७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

पर्यटकीय राजधानीको अर्थ

पर्यटन धेरै देशको आर्थिक मेरुदण्ड बन्ने गरेको छ। छिमेकी मुलुक भुटानको अर्थतन्त्रमा पर्यटनबाट हुने आर्जनको ठूलो भूमिका छ। अर्को छिमेकी चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा त प्रत्येक दिन त्यहाँका जनसंख्याभन्दा बढी पर्यटक हुने अनुमान गरिन्छ। यस्ता धेरै देश र ठाउँ छन्, जहाँ सांग्रिलाको खोजीमा मरिहत्ते हालिरहेका हुन्छन् पर्यटक। प्रकृतिका देनहरूको रसास्वादनमा लठ्ठ भइरहेका हुन्छन्।

पोखरा नेपालको यस्तै पर्यटकीय क्षेत्रमध्ये पर्ने ठाउँ हो। जहाँ प्रकृतिले नै यस्तो वरदान दिएको छ कि यहाँ पुगेपछि मानिस हर्षविभोर नभइ रहनै सक्दैन। तालतलैया, मनोरम पर्वत शृंखला, लुकेर बग्ने सेतीदेखि भीमकाय फाँट र आकर्षक भूबनावटले यहाँ पुग्ने जोकोहीलाई मोहित पार्ने हैसियत राख्छ। त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।

यही वास्तविकता महसुस गरेरै हुनुपर्छ भर्खरै सरकारले पोखरालाई ‘पर्यटनको राजधानी’ गरेको छ। निकै तामझामका साथ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका यस्तो घोषणापछि पोखराको चर्चा फेरि चुलिएको छ। यस्तो घोषणाले यहाँको भ्रमणलाई ‘ब्रान्डिङ’ गर्न सघाउ पुग्ने अपेक्षा व्यवसायीको मात्र नभई, सिंगै पोखराबासीको छ। हुन पनि घोषणाले एकातर्फ प्रचारप्रसार प्रशस्त पाउँछ भने अर्कोतर्फ राज्यका निकायबाट प्राथमिकता पनि बढी नै पाउँछ। त्यसैले पर्यटकीय राजधानी घोषणापछि पोखराको काँचुली फेरिने आधार प्रशस्त देखिन्छ।

व्यवसायी तथा प्रदेश सरकारसमेतको मागअनुसार पोखरा पर्यटकीय राजधानी त घोषणा भयो। तर घोषणा महत्त्वपूर्ण घटना भए पनि यसैका आधारमा मात्र त्यहाँको पर्यटन फस्टाउने भने हैन। यसका लागि सबैले आआफ्नो क्षेत्रबाट पहलकदमी लिनुपर्छ। जस्तो–बाटोघाटो स्तरीय र सफा हुनुपर्छ। ढलको व्यवस्था राम्रो बनाउनुपर्छ। मिचिएको ताल पुरानै अवस्थामा ल्याउने मात्र हैन, यसलाई चामत्कारिक बनाउन सकिन्छ। जसरी विकसित मुलुकले पानीमा प्रकाश मिसाएर होस् या ध्वनि समिश्रण गराएर, चौतर्फी उफारेर होस् या नाच्न लगाएर जादूमय बनाएका छन्। त्यसैलाई हेर्ने र आफूलाई थाम्न नसकेर उफ्रनेको जमात हजारौँ हैन, लाखौँमा हुने गरेको छ। त्यसैले हामीले पनि पोखराका ताल तथा पानीका स्रोतलाई पोखरी या कुलोका रूपमा मात्र नभई शृंगारपटार गरेर पर्यटकको मन लोभ्याउने आकारप्रकारमा ल्याउन सक्नुपर्छ।

होटल/गेस्टहाउस/क्याफे, पथप्रदर्शक, दोभाषेलगायत सेवाप्रदायक निकायले गर्ने व्यवहार र दिने सेवा पर्यटकका लागि अर्को महत्त्वपूर्ण पक्ष हो। एकैपटक धनी बन्न खोज्नेभन्दा एकपटक आएको पर्यटकलाई दर्जनौँ पटक आउँ आउँ पार्नु ‘आतिथ्य सेवा क्षेत्र’ को मुख्य खुबी हो। त्यसैले यहाँ आइपुग्ने एकजनाले सयौँजनालाई उक्त ठाउँ जान सिफारिस गर्न सक्नुपर्छ। यसो हुने र नहुनेचाहिँ धेरैजसो स्थानीय सेवाप्रदायकमा निर्भर हुन्छ। त्यसैले पोखराबासीले बिर्सनै नहुने कुरा भनेको पर्यटन पर्यटकलाई खुसी बेचेर मनग्गे आर्जन गर्न सकिने क्षेत्र हो। उनीहरूको सन्तुष्टिका लागि हरदम तल्लीन रहनु नै पर्यटन सफल हुने एक मात्र मुख्य आधार हो।

नेपाल उसै पनि प्रकृतिको सिंगो उपहार हो। त्यसमाथि पोखरालाई यही नेपालभित्रको ‘सुनमा सुगन्ध’ युक्त ठाउँ हो भन्न हिच्किचाउनु पर्दैन। यही महत्त्व बुझेर पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको हो। अब यो घोषणालाई ख्याल गर्दै विगतका कमीकमजोरी सच्याएर अघि बढ्ने प्रण सम्बन्धित सबैले आजैबाट गर्नुपर्छ। त्यसो हुन सके मात्र पर्यटनको राजधानी घोषणाले सार्थकता पाउनेछ। घोषणाको इज्जत पनि कायम रहनेछ। 

प्रकाशित: ८ चैत्र २०८० ०६:०६ बिहीबार

Download Nagarik App
Download Nagarik App