वर्तमानका उद्विग्नताले विशेषगरी युवा पुस्तालाई नराम्ररी गाँजेको छ। विश्व खुसी प्रतिवेदन–२०२४ ले पनि नेपालमा युवाभन्दा प्रौढलाई खुसी पाएको छ। स्वाभाविकरूपमा प्रौढका निम्ति वर्तमान समय उपलब्धिमूलक छ। तिनले हिजो देखेको विकास र प्रगति आज उल्लेख्य लाग्न सक्छ। हिजो आफूले कैयन् दिन हिँडेका बाटा आज केही घण्टाको यात्रामा छिचोल्न सकिने भएका छन्। हिजो टुकीको उज्यालोमा पढेका मानिसले आज प्रौढ उमेरमा आइपुग्दा बिजुलीको उज्यालोमा आफूलाई पाउनु ठूलो उपलब्धि हो। हिजो घरमा जडित फोनको ठाउँमा आज खल्तीमा बोकेर हिँड्ने मोबाइल टेलिफोनबाट पनि तिनीहरूले एउटै जुनीमा ठूलो परिवर्तन महसुस गरेका छन्।
वर्तमानमा बाँचिरहेका युवाका निम्ति स्वाभाविक विकासले मात्र पुग्दैन। तिनले आफ्नो जीवनमा खुसीको खोजी गरिरहेका हुन्छन्। तिनलाई चाहिन्छ–राम्रो हुर्काइ, सिकाइ, कमाइ र बचाइ। हिजो सीमित सूचनामा बाँचेको समयभन्दा आज तीव्र सूचनाले अरू धेरै तनाव र उद्वेलन ल्याएको छ। आजका प्रत्येक युवा अरू देशका आफूसरहका मानिसले पाएको जस्तो सुविधाको अपेक्षा गर्छन्। मानव जीवनका निम्ति अत्यावश्यक शिक्षा, स्वास्थ्य, दैनिक जीवनयापनलाई सहज तुल्याउने वातावरण आदिमा तिनको ध्यान गइरहेको हुन्छ। सूचनाको आधिक्यताले स्वाभाविकरूपमा यस्तो उपलब्धि हासिल गर्ने छटपटी पनि हुन्छ। त्यसैले युवावयमा आराम हुँदैन। आराम गर्न नसक्ने अवस्थाबाटै तिनले आफूलाई अगाडि बढाउन कोसिस गर्ने हो।
विद्यालय शिक्षा पूरा गरी उच्च शिक्षा र व्यावहारिक जीवनमा प्रवेश गर्न खोजिरहेका युवा विद्यार्थीका केही सन्देशले पनि अहिलेको समयलाई बुझ्न मद्दत गरिरहेको छ। गत वर्ष भक्तपुरमा स्कुल छाड्दै गरेका एक विद्यार्थीको सर्टमा लेखिएको ‘खाडीमा भेटौँला’ भन्ने सन्देशले सबैलाई उद्विग्न बनाएको हो। देशभित्रै उद्योगधन्दा खुल्न नसक्दा आमनेपालीले कामको खोजीमा खाडी मुलुक रोज्नुपर्ने बाध्यात्मक अवस्था छ। सर्टमा लेखिएको त्यो सन्देशले प्रत्येक नेपालीको अहिलेको सुस्केरालाई प्रतिविम्बित गर्न सफल भएको हो। अहिले आएर एक विद्यार्थीको सर्टमा लेखिएको बिदाइ सन्देशले भने आशाको सञ्चार गरेको छ। ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०– सहसचिव’ को समयरेखाले धेरैलाई ‘कालो बादलमा चाँदीको घेरा’ देखाइदिएको छ।
तथापि, यो आफैँमा पर्याप्त छैन। युवासँग रोजगारीका निम्ति लोक सेवा आयोग परीक्षाको विकल्प छैन। लोक सेवा उत्तीर्ण गरी सरकारी वा सार्वजनिक सेवामा जान नचाहनेका निम्ति अन्य विकल्प मुलुकले दिन सकेको छैन। लाखौँ युवा श्रम बजारमा प्रवेश गर्न बर्सेनि तयार हुन्छन्। तिनका निम्ति रोजगारीका अनेकन क्षेत्र खुल्न सक्नुपर्छ। त्यसले मात्र आशाको सन्देश दिन सक्छ। मुलुकले जुन गतिमा विकास गरिरहेको छ, त्यसमा खासै ठूलो प्रयास चाहिँदैन। राज्यले गर्न नचाहे पनि स्वाभाविकरूपमा हुने काम भइरहन्छ। अहिले चाहिएको सकेसम्म धेरै काम गर्ने अवसर हो। त्यसका निम्ति दैनिक लक्ष्य राखेर देशले काम गर्नतिर लाग्नुपर्छ। यसरी काम गर्न थालेपछि बढीभन्दा बढी रोजगारीका अवसर सिर्जना हुन्छन्। त्यस्तो अवस्थामा युवाले रोजगारीका निम्ति विदेश जानुपर्दैन। देशमै उत्पादनमूलक काममा सरिक हुने अवसर पाउँछन्।
युवा उमेर भनेकै बेचैन अवस्था हो। अहिलेको कामले भविष्यमा आराम हुने हो। देश समृद्ध हुँदै गयो र यहीँ अवसर आउन थाले भने देशमै बस्ने चाहना हुन्छ। विदेशमा भएका पनि फेरि देश फर्किन थाल्छन्। अहिले देश छाडेर अध्ययन र कामका निम्ति गइरहेको अवस्थालाई पनि गलत ढंगले बुझ्नु आवश्यक छैन। यसले देशमा ज्ञान र स्रोत थपिँदै जाने हो। जति पनि मानिस विदेश गइरहेका छन्, तिनले देशमा सम्पत्ति कमाएर मात्र पठाएका छैनन्, ज्ञान र सिप पनि बोकेर फर्केका छन्। आजको यो छटपटी भोलिका निम्ति उपलब्धि हो। युवाको यो छटपटीलाई राज्य नेतृत्वले बेलैमा बुझेर आशा सञ्चार गर्नतिर लाग्नुको विकल्प छैन।
प्रकाशित: ९ चैत्र २०८० ०६:०६ शुक्रबार