coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

लकडाउनको अवस्था नआओस्

सम्पादकीय

कोरोना भाइरसको जोखिम कम भएको भन्दै सरकारले लकडाउन हटाएसँगै व्यापार÷व्यवसायदेखि दैनिक जीवन सामान्यतर्फ फर्कन लागेको अवस्थामा जे÷जसरी संक्रमितको संख्या र मृत्यु दर बढेको छ, त्यसले समाजमा त्रास र चिन्ता थपेको छ। नेपालमा कोरोना संक्रमण सुरु भएको गत ७ महिनामा शुक्रबार एकै दिन ४ जनाको मृत्यु भएकाले पनि आमजनतामा थप त्रास उत्पन्न भएको हो। र, यो घटनासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। मृत्यु दर मात्रै होइन, पछिल्लो समय संक्रमितको संख्या पनि बढ्न थालेको छ। त्यसमाथि राजधानी काठमाडौँसहित उच्च जनघनत्व भएको वीरगन्ज, विराटनगरलगायतका सहर उच्च जोखिममा देखिनुले पनि यसको नियन्त्रणमा चुनौती थपिएको छ। संक्रमणको जोखिम र मृत्यु दर जुन हिसावले बढ्न थालेको छ, त्यसले कोरोना संक्रमण समुदायमा फैलिएको शंकालाई बढाएको छ। अब कोरोना समुदायस्तरमा फैलिएको छ÷छैन भन्ने बहसमा अल्झिनुको सट्टा यसको नियन्त्रणका लागि आवश्यक तयारी गर्न आवश्यक छ।  

जाोखिमको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकासहित कतिपय स्थानीय तह र जिल्लाले फेरि केही समयका लागि भन्दै लकडाउन गर्न थालेका छन्। त्यसो त संक्रमण भयाबहरूपमा फैलिन थाल्यो भने अन्यत्र पनि चाहे स्थानीय सरकारको सवालमा होस् वा संघीय सरकारको सवालमा नै किन नहोस्, लकडाउनबाहेक विकल्प नहुन सक्छ। यसले फेरि पनि व्यापार÷व्यवसायदेखि आमसर्वसाधारणको दैनिक जीवन ठप्प पार्न सक्छ। त्यसमाथि पटक–पटकको लकडाउनले अर्थतन्त्रमा नै संकट ल्याउन सक्छ जसले गर्दा आगामी दिन थप कष्टकर हुन सक्छ। त्यसैले पनि यो समग्र पक्षलाई विश्लेषण गर्दै सरकारदेखि व्यक्तिसम्मले यो अवस्था आउन नदिन थप तयारी र सावधानी अपनाउन जरुरी छ।  

मुलुकभित्र लकडाउन हटे पनि सीमाको बन्देज हटाइएको छैन। तर कोरोना संक्रमण उच्च भएको भारतीय सीमावर्ती सहरबाट नेपाल प्रवेश रोकिएको छैन। कतिपय लुकीछिपी प्रवेश गरेका छन् भने कतिपय पहुँचका आधारमा आवतजावत गरिरहेको दृष्टान्तले नै मुलुकभर कोरोनाको जोखिम बढाइदिएको छ। त्यसरी सीमा कटेर नेपाल प्रवेश गरेकाहरू समुदायमा परीक्षणविना नै घुलमिल भइरहेका छन्। त्यतिमात्र होइन, त्यसरी प्रवेश गर्नेहरू राजधानी काठमाडौँलगायत मुलुकका अन्य स्थानमा निर्वाधरूपमा प्रवेश गरिरहेका छन्। त्यसमाथि लकडाउन हटेसँगै काठमाडौँ आउनेहरूको संख्या ह्वात्तै बढेको छ जो परीक्षणविना नै प्रवेश गरिरहेका छन्। यसले गर्दा काठमाडौँमा समेत कोरोना संक्रमणमा खतराको घण्टी बज्न थालेको छ। पछिल्लो समय व्यापारीदेखि प्रहरीसम्म देखिएको कोरोना संक्रमणको संख्याले काठमाडौँ सुरक्षित नभएको सन्देश गएको छ।  

वीरगन्जलगायतका सीमावर्ती सहरहरूको अवस्था त झनै डरलाग्दो छ। शुक्रबार मृत्यु हुनेहरू ४ जना नै पर्सा जिल्लाको रहेकाले पनि त्यहाँको जोखिमको अवस्था देखाउँछ। भारतबाट फर्केका राजविराज–६ का ७३ वर्षीय व्यापारीको कोरोनाका कारण मृत्यु भएपछिको कन्टयाक ट्रेसिङका क्रममा ती व्यापारीको सम्पर्कमा आएका २९ जनामा र ती २९ संक्रमितको सम्पर्कमा आएका समुदायका थप ५५ जना संक्रमित भएको घटनाले पनि कोरोना फैलावटको भयाबह अवस्था देखाएको छ। एकातिर यसरी समुदायमा कोरोना फैलिँदै गएको छ भने अर्काेतिर अस्पतालहरूको स्रोत साधनचाहिँ ज्यादै कम छ। त्यसो त आफैँ मोटरसाइकल चलाएर प्रादेशिक अस्पताल जनकपुर पुगेका धनुषा सहिदनगर नगरपालिका–८ डुमरियाका ३८ वर्षीय कोरोना संक्रमितले भेन्टिलेटरकै अभावमा ज्यान गुमाएको तथ्यले पनि अस्पतालहरूको पूर्वाधार अवस्था उदाङ्गो पारिदिएको छ।  

कोरोना संक्रमितको उपचारका लागि जुन हिसावले आइसोलेसन, आइसियु, औषधि र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने हो, त्यस किसिमको तयारी पटक्कै छैन। अस्पतालको आइसोलेसन बेड भरिभराउ भएकाले वीरगन्जमा कतिपय संक्रमितलाई घरमै ‘फोर्स आइसोलेसन’ मा राखिएको छ भने कतिपयलाई स्थानीय होटल÷लज र स्कुलमा राखिएको छ। आइसियु, औषधि र भेन्टिलेटरको अभावले उपचार सहज हुन नसकेको स्वास्थ्यकर्मीहरूले नै बताइसकेका छन्। मुख्य कुरा सीमा प्रवेशमा गरिएको हेलचेक्र्याइँ र परीक्षणबिनाको बढ्दो आवतजावतका कारण कोरोना संक्रमण यो रूपमा फैलिँदै गएको हो। त्यसैले सीमामा लुकीछिपी प्रवेश गर्ने प्रवृत्तिलाई कडाइ गर्न आवश्यक छ। त्यस्तै काठमाडौँ प्रवेश गर्नेको हकमा होस् वा अन्य सहरकै सवालमा नै किन नहोस्, प्रवेश गर्ने व्यक्तिको अनिवार्य पिसिआर परीक्षणको व्यवस्था गर्न जरुरी छ। परीक्षण रिपोर्ट नआउन्जेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ। अन्यथा फेरि पनि कोरोना संक्रमण बढ्यो भन्दै लकडाउन गर्नुपर्ने अवस्था नआओस्। आवश्यक तयारी र त्यसैअनुरूपको कदम नचाल्ने तर लकडाउन मात्रै गरिरहने प्रवृत्ति आगामी दिनमा झनै महँगो सावित हुन सक्छ।

प्रकाशित: १८ श्रावण २०७७ ०६:२६ आइतबार

Download Nagarik App
Download Nagarik App