आइसिसी टी–२० विश्वकपमा खराब नतिजा सुम्पिएर नेपाली टोली स्वदेश फर्किएको छ। नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरूको प्रक्षेपणलाई हेर्ने हो भने यो विश्वकपमा नेपालको लक्ष्य ‘सुपर एट’मा पुग्ने थियो। त्यसका लागि एउटै समूहमा रहेको आफूसरहको नेदरल्यान्ड्स र बाँकी तीन टेस्ट वरीयताका राष्ट्रमध्ये एकलाई पराजित गर्नैपर्ने अभिभारा थियो। तर सुरुआती खेलमै नेदरल्यान्ड्ससँग अनपेक्षित हारले निराश नेपाली टोलीको त्यसपछिको श्रीलंकासँगकोे खेल वर्षाका कारण रद्द भयो। जित्नैपर्ने दक्षिण–अफ्रिका र बंगलादेशसँगका अति महत्त्वपूर्ण खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै जितका लागि आधार तयार गर्यो तर पुनः बिर्सनलायक ब्याटिङले लगभग हासिल भइसकेको ऐतिहासिक उपलब्धिबाट मुलुक विमुख हुनुपर्यो।
क्यानको लक्ष्यलाई थाती राखेर नेपाली क्रिकेटको धरातलीय वास्तविकता नियाल्दै तर्कसंगत दृष्टिले भन्ने हो भनेचाहिँ क्रिकेटप्रेमीले विश्वकपबाट राखेको आशा एउटै थियो, त्यो थियो, कम्तीमा एक जित। सके एउटा टेस्ट राष्ट्रसँगको जित, जसले इतिहास रच्थ्यो । नत्र नेदरल्यान्ड्ससँगको जित, जसले समान हैसियतको प्रतिद्वन्द्वीलाई पराजित गर्दै आफ्नो स्तर नखस्किएको प्रमाणित गथ्र्यो । तर यस्तो केही भएन। क्यानले दाबी गरेको र दर्शकले राखेको झिनो अपेक्षासमेत नेपाली टोलीले पूरा गर्न सकेन ।
१० वर्षपछि दोस्रोपटक टी–२० विश्वकपमा सहभागी हुन पाएको नेपाली टोलीले हङकङ र अफगानिस्तानलाई पराजित गरेको पुरानो आफ्नै मानकलाई दोहोर्याउन समेत सकेन।
यस्तोमा स्वदेश फर्किएको टोलीले पत्रकार सम्मेलनमार्फत राम्रा टोलीसँग विदेशमा खेलिनुपर्ने पर्याप्त खेलको अभाव अर्थात् अनुभवका कमीका कारण खराब नतिजा आएको स्पष्टीकरण दियो। कप्तान रोहितकुमार पौडेलले ‘यसपालि यस्तै भयो, भविष्यमा सुधार्दै जानेछौं’ भन्ने पुरानै रटान लगाए। पत्रकार सम्मेलनमा पत्रकार र दर्शकलाई चित्त बुझाउने प्रतिक्रिया दिन न प्रशिक्षक मोन्टी देसाई उपस्थित थिए न क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव पारस खड्का। लाग्थ्यो, पत्रकार सम्मेलन केवल औपचारिकताका लागि आयोजित कार्यक्रम हो।
‘खेल सकियो, कुरै सकियो’ भन्ने क्यानलाई लागेको हुँदो हो। तर खेलपूर्व नेपाली टोलीले जुनसुकै टोलीलाई पनि हराएर स्तब्ध पार्न सक्ने भनी धक्कु लगाएका क्यानका अधिकारी यतिबेला किन केही बोल्दैनन्, किन विज्ञप्ति जारी गर्दैनन् ? सबैभन्दा महŒवपूर्ण त किन सार्वजनिक रूपमा जवाफदेहिता वहन गर्दैनन् ? किन प्रशिक्षक र कप्तान नेपाली क्रिकेटप्रेमीसमक्ष माफी माग्दैनन् ? आफ्नै कार्यकालमा नेपाली टोली विश्वकपमा खेल्न गएको भन्ने ‘सयदिने उपलब्धि’को झुट छरेका खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ किन हारको जिम्मा लिँदैनन् ? राष्ट्रिय खेलकुद परिषद् पनि त छ, ऊ पनि किन मौन छ ? प्रश्नहरू यतिमै सकिँदैनन्। विडम्बना के भने यहाँ उत्तर दिने कोही भेटिँदैनन्।
हाम्रा शासकले नबुझेको सत्य के हो भने यतिबेला क्रिकेट सगरमाथा, बुद्ध, प्राकृतिक सौन्दर्य, वीर गोर्खालीबाहेकको अर्को नेपाली पहिचान बनेको छ। ‘क्रिकेट राष्ट्र’को नयाँ नेपाली पहिचानमा एकाकार भएर नयाँ पुस्ताले अनेक सपना देखेका छन्। विश्वभर छरिएका नेपालीले देशभक्ति भावमा एकाएक हुने अवसर पाएका छन्। नत्र त्रिभुवन विश्वविद्यालयको मैदानमा जस्तै अमेरिका र वेस्ट इन्डिजजस्ता दूरदेशहरूमा अमूल्य समय र पैसा खर्चिएर नेपाली समर्थक मैदानमा हुत्तिन आउने थिएनन्। नेपाली खेलाडी र खेललाई यतिविधि प्रेम खन्याउने थिएनन्। तर हाम्रो क्रिकेट प्रशासनमा यो गम्भीरताबोध देखिँदैन। देखिन्थ्यो त, यतिबेला क्रिकेटप्रेमीलाई सम्बोधन गर्दै भविष्यका लागि आशावादी तुल्याउने सन्देश आउने थियो।
खेलको सघन समीक्षा गर्दै हारजितको विश्लेषण गरिरहेको भेटिन्थ्यो । तर हुन सक्छ, उनीहरू कतै ‘छुट्टी’ मनाइरहेका छन् । हो, एकादुई हार र जितले खेलको समग्र विकासलाई मूल्यांकन गर्न सकिन्न। तर यहाँ उठाउन खोजिएको कुरा भने प्रवृत्ति र प्रणालीसँग सम्बन्धित छ। आज संसारले हेरिरहेको विश्वकपजस्तो प्रतियोगितामा हामी खेलसम्बद्ध अधिकारी र खेलाडीसँग जबाफ माग गर्दैनौं भने भोलि पनि यस्ता खराब नतिजाको सामना हामीले गरिरहनुपर्नेछ, जहाँ कसैले जिम्मेवारीबोध गर्नेछैनन्, दण्डहीनता बढिरहनेछ।
त्यसैले यतिबेला क्यान जनताको कठघरामा छ, जहाँ उसले आफ्नो वासलात प्रस्तुत गर्नुपर्नेछ । जनताको आलोचना र टिप्पणीको सामना गर्नुपर्नेछ। दण्डहीनता अन्त्य गर्दै राम्रो खेल्नेलाई पुरस्कार र नराम्रो खेल्नेलाई दण्ड दिनुपर्नेछ। कमीकमजोरी सुधार्ने र गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। र, फेरि देशलाई विश्वकपजस्ता प्रतियोगितामा पुर्याउँदै नेपाललाई टेस्टराष्ट्र बनाउने स्पष्ट खाका कोर्नुपर्नेछ। अन्यथा, नेपाली क्रिकेटप्रतिको यो अगाध प्रेमप्रति क्यानले घात गरेको ठहर्नेछ, जसको सजाय सरकारले नदिए पनि जनताले दिनेछन्। दलीयकरण र भ्रष्टाचारले पहिल्यै थिलथिलो बनेका हाम्रा खेलसंरचनाले जनताको भरोसा गुमाउनु सबैभन्दा ठुलो पुँजी गुमाउनु हुनेछ।
प्रकाशित: ९ असार २०८१ ०६:०४ आइतबार