अन्ततः बन्द, हड्ताल र तोडफोडको राजनीति गर्ने दलको नागरिकमा हैसियत पुग्दैन।

तुलनात्मकरूपमा धेरै ठूलो जनाधार नभएको जनमत पार्टीले जनता तर्साउने विधि प्रयोग गर्दै आएको छ। त्यसमा पनि आइतबार गरिएको कथित बन्दमा उक्त दलका कार्यकर्ताले देखाएका अराजकता क्षम्य छैन। व्यक्ति र सार्वजनिक प्रयोजनका सवारी साधनमा तिनले गरेको आक्रमणका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका देखिन्छ।

पीडित व्यक्तिहरू यसबाट आतंकित महसुस गरिरहेका छन्। आफ्नो गन्तव्यमा जान नपाउनु र सवारी साधनमा तोडफोड गरी क्षति पुर्‍याउनु कुनै अर्थमा उचित कार्य होइन। यसमा सम्बन्धित दलको नेतृत्वले ध्यान पुर्‍याउन सक्नुपर्छ। प्रायः भीडको मानसिकता बेग्लै हुन्छ। भिडले विवेक नपुर्‍याउने र भावनामा बहकिएर निर्णय गर्ने अवस्था रहन्छ। त्यही भएर आइतबार ट्रक जलाइएको र निजी सवारी साधनमा तोडफोड भएको देखिएको छ। तिनलाई सम्बन्धित दलको नेतृत्वले नियन्त्रणमा राख्न सकेन नै।

यसका साथै स्थानीय प्रशासनले पनि यसलाई बेलैमा नियन्त्रण गरेको भए यस्तो हुने थिएन। सर्वसाधारणमाथि ज्यादती हुँदा प्रहरी हेरेर बस्नुले भोलिका दिनमा पनि यस्तै गतिविधि गर्नेहरूको मनोबल बढ्छ।

स्वाभाविकरूपमा अहिले प्रमुख दलहरूप्रति सर्वसाधारणमा वितृष्णा छ। त्यो स्थितिलाई प्रयोग गर्दै राजनीतिक सफलता हासिल गर्ने उद्देश्य अन्य दलमा हुनु स्वाभाविक हो। अहिलेको स्थितिमा भ्रष्टाचार वा अन्य विकृतिलाई उजागर गरेपछि आमनागरिकको मन जित्न सकिन्छ भन्ने तिनलाई लागेको छ। त्यही भएर लोकप्रियताका निम्ति यस्ता कदम चाल्ने गरिएको छ।

तत्कालीन अवस्थामा सत्तारुढ नेपाली कांग्रेसप्रतिको असन्तुष्टि, एमालेलगायतका दलले आफूलाई अग्रणी बनाएर जान नसकेको देखेपछि माओवादीले त्यो असन्तुष्टिमा रोटी सेक्नु उचित ठानेको हो। त्यो अवस्थामा माओवादीलाई आफ्ना गतिविधि अगाडि बढाउन सहज भएको हो।

अहिले जनमत पार्टी पनि त्यही स्थितिलाई सम्झेर उग्र बन्न चाहेको देखिन्छ। कहिले कर्मचारीलाई नाङ्गै बनाएर बजार घुमाउने, कहिले बन्दका नाममा सर्वसाधारणका सवारी साधनमा तोडफोड गर्ने नीति राजनीतिक लाभका निम्ति बनाइएको हो भन्नेमा कुनै शंका छैन।

राजनीतिलाई शान्तिपूर्ण ढंगले अगाडि बढाउन सकिन्छ। दुनियाँका कैयन् मुलुकमा युवाहरू राजनीतिक नेतृत्वमा पुगिरहेका छन्। सर्वसाधारण समक्ष आफ्ना अजेन्डा प्रस्तुत गरेर अगाडि बढ्न खोज्ने हो भने नयाँ दलले पनि आफूलाई राजनीतिमा अगाडि बढाउन सहज छ।

अजेन्डा भन्दा शस्त्र उठाएरै राजनीति अगाडि बढाउन सकिन्छ भन्ने विश्वास हो भने त्यसले कहीँ पुर्‍याउँदैन। स्वाभाविकरूपमा समाजमा द्वन्द्व जन्मिरहन्छ। त्यसलाई शान्तिपूर्ण ढंगले समाधान गर्दै लोकतान्त्रिक अभ्यासमा आफूलाई लगाउँदामात्र दिगो राजनीति हुन सक्छ। आक्रामक राजनीति गर्दै काम गरिखाने सर्वसाधारणमाथि क्षति गर्ने हो भने परिस्थिति उल्टो हुनेछ।

अतः जनमत पार्टीले आफूबाट भएका गल्ती सच्याउँदै आगामी राजनीतिका निम्ति तयार पार्नु उचित हुन्छ। यसको नेतृत्वले आइतबार गरिएको ज्यादतीका बारेमा गम्भीर चिन्तन गर्नुपर्छ। आगामी दिनमा यस्तै गतिविधि गरेर राजनीतिमा आफ्नो प्रभाव बढाउन खोजेको हो भने त्यो सम्भव छैन। क्षणिक समयका निम्ति केही उपलब्धि भए पनि त्यो दिगो हुँदैन।

त्रास उत्पन्न गरेर ठूलो दल बन्न खोजिएको छ भने त्यो अहिलेको राजनीतिक व्यवस्थाका निम्ति सुहाउने पक्ष होइन। पछिल्ला दिनमा जनमत पार्टीले गर्दै आएका गतिविधिको गम्भीर अध्ययन आवश्यक छ। यसका कार्यकर्ताले गरेका ज्यादतीको क्षतिपूर्ति पीडित व्यक्तिहरूलाई दिलाउनुपर्छ। सर्वसाधारणमाथि भएको यस्तो ज्यादतीका निम्ति जिम्मेवारी लिने र आगामी दिनमा नदोहोर्‍याउन प्रतिबद्ध हुनुपर्छ।

बन्दको राजनीति जुनसुकै दलले रोक्नुपर्छ। अन्य सिर्जनात्मक विधि अपनाएर राजनीति गर्ने विवेक सबै दलमा आउनु उचित हुन्छ। उग्र गतिविधि गरेर राजनीतिक सफलता प्राप्त हुन्छ भन्नु मृगमरीचिकामात्र हो। कम्तीमा माओवादीलाई हेरेर पनि यो बुझ्न सकिन्छ।

प्रकाशित: १३ पुस २०७८ ०४:१६ मंगलबार

Download Nagarik App
Download Nagarik App