४ वैशाख २०८१ मंगलबार
सम्पादकीय

पारिवारिक कलहको दुखान्त

दैलेखको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवालले आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको घटना आफैँमा दुःखद छ। पारिवारिक कलह र त्यसैले निम्त्याएको घरेलु हिंसाका कारण परिवारले सामूहिक आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साथै यो घटनाले नेपाली समाजमा घरेलु हिंसाको अवस्था र त्यसको दुष्परिणामलाई देखाएको छ । त्यसो त यसअघि पनि मुलुकका विभिन्न स्थानमा भएका घरेलु हिंसा र त्यसले निम्त्याएको दुष्परिणामको विषय सार्वजनिक हुँदै आएको हो । तर दैलेखमा भएको यो घटनाले भने घरेलु हिंसाको भयाबह अवस्थालाई देखाएको छ । समाजमा घटित यस्ता घरेलु हिंसा प्रायःजसो सबै पुरुषले महिलामाथि गरेको ज्यादतीकारूपमा सार्वजनिक हुने गरेका छन् । यसले पनि समाजमा पितृसतात्मक सोचले जरा गाडेको मात्र होइन, महिलाले घरभित्रै ज्यादती सहनुपरेको तथ्यलाई समेत उदांगो पारेको छ । महिलाले आफ्नै घरभित्र ज्यादती, शोषण, अपमान र असमानता भोग्नुपरेको छ भने समाजले गर्ने विभेद त्यसैपनि कायमै छ । त्यसैले महिला समानताको कुरा गर्दा घरभित्रैबाट यसको सुरुवात गर्नुपर्ने अवस्था छ ।

सुकी आफैँले पनि अन्याय विरुद्ध आफ्नै घरआँगनमा रहेको स्थानीय सरकारदेखि प्रहरी कार्यालयसम्मको ढोका ढक्ढक्याउन सक्थिन् । तर उनले अन्याय विरुद्ध संघर्ष गर्नुको सट्टा मृत्यु रोजेको देखिन्छ, त्यो पनि आफ्ना सबै छोराछोरीसहित । पारिवारिक कलहले निम्त्याएको यो दुखान्त घटनाले सभ्य समाजको शिर नै निहुरिएको छ ।  

पितृसत्तात्मक र परम्परागत सोचकै कारण नेपाली समाजमा पुरुषले कमाइ गर्ने र महिलाले घर/व्यवहार सम्हाल्ने मान्यताले नराम्ररी जरा गाड्दै आएको छ । सहरी क्षेत्र र शिक्षित समाजमा यो सोचमा केही परिवर्तन आए पनि दूरदराजका विकट गाउँहरूमा यस किसिमको मान्यता कायमै छ । त्यसो त कतिपय पढेलेखेकै परिवारमा समेत यस किसिमको मान्यता रहँदै आएको देखिन्छ । त्यसैले त कतिपय बेला पढेलेखेकै परिवारमा समेत महिलामाथि शोषण, विभेद र हिंसा भएका घटना सार्वजनिक हुने गरेका छन् । पढाइदेखि रोजगारीसम्मको क्षेत्रमा विभेद गर्दै महिलालाई पछि पारिएको हुन्छ । समान अवसरको अभावका कारण महिलासँग स्रोतको पहुँच कम हुने मात्रै होइन, त्यसैका कारण उनीहरू पुरुषप्रति निर्भर हुने अवस्थासमेत रहने गरेको छ । सायद, दैलेख आठबीसकी सुकीले पनि आफूले पर्याप्त कमाइ गरेर आफ्ना लालाबाला हुर्काउन सक्षम भएको भए यो अप्रिय बाटो समात्ने थिइनन् होला । तर कमाइ गरेर ल्याउने श्रीमान् मानसिंहले सधैं झगडा गर्ने गरेकै कारण उनले छोराछोरीसहित सामूहिक आत्महत्या गरेको स्थानीयको भनाइ छ ।  

त्यसो त प्रहरीसँगको प्रारम्भिक बयानमा मानसिंहले पनि घरमा झगडा हुने गरेको स्वीकार गरेका छन् । आइतबार बेलुका चार बजेतिर घाँस काट्न भनेर हिँडेकी पत्नी फर्केर नआएको उनले प्रहरीसँग बताएका छन् । यसरी घरबाट निस्किएकी सुकीले आफ्ना छोराछोरीसहित मध्यपहाडी राजमार्गको बेलखेत पुल नजिकैबाट कर्णालीमा हामफालेको देखिन्छ । नदीमा हामफालेको ठाउँमा पाँचैजनाका चप्पल मिलाएर राखिएको अवस्थामा फेला परेको छ । कर्णालीमा हामफालेका पाँचमध्ये चारजनाको शव सुदूरपश्चिम प्रदेशको अछाममा भेटिएको छ भने एकजना अझै बेपत्ता छन् । सुकी, उनका छोरीहरू १५ वर्षीया कल्पना र १२ वर्षीया सरिता तथा १० वर्षीया छोरा ललितको शव फेला परेको छ भने अर्की पाँच वर्षकी छोरी रजनीचाहिँ अझै बेपत्ता छिन् । कल्पना र सरिताको शव सोमबार तथा सुकी र ललितको शव मंगलबार फेलापरेको हो । सरिताको पाखुरामा र कल्पनाको कम्मरमा डोरी बाँधिएको अवस्थामा उनीहरूको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४, बेलखेतनजिकै फेला परेको हो । घटनाको प्रकृति हेर्दा कल्पना र सरिता एकापसमा डोरीले बाँधिएर नदीमा हामफालेको देखिन्छ भने छोेरा ललितलाई सुकीले पिठ्युँमा पटुकाले बाँधेर हामफालेको देखिन्छ ।  

यसरी एकै घरका पाँच जनाले त्यो पनि घरेलु हिंसाका कारण सामूहिक आत्महत्या गर्ने सामान्य घटना होइन । एकातिर सुकीले बाध्यात्मक अवस्थाका कारण सामूहिक आत्महत्या गर्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । त्यसो त स्थानीय स्वयंले पनि यस्ता घटना रोकथामका लागि केही हदसम्म भएपनि पहल गर्न सक्थे । सुकी र मानसिंहबीच हरेक दिनजसो झगडा हुने गरेको स्थानीयलेनै बताएका छन् । यो अवस्थामा स्थानीयले उनीहरूलाई सम्झाइबुझाइ मिलापत्र गराउनतर्फ ध्यान दिनुपर्ने हो । मिल्नै नसक्ने अवस्थामा सुकीलाई कानुनी बाटो खोज्न स्थानीयले प्रेरित र सहयोग गरेको भए अहिले यी पाँचजनाको ज्यान जोगिने थियो । त्यसैले आफ्नो समुदायमा भएको चाहे झैझगडा होस् वा अन्य नकारात्मक प्रवृत्तिका घटना नै किन नहोस्, त्यसको मिलाप र सुधारका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ । त्यति मात्र होइन, चाहे घरभित्र भएका अन्याय होस् वा समुदाय वा अन्य क्षेत्रबाट भएका अन्यायको विषय नै किन नहोस्, त्यसविरुद्ध संघर्ष गर्न समुदायले आत्मबल दिनुपर्ने हो । तर सुकीको सवालमा स्थानीय समुदायबाट त्यस किसिमको सक्रियता देखिएन । सुकी आफैँले पनि अन्यायविरुद्ध आफ्नै घर/आँगनमा रहेको स्थानीय सरकारदेखि प्रहरी कार्यालयसम्मको ढोका ढक्ढक्याउन सक्थिन् । तर उनले अन्यायविरुद्ध संघर्ष गर्नुको सट्टा मृत्यु रोजेको देखिन्छ, त्यो पनि आफ्ना सबै छोराछोरीसहित । पारिवारिक कलहले निम्त्याएको यो दुखान्त घटनाले सभ्य समाजको शिर निहुरिएको छ ।

प्रकाशित: २७ फाल्गुन २०७७ ०५:१७ बिहीबार

Download Nagarik App
Download Nagarik App