१२ असार २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

असामान्यकालको अलमल

जबजब चाडबाड नजिक आउँछन्, तबतब अहिलेको बेला असामान्य रहेको सम्झनुपर्छ। बिस्तारै वर्षाकाल सकिँदैछ। रक्षावन्धन/क्वाँटीपुन्ही, गाईजात्रा आदि आइसकेपछि बिस्तारै चाडबाडले छोप्न थालेको अनुभूति हुन्छ। चाडबाड भन्नुको अर्थ भेटघाट, पूजाअर्चना, फुर्सद/रमाइलो पनि हो। अहिलेको असामान्य अवस्थामा चाडबाड पनि विगतमा जस्तै उन्मुक्त हुन पाइँदैन। कोभिड–१९ ले हामी सबैलाई ‘नवीन सामान्यकाल’ अर्थात् ‘न्यु नर्मल’ का अभ्यास नछाड्न बाध्य पारेको छ। रक्षाबन्धनका अवसरमा आइतबार मठमन्दिरमा देखिएको चहलपहलले फेरि खतराको संकेत गरेको छ। अझै हामीले खुलेर भीडभाड गर्ने बेला भइसकेको छैन। गाईजात्रालाई समेत सामान्य ढंगले मनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ।  

यो आग्रह अकारण गरिएको होइन। अझै स्थिति सामान्य भएको छैन। अहिले पनि संक्रमण दर उच्च रहेका कारण स्वास्थ्य मापदण्ड अपनाउनु उचित हुन्छ। बढी भन्दा बढी व्यक्तिलाई खोप लगाएर सुरक्षित राख्न सकियो भनेमात्र अहिलेको संक्रमण दरमा कमी आउँछ। नेपाल जस्तो जनसंख्या भएको मुलुकमा १० हजार ४ सय २९ जनाको मृत्यु हुनु भनेको चानचुने तथ्यांक होइन। झण्डै साँढे सात लाख व्यक्तिमा संक्रमण भइसकेको छ। संक्रमणको यो स्थिति भए पनि खोप लगाउने काममा अझै तीव्रता दिन सकेको देखिएको छैन। देशमा आएको खोप अहिलेसम्म १ करोड २६ लाख ६८ हजार २ सय ३० मात्र हो। अहिलेसम्म प्रयोग भएको खेप ८७ लाख ७० हजार ६ सय ६४ मात्रामात्र हो।

खोप लगाउन सक्ने जनशक्ति हाम्रो मुलुकमा उत्कृष्ट छ। विगतमा कैयन् पटक खोप अभियान सञ्चालन गर्न यही जनशक्तिले प्रभावकारी भूमिका खेलेको छ। यस कारण पनि कोभिड–१९ विरुद्धको खोपलाई तीव्र तुल्याउन सकिन्छ। यसमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने देखिएको छ। सरकारले २ करोड २० लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ। तर अहिले जुन गतिमा खोप लगाउने काम भइरहेको छ, त्यो पर्याप्त छैन। दैनिक ६ लाख नागरिकलाई खोप लगाउन सक्ने क्षमता भएर पनि किन त्यो लक्ष्य हासिल हुन सकेन भन्ने प्रश्न गम्भीरपूर्वक उठेको छ। यसलाई महसुस गरी सरकारले गति तीव्र पार्नु उचित हुन्छ।  

सरकारले अझै पूर्णता पाइसकेको छैन। तैपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व प्रधानमन्त्री आफैँले राखी त्यसमा राज्यमन्त्री उमेश श्रेष्ठ क्रियाशील छन्। अहिले मन्त्रालय नेतृत्वले प्रभावकारी भूमिका खेल्न सकेको खण्डमा कोभिड–१९ नियन्त्रण सहज हुन्छ। आमनागरिकले सहजै खोप पनि पाउन सक्छन्। यसका साथै जनचेतना बढाउने कामका निम्ति पनि मन्त्रालयले भूमिका खेल्नुपर्ने देखिन्छ। व्यक्तिले दैनिक कार्यव्यवहारमा हिँड्नुपर्ने बाध्यता भए पनि सकेसम्म कोरोना विषाणु संक्रमण नहोस् भन्नेतर्फ ध्यान पुर्‍याउनुपर्छ। यसका निम्ति प्रत्येक नागरिक उत्तिकै सजग हुनुको विकल्प छैन। प्रत्येक नागरिक सजग हुने र सरकारले समयमै खोपको व्यवस्था गर्न सक्ने हो भने हामीलाई सामान्य अवस्थामा पुग्न सहज हुनेछ।  

कोभिड–१९ रोकथाम र उपचारका क्रममा हाम्रो मुलुकको सुशासनको अनुहार पनि देखिएको छ। स्वास्थ्य सामग्री खरिदका क्रममा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका पालामा भएको अनियमितताबारे महालेखा परीक्षकको प्रतिवेदनमा समेत यसपटक सार्वजनिक भएको छ। महामारीको कठिन अवस्थामा समेत अनियमितता गरेको पाइनु आफैँमा चिन्ताको विषय हो। यस्तो अवस्थामा समेत अनियमितता गर्न तयार हुने व्यक्तिहरू वास्तवमै मुलुकका निम्ति घातक हुन्। तिनका बारेमा समेत छानबिन गरी कारबाहीको वातावरण बनाउनु पनि उत्तिकै आवश्यकता भइसकेको छ। यसको अर्थ हो, अहिलेको सरकारले समेत मितव्ययितामा समेत ध्यान दिनुपर्छ। एकातिर सीमित साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अनियमितता नगरी त्यसलाई सहज ढंगले आममानिससम्म पुर्‍याउने तत्परता पनि हुनुपर्छ।  

कोभिड–१९ सँग जोडिएर आएका हाम्रा दैनिक व्यावहारिकतालाई नयाँ ढंगले हेर्नुपर्ने अवस्था छ। अहिलेसम्म पनि बन्दाबन्दीका केही अभ्यास जारी छन्। राति आठ बजेपछि सवारी चलाउन रोक्ने जस्ता अभ्यास भइरहेका छन्। तर यस्तो बन्द अनन्तकालसम्म गरिरहन सम्भव छैन। त्यसैले स्थितिलाई सामान्य बनाउन कोभिड–१९ नियन्त्रण आवश्यक हुन्छ। त्यसका लागि आउन लागेका चाडपर्वअघि कोभिड–१९ को संक्रमण नबढोस् भन्नेमा ध्यान पुर्‍याउनु उचित हुन्छ। झण्डै दुई वर्षदेखि स्थिति असामान्य अवस्थामा पुगेको छ। त्यस कारण पनि अब धेरै ढिला गर्न सकिने अवस्था छैन।  

कोरोना विषाणु संक्रमणका कारण धेरैले आफ्नो दैनिक गुजारा गुमाएका छन्। यो स्थिति लामो समयसम्म जानु भनेको धेरै व्यक्ति गरिबीको रेखामुनि जानु हो। त्यसैले सामान्यकालतर्फको गन्तव्यलाई छिटो तुल्याउन अहिले स्वास्थ्य मन्त्रालय प्रशासनको भूमिका ठूलो देखिएको छ। विगतमा यो मन्त्रालयको भूमिका खासै देखिन पाएन। वास्तवमा स्वास्थ्य क्षेत्रका व्यक्तिहरूकै सल्लाहअनुसार अगामी रणनीति तय गर्नुपर्ने देखिन्छ। कोरोनासँग लड्ने कैयन् मुलुकका सफलताका कथा पनि छन्। ती कसरी सफल भए भन्ने पक्ष अध्ययन गर्नु र त्यसलाई यहाँ दोहोर्‍याउन तत्पर हुनु पनि आवश्यक भइसकेको छ। आगामी चाडबाडअगाडि नै देशलाई सामान्य बनाउने गरी सरकारले विशेष रणनीति अख्तियार गरोस्।

प्रकाशित: ७ भाद्र २०७८ ०५:१९ सोमबार

Download Nagarik App
Download Nagarik App