३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

हवाई भाडाको हन्डर

हवाई भाडाका दृष्टिले गन्तव्य काठमाडौं यात्रुका निम्ति कठिन बनिसकेको छ। यसको टिकटका लागि गरिने खर्चका आधारमा यो अत्यन्तै दुर्गमजस्तो बन्न पुगेको छ। नेपाल आउने र बाहिरिने हवाइजहाज कम्पनीहरूले भाडा चुलीमा पुर्‍याएका छन्। २५ हजार लाग्ने ठाउँमा ५० हजार र ४० हजार लाग्ने ठाउँमा ८० हजारभन्दा बढी भाडा लिने गरेका छन्। यही महँगो टिकट पनि चाहेका बेला नपाइने भएका कारण कालोबजारीबाट समेत खरिद गर्नुपर्ने बाध्यता नेपालीसामु सिर्जना भएको छ। तर पनि यो समस्या समाधानतर्फ सरकारले उचित कदम चालेको देखिन्न।

त्रिभुवन विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि भन्दै प्रत्येक दिन १० घण्टाका दरले बन्द गरिने सरकारी निर्णयसँग थुप्रै उडान कटौती भएका छन्। एकातिर उडान कटौती हुने अर्कोतिर यात्रुको चाप उत्तिकै रहेकाले एयरलायन्सहरूले नेपालीको यो बाध्यतालाई कमाउने मौकाका रूपमा उपयोग गरेका हुन्। नेपालमै शासकदेखि कर्मचारीसम्म र बिचौलियाबाट समेत ठगिएर वाक्कदिक्क भई विदेशिन लागेकालाई विदेशी एयरलायन्सले समेत परिस्थितिबाट फाइदा उठाइरहेका छन्।

नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा प्रत्येक दिनजसो १५ सयजनाका दरले वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। यति ठूलो संख्याका यात्रु बोक्ने क्षमतायुक्त जहाज नेपालसँग छैनन्। त्यसैले विदेशी एयरलायन्सहरूले उसै पनि नेपाली कामदारबाट अरबौँ रुपियाँ कमाइ गरिरहेका छन्। अझ उडान कम भएको निहुँमा दोब्बर, तेब्बर भाडा लिनु गरिब जनतामाथि तीव्र र अक्षम्य शोषण हो। जसमा मानवीयतासमेत हेरिएको देखिन्न।

शोषण गर्ने अवसर पर्खिनेहरू जहिले पनि र बहाना खोजेर बसेका हुन्छन्। अहिले यही बहाना ट्याक्सी वे निर्माण गर्ने भन्दै सरकारले नै उपलब्ध गराइदिएको छ। प्रत्येक दिन वैदेशिक रोजगारीमा जाने त छँदैछन्, त्यसमाथि पर्यटकीय मौसम सुरु भएकै बेला यस्तो मार्ग किन बनाउनुपरेको हो भन्ने प्रश्न पनि खडा भएको छ। त्यसमाथि यो काम विमानस्थल बन्द नगराइ वा अझ थोरै समय बन्द गराएर पो गर्न सकिन्थ्यो कि ? यसतर्फ पर्याप्त विचार पुर्‍याएको देखिन्न। यस्तो अवस्थाले विदेश जाने सबै नेपाली, विशेषगरी श्रमिकलाई त मार परेको छ नै, साथै पर्यटक आउने सम्भावना अत्यन्त क्षीण हुँदा मुलुकको राजस्व र पर्यटन व्यवसायसमेत प्रभावित हुने पक्कापक्की छ।

ठीक यतिबेलै भैरहवा विमानस्थलमा केही विदेशी एयरलायन्सका उडान सुरु भएको छ। त्रिभुवन विमानस्थलको काम सक्दो चाँडो सम्पन्न गर्ने र सम्पन्न नहुन्जेलका लागि यहाँ कटौती गरिएका उडानलाई भैरहवाबाट नियमित गर्ने व्यवस्था मिलाउन सके शोषणको बहाना केही कम गर्न सकिन्छ। जहाँसम्म ह्वात्तै बढाइएको भाडा दर छ, त्यसलाई प्रष्टीकरण सोधेर वा वैधानिक मार्ग अपनाएर समाधान गरिनुपर्छ। नेपालमा जे पनि गर्न पाइन्छ भन्ने विदेशी एयरलायन्सहरूलाई लागेको हुन सक्छ, यो बुझाइलाई सुधार गराउने दायित्व सरकारको हो।

एकातिर वैदेशिक रोजगारीका लागि तोकिएकै दिन पुग्नैपर्ने अर्कोतर्फ टिकट नपाइने बहाना देखाएर यहीबेला दिन दुगुना, रात चौगुनाका दरले बिचौलियाहरूले टिकटको कालोबजारी धन्दा जमाएका छन्। टिकटको मूल्य एउटा विन्दुभन्दा माथि जान नदिन प्रयास गरेको देखिएन। गरिएका प्रयास पनि पर्याप्त भएनन्। स्वदेशमा रोजगारी अभावमा ऋण गरेर विदेशिन लागेकाहरूमाथि थप समस्या आइलाग्न नदिन पनि सरकारले वैकल्पिक उपाय अपनाउनै पर्छ।

मुख्य कुरा बेला न कुबेला, बिना कुनै उचित कारण भाडा वृद्धि नै अनुचित छ। दोस्रो कुरा, यतिबेला नै किन र लामो समय विमानस्थल बन्द गर्नुपर्ने हो भन्नेमै रहस्य छ। यस्ता विषयलाई समाधान गरेर अघि बढ्नुपर्छ। तेस्रो कुरा, अहिले भैरहवा विमानस्थललाई व्यवस्थापन र नियमित गर्ने अवसर पनि हो। त्यसैले काठमाडौँमा उडान गरिरहेकालाई यहाँ बढी भाडा लिन नदिई भैरहवामा उडान गर्ने वातावरण सरकारीतवरबाटै मिलाइनुपर्छ। र, नमानेमा उनीहरूलाई उडानमा प्रतिबन्धसमेत लगाउन सकिन्छ। मुख्य कुरा सरकार आफ्ना नागरिकलाई ठगिन नदिन दृढ अठोटका साथ अग्रसर हुनै पर्छ। देशभित्र आउने पर्यटक मात्र होइन काम खोज्न विदेश जाने नेपाली दुबैको हीतका निम्ति क्रियाशील हुन सरकारले ढिला गर्नु हुँदैन। 

प्रकाशित: २९ कार्तिक २०८१ ०५:५७ बिहीबार

Download Nagarik App
Download Nagarik App