coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

अवैध हतियारको जगजगी

मधेसमा विगतमा सशस्त्र समूहका नाममा जे/जस्ता गतिविधि हुन्थे त्यसमा कमी आए पनि त्यसको ‘साइड इफेक्ट’ का रूपमा रहेको अवैध हतियार धन्दाको बाछिटा भने अझै पनि हराएको छैन। सशस्त्र समूहहरूका गतिविधि त हराएका छन् तर अवैध हतियारको त्रासले मधेसलाई सधैँभरि सताइरहेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ४५ थान अवैध हतियार बरामद हुनुका साथै त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा यससम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन् भने २०७७÷७८ कात्तिकसम्ममा १० वटा मुद्दा दर्ता भएको छ। यसले पनि मधेसमा सशस्त्र समूहको स्थापनासँगै सुरु भएको अवैध हातहतियारको वाछिटा अझै पनि कायमै रहेको देखिन्छ। अझ पछिल्लो समय यस्तै अवैध हतियारका कारण अपराधका घटनाहरू हुन थालेका देखिन्छ जुन चिन्ताको विषय हो।

प्रहरी अधिकारीहरूका भनाइमा लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण गर्न सहज छैन। घर–घरमा गएर साना अवैध हतियार खानतलासी गर्न कानुनी झन्झट रहेको भन्दै प्रहरी तर्किने गरेको छ। त्यसो त मधेसमा सशस्त्र समूहको बिगबिगी हुँदा जस्तो साना हतियारको भयाबह अवस्था नभए पनि यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने यसले सुरक्षा चुनौती थप्ने कुरामा कुनै शंका छैन। तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका बेला मधेसमा अवैध हतियारको त्रास फैलिएको हो। शान्ति प्रक्रियामार्फत त्यो द्वन्द्वको अवतरण भए पनि त्यसपछि चाहिँ मधेसमा धेरै किसिमका सशस्त्र समूह जन्मिए जो राजनीति भन्दा पनि आपराधिक ज्यादा थिए। त्यसैले त अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या जस्ता घटनाले मधेसलाई आक्रान्त पारिरह्यो तर राज्यले सुरक्षा निकायको सघनता बढाएसँगै त्यस्तो सञ्जाल तहस नहस भयो। यद्यपि, त्यसैको वाछिटास्वरूप अवैध हतियारका कारण हुने अपराधका घटनाचाहिँ भइरहेका छन्।

सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा कटुवादेखि ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ। प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन् भने त्यही खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई समेत मलजल गरिदिएको छ।

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या होस् वा सोही नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार वा असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा प्रहरीलाई ताकेर गोली चलाइएको घटना नै किन नहोस्, सबै अवैध हतियारकै कारण भएका हुन्। ससाना विवाद हुँदैमा रिसइबी साँध्न हतियार प्रयोग गरिहाल्ने डरलाग्दो प्रवृति पनि मधेसमा देखिन थालेको छ। पुजारी साहको हत्या यस्तै सानोतिनो विवादका कारण भएको देखिन्छ। गाउँमा विभिन्न विषयमा छलफल हुँदा पुजारी साह फरक मत राख्ने र नाजायज कामको विरोध गर्थे। सोही क्रममा देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय रामनरेश राउत पटेलसँग सामान्य विवादका कारण उनले प्रहरीको हत्या गरेको खुलेको छ। पटेललाई प्रहरीले सहयोगीसहित पक्राउ गरेको छ भने नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोली पनि बरामद गरेको छ।

यतिसम्म कि मधेसमा सामान्य छलफलका क्रममा विवाद हुँदासमेत  पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना नौलो हुन छाडिसकेको छ। सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने मात्र होइन, ‘स्वचालित’ पेस्तोलसम्म प्रयोग भएको पाइन्छ। प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन् भने त्यही खुला सीमाका कारण वारिपारिको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई समेत मलजल गरिदिएको छ। प्रहरीले बेलाबखत बरामद गरेका साना हतियार सीमापारि भारतबाट नै ल्याएको देखिन्छ। त्यसो त प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट हुने आपराधिक क्रियाकलापचाहिँ रोकिएको छैन। यसरी अवैध हतियार नियन्त्रण गर्न नसक्नुको मुख्य कारण नेपाल–भारत खुला सीमा भएको प्रहरी अधिकारीहरूकै भनाइ छ। त्यसैले पनि सीमावर्ती जिल्लाहरूमा रहेको आपराधिक सञ्जाल नै साना हतियार नियन्त्रणका लागि चुनौतीको विषय बनेको छ।  

त्यसो त हतियार मात्रै होइन, कतिपय सवालमा पारिबाट स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याई अपराधका घटनासमेत हुने गरेको पनि देखिन्छ। रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृता साहको हत्या अढाइ लाख रुपियाँ लिएर रौतहटकै छोटेलाल साह र कैमुल देबानले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आपराधिक व्यक्तिलाई पैसा दिएर हत्यामा प्रयोग गरिने यस किसिमको प्रवृतिले समाजमा डरलाग्दो अवस्था उदांगो पारेको छ। साथै यस किसिमको प्रवृति सामाजिक सुरक्षाका हिसाबले पनि अत्यन्तै ठूलो चुनौतीको विषय हो। घरमा अवैध हतियार राख्दाको गर्व अनुभव गर्ने प्रवृति नै सामाजिक सुरक्षाको हिसावले घातक बनेको छ। व्यक्ति हत्याभन्दा पनि तर्साउन अवैध हतियार राख्ने गरिएको भनिए पनि ससाना विवाद र रिसइबीमा नै ती हतियार प्रयोग गर्ने गरेका देखिन्छ।

चाहे तर्साउनका लागि होस् वा प्रयोगका लागि, अवैध हतियार राख्नु आफैँमा गैरकानुनी कार्य हो जसको नियन्त्रण जरुरी छ। जसरी विगतमा सुरक्षा निकायले आफनो सघनता बढाएर आपराधिक समूहको सञ्जाल नियन्त्रण गरेको थियो, अहिले पनि सुरक्षाको निकायलाई प्रभावकारीरूपमा परिचालन गर्न उत्तिकै जरुरी छ। मुख्य कुरा प्रहरीले आफ्नो सक्रियता अझै प्रभावकारी बनाउन आवश्यक छ। त्यस्तै नेपाल–भारत खुला सीमा नै यसको नियन्त्रणका लागि प्रमुख चुनौती हो भने त्यस्ता सीमा नाकाहरूमा सुरक्षा गस्ती बढाउन त आवश्यक छ नै साथै सीमापारिका भारतीय सुरक्षा संयन्त्रसँग समन्वय गर्न पनि उत्तिकै आवश्यक छ। यसरी सुरक्षा निकायले आफ्नो सक्रियता बढाउने हो भने मधेसमा रहेका अवैध हतियार र त्यसबाट सिर्जित आपराधिक घटना नियन्त्रण गर्न गाह्रो छैन। त्यसैले पनि सुरक्षा निकायले यसतर्फ ध्यान दिँदै सुरक्षा संयन्त्रलाई प्रभावकारी हिसावले परिचालन गर्नुपर्छ। 

प्रकाशित: २१ मंसिर २०७७ ०३:२७ आइतबार

Download Nagarik App
Download Nagarik App