यतिबेला नेत्र विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले तयार पारिएको विधेयक राष्ट्रिय सभामा छलफल भइरहेको छ। आँखा स्वास्थ्यसँग सम्बन्धित गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एकातिर यो विधेयकको उद्देश्य छ भने अर्कोतिर यसका लागि आवश्यक पर्ने स्तरीय सामग्री पनि तयार पार्ने यसमा उल्लेख छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ख्यातिप्राप्त आँखा विशेषज्ञ डा. सन्दुक रुइतसँगको सहकार्यमा अघि बढाएको यो प्रयास आवश्यकतामा आधारित देखिन्छ।
नेपालमा विश्वविद्यालयको संख्या बढी भएको आलोचना निकैअघिदेखि सुनिँदै आएको छ। यसअघि नै १३ वटा विश्वविद्यालय भएको सन्दर्भमा फेरि एउटा किन थपिनु प¥यो भन्ने प्रश्न पनि अस्वाभाविक छैन। खासगरी अहिलेका विश्वविद्यालयको नामदेखि कामसम्म उस्तै उस्तै प्रकृतिका भएकाले यिनीहरूबीच फरक के त भन्ने प्रश्न पनि तेर्सिने गरेका छन्। हुन पनि विभिन्न कलेजलाई सम्बन्धन दिने र त्यसैबाट आर्थिक लाभ लिएर बाँचेका आरोप लागेका विश्वविद्यालय जननजरमा सही सावित हुन सकेका छैनन्। अहिले छलफल भइरहेको नेत्र विश्वविद्यालयलाई यसरी हेर्न नहुने विज्ञहरूको दृष्टिकोण छ। यो विश्वविद्यालय विषयगत हुने र अरूलाई सम्बन्धन दिनका लागि खडा गर्न खोजिएको भन्दा पनि आफैँ जनशक्ति र सामग्री उत्पादन गरेर आँखा स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय फड्को मार्ने उद्देश्यसहित आउन लागेको देखिन्छ। त्यसैले यसलाई पनि समग्र विश्वविद्यालयको एउटै डालोमा हालेर बुझ्न खोजियो भने त्यो गलत हुनेछ। डा. रुइतको प्रत्यक्ष संलग्नता र सहकार्यका कारण पनि यो दूषित हुँदैन भन्ने आमअपेक्षा छ।
पछिल्लो पटक शिक्षाविद्हरूको एउटा जमात नेपालको शैक्षिक उन्ननयनका लागि विशिष्टीकृत विश्वविद्यालयहरूको आवश्यकतामा जोड दिइरहेको छ। सशक्त पाठ्यक्रम निर्माण गर्न र विशिष्ट विषयहरूमा विशेषज्ञता हासिल गर्न यस्ता साना विश्वविद्यालय स्थापना गर्नुपर्ने उनीहरूको मत पाइन्छ। यो सन्दर्भमा अहिले नेत्र विश्वविद्यालयको जुन अवधारणा आएको छ, त्यसलाई सफलीभूत तुल्याउन सबै क्षेत्रबाट सहयोग उपलब्ध गराउनु फाइदाजनक हुने देखिएको छ।
नेपालका सबैजसो विश्वविद्यालय ‘सेतो हात्ती’ बनिरहेका सन्दर्भ हेर्दा पनि यस्ता विश्वविद्यालयप्रति सरकारको ध्यान जानु उचित देखिन्छ किनकि यस्ता साना र विशिष्टीकृत विश्वविद्यालयले सरकारलाई बोझ बोकाउने सम्भावना रहन्न। जस्तो– अहिले तीलगंगा नेत्र विश्वविद्यालय खोल्ने कुरा भइरहेको सन्दर्भमा हेर्दा पनि आर्थिक हिसाबले सरकारलाई कुनै भार नपर्ने निश्चित छ। किनकि यो पहिलो कुरा त पर्याप्त अर्थात् १३ रोपनी जमिनमा फैलिएकाले थप पूर्वाधार निर्माणका लागि थप जमिन आवश्यक पर्दैन। दोस्रो, यसको अहिले नै पनि दुई वटा भवन तथा मकवानपुरमा डेढ विघा जमिन र तीन वटा भवन छन्। साथै विभिन्न जिल्लामा फैलिएका २५ सामुदायिक आँखा अस्पताल केन्द्रका भवन छन्। यसरी हेर्दा यो अहिले नै आत्मनिर्भर भएकाले कसैको खासै सहयोग नचाहिने देखिन्छ।
जहाँ नेत्र विश्वविद्यालय खोल्ने कुरा भइरहेको छ, त्यो थलो आफैँमा दुनियाँका आँखा स्वास्थ्यकर्मीको मात्र नभई यो समस्याबाट पीडितहरूका लागि समेत ठूलो धाम हो। भारत, भुटान, बंगलादेश मात्र हैन, धेरै टाढाका अफ्रिकी मुलुकका बासिन्दासमेत सुन्दर संसार देख्न पाइने आशा र भरोसा बोकेर प्रत्येक दिन यो प्रांगणमा भित्रिरहेका हुन्छन्। त्यसैले पनि यहाँको सेवा र स्तरीयतालाई अझै मजबुत तुल्याउन विशिष्टीकृत विश्वविद्यालय बनाउने जुन प्रयत्न थालिएको छ, त्यो सबै कोणबाट सकारात्मक छ।
तीलगंगा आँखा अस्पताल आँखा स्वास्थ्यका लागि अत्यावश्यक लेन्स पनि आफैँ उत्पादन गर्छ। अहिलेसम्म यसले ७० लाख लेन्स उत्पादन गरिसकेको छ। अझ उल्लेखनीय पक्ष त यो छ कि यहाँ उत्पादित लेन्स नेपालमा प्रयोग गरिकन आधा जति त ४० भन्दा बढी देशमा निर्यातसमेत हुन्छ। २२ जिल्लामा फैलिएका २५ वटा सामुदायिक आँखा केन्द्र, ४० ग्रामीण आँखा केन्द्र र तीन वटा सामुदायिक आँखा अस्पतालको धनी पनि हो यो। त्यसैले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई अभ्यास गर्ने थलोसमेत पर्याप्त उपलब्ध हुने स्वतःसिद्ध देखिन्छ।
अहिले पनि दिनमै १५० भन्दा बढी आँखा बिरामीको शल्यक्रिया हुने यहाँ दिनकै तीन हजारभन्दा बढीले बहिरंग सेवा लिने गरेका छन्। आँखा अस्पताल, आँखा बैंक, अनुसन्धान केन्द्र, शैक्षिक तथा तालिम केन्द्र, बाह्य कार्यक्रम विभाग तथा इन्ट्राओकुलर लेन्स उत्पादन विभाग जस्ता निकायमार्फत बहुआयामिक अभ्यास गरिरहेको यो संस्थाले विश्वविद्यालय सञ्चालन गर्न सक्नेमा कुनै द्विविधा राख्न जरुरी छैन।
डा. रुइतको छत्रछायाँमा अनुभवी, इमानदार र पेसाप्रति बफादार स्वास्थ्यकर्मीको समूहले आँटेको यो काम उदाहरणीय हुनेमा कम्तिमा तत्कालका लागि कुनै शंका पालिरहनु जरुरी देखिदैंन।
विश्वमा हरेक पाँच सेकेन्डमा एकजना दृष्टिबिहीन हुने गरेका तथ्यांक छ। यसले आँखा स्वास्थ्यको संवेदनशीलता झल्काउँछ। अर्कोतर्फ नेपालको नाम सबै कुरामा भत्क्यो, बिग्रियो, खत्तम भयो भन्नेमा मात्र माथिल्लो सूचीमा पर्दै आएको छ। तर तीलगंगा अस्पतालले उपलब्ध गराइरहेको सेवा भने यी सबै नकारात्मकताका बीच ‘कालो बादलमा चाँदीको घेरा’ हो। त्यसैले सुन्दर संसार नियाल्ने आँखा स्वास्थ्यको क्षेत्रमा थप र विशिष्ट योगदान पुर्याउने उद्देश्य र प्रतिबद्धताका साथ डा. रुइतको अग्रसरतामा सुरु भएको नेत्र विश्वविद्यालयको सपना साकार पार्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका साथै सम्पूर्ण सरोकारवालाको आवश्यक सहयोग प्राप्त हुनु जरुरी छ।
प्रकाशित: १४ भाद्र २०८१ ०५:५९ शुक्रबार