७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

आफ्नै अतिथि आफ्नै आतिथेय

हाम्रा पाहुना मौसमी छन्। लामो प्रतीक्षापछि मौसममै पर्यटक नआइदिँदा अतिथी सेवामा लागेकाहरू निराश हुन्छन् नै। यसको सबैभन्दा बढी पीडा पोखराका व्यवसायीले बुझेका छन्। पर्यटकबिनाको पर्यटन क्षेत्रका सारथि बन्न सजिलो छैन। यही कारण पोखराको पर्यटन क्षेत्र सुस्ताएको पनि हो। यसैकारण कतिपयमा पलायन हुने सोच आउनु स्वाभाविक हो। पोखरेली पर्यटन व्यवसायीलाई नेपाली नयाँ वर्ष काकाकुललाई पानीजस्तो बन्न पुगेको छ।

पोखराको सहरी क्षेत्र र फेवाताल क्षेत्र मात्र होइन, आसपासका पर्यटकीय गाउँ, होमस्टे आदिसमेत हराभर हुन पुगेका छन्। लामो अन्तरालपछि पोखराका होटल भरिभराउ भएकोमा व्यवसायीहरू खुसी छन्। उनीहरूका अनुसार नयाँ वर्ष मनाउनेहरू चितवन र लुम्बिनीभन्दा पनि बढी पोखरामा ओइरिएपछि उत्साहको वातावरण बनेको छ। यसले गिर्दो पर्यटन व्यवसायलाई उकास्न मद्दत गर्नु आफैंमा सुसमाचार हो।

विक्रम संवत् नेपालीले मनाउँछन्। त्यसैले नयाँ वर्ष २०८१ पनि नेपालीकै हो। नेपालीको नयाँ वर्षमा विदेशी पर्यटक आइदिएका कारण पोखरा हराभरा भएको होइन। नेपाली पर्यटक नै सुन्दर नगरीमा नयाँ वर्ष मनाउन झुम्मेका कारण पोखराले धेरै पाहुना सत्कार गर्ने अवसर पाएको हो। यसरी हेर्दा नेपालको पर्यटन क्षेत्र फस्टाउन आन्तरिक पर्यटक नै काफी हुन थालेको छ। आफ्नै गाउँठाउँ र देश चिन्नुपर्छ भन्ने भावनाले नेपाली ओतप्रोत हुन थालेका छन्। पोखरा मात्र नभई नेपालका अन्य पर्यटकीय क्षेत्रमा नयाँ वर्षका अवसरमा देखिएको चहलपहलका मुख्य पाहुना पनि नेपाली नै हुन्।

पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन निकै फस्टाएको छ। अन्त जानै पर्दैन, आफ्नै फेसबुकको भित्तो खोले देखिन्छ–कोही मुस्ताङको कोरलामा नेपाली झण्डा समातेर मस्त हुन्छन्, कोही पाथीभरामाईसँग आशीर्वाद मागेर आनन्दित छन्, कोही सुर्खेतको काँक्रेबिहारमा बिहार गरिरहेका छन् त कोही खप्तडका लेकमा देउडा नाँच्दै सांस्कृतिक एकाकार गरिरहेका छन्। गोसाइँ–कुण्ड, लुम्बिनी, चितवन, भेडेटारदेखि रारा र कालिन्चोकसम्म उत्फुल्ल अवस्थामा देखिएका छन् आन्तरिक पर्यटक। यी सबै यस्ता दृश्य हुन् जसले नेपालको पर्यटन व्यवसाय आन्तरिक पर्यटनकै कारण चम्किँदै छ। स्वदेशी पाहुनालाई खुसी पारेरै भनेजस्तो आम्दानी गर्न सकिने सन्देश पनि यिनले दिएका छन्।

यतिबेला पर्यटकीय स्थलका धेरै पाहुना घर÷होटल÷गेस्ट हाउस नेपाली पर्यटकले भरिएका देखिन्छन्। होटलवाला तथा पाहुना घरवालाहरू पनि विदेशीभन्दा नेपाली पर्यटक आएकामा खुसी देखिन्छन्। केही समयअघिसम्म विदेशीलाई मात्र पर्यटक ठानिन्थ्यो। उनीहरूले बढी पैसा खर्च गर्ने र बढ्ता मोममोलाइ नगर्ने धारणा बनाइन्थ्यो। यही कारण सकेसम्म विदेशीलाई नै बस्न र खानमा प्राथमिकता दिइन्थ्यो। तर अहिले जमाना फेरिएको छ। खर्च विदेशीभन्दा नेपालीले धक फुकाएर गर्छन्। बार्गेनिङ नेपाली हैन, विदेशी पर्यटक गर्न थालेका छन्। 

सोझो अर्थमा भन्दा विदेशीभन्दा आन्तरिक पर्यटक बढी मनमौजी सावित हुँदै आएका छन्। त्यसैले पर्यटन व्यवसायले विदेशी र आन्तरिकका नाममा गर्ने विभेद पूर्णतः हटेको छ। यो अवस्थाले पनि आन्तरिक पर्यटक डुल्न, रमाइलो गर्न र अवलोकन गर्न पाखापखेरा धाउने क्रम बढ्न मुद्दत पुगेको छ। यो नेपालीको आर्थिक हैसियत बढेको संकेत पनि हो। आर्थिक हैसियत बढेपछि आफ्नै डाँडापाखा पनि राम्रा लाग्न थाल्छन्। आफ्नै लालीगुराँसको लालीमा थप सुन्दरता अनुभूत गर्न थाल्छन्।

हाम्रो पर्यटनलाई मौसमी होइन बाह्रै महिना चल्ने बनाउन सकिन्छ। सगरमाथा संसारमा अरू कसैको छैन, यसलाई मौसमी मात्र किन बनाउने। अरू मौसममा पनि टाढैबाट हेर्न र त्यस आसपास गतिविधि गर्न सक्ने बनाउन सकिन्छ। बसाइ दरमा एकरूपता, खानामा गुणस्तरीयता, यातायातका साधनमा नठगिने व्यवस्था, पैसा खर्चन सक्ने आधारमा हुने भेदभाव अन्त्य, साँच्चै आतिथ्यको अनुभूति जस्ता पक्षमा ध्यान दिने हो भने अब नेपालको पर्यटन क्षेत्रले समुद्रपारिका अनुहार कुर्नुपर्ने छैन। 

नेपालीकै पनि जीवनस्तर प्रत्येक वर्ष उकासिँदो छ। यही वर्गलाई मात्र खुसी दिन सक्ने हो भने पनि हाम्रो पर्यटन व्यवसाय अवश्य फस्टाउँछ। किनकि पर्यटन यस्तो क्षेत्र हो जहाँ खुसी बिक्छ, हासेको पनि पैसा पाइन्छ। आतिथेय व्यवसायमा लागेकाले यत्ति मात्र बुझ्न सके भने आन्तरिक पर्यटकले नै काँचुली फेरिदिन्छन् नेपाली पर्यटन क्षेत्रको। त्यसमाथि विदेशी पनि थपिएछन् भने त ‘सुनमा सुगन्ध’ हुन्छ।

प्रकाशित: ३ वैशाख २०८१ ०६:०८ सोमबार

Download Nagarik App
Download Nagarik App