१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

दुर्दान्त दुर्घटना

सडक दुर्घटनालाई जति गम्भीरतापूर्वक लिनु पर्ने थियो, त्यसरी लिइएको छैन। सडक दुर्घटनाबाट भएको जनधनको क्षतिसम्बन्धी समाचार दिनहुँ सुन्नु परेको छ। सहरी र सुगम क्षेत्रमा सवारी ठोक्किएर र दुर्गम तथा पहाडी क्षेत्रमा भिरबाट खसेर हुने दुर्घटना अत्यन्तै बढेको छ। यस्तो भयावह अवस्थाबाट सुधार गर्न सरोकारवाला निकायको पर्याप्त ध्यान पुगेको छैन। सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यात्रुलगायतमा यसप्रति कम गम्भीरता भएको अनुभव छ।

पछिल्लोपटक पथलैया–हेटौँडा त्रिभुवन राजपथ, पथलैयादेखि पूर्व जाने पूर्व–पश्चिम महेन्द्र राजमार्ग र वीरगन्ज–कलैया–वरियारपुर हुलाकी सडकमा हुने गरेका सवारी दुर्घटना र तिनले गरेका मानवीय क्षति आङ नै सिरिङ्ग पार्नेखालका छन्। विगत सात महिनामा ६० जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाइसकेका छन्। जुन घटनालाई सामान्यरूपमा लिन सकिन्न। यसले सडक दुर्घटनाको भयावह तस्विर प्रस्तुत गरेको छ। वर्षमा कम्तिमा दुई हजार मानिसको सडक दुर्घटनाबाट मात्रै ज्यान जानु भनेको सुरक्षा मापदण्ड प्रयोग नगरेको लक्षण हो।

पछिल्लोपटक गत फागुन २२ गते मात्र जीतपुर सिमरा उपमहानगरपालिका–२२ मा पर्ने ३ नम्बर पुल भन्ने स्थानमा सवारी खोलामा खसेर दुर्घटना हुँदा २४ जना घाइते भएका थिए । यसअघि पनि यस्ता दुर्घटना नियमितरूपमा भइरहेका छन्। सवारी दुर्घटनामा घाइते भएकामध्ये थोरै मात्र निको हुने गरेका छन् भने निको भएका पनि धेरैजसो अपाङ्गताको शिकार हुने गरेका छन्। जसले बाँकी जीवन कष्टकर बनाउने गरेको छ।

सवारीचालकले मादक पदार्थ सेवन गरेर चलाउने, सिकारुले राजमार्गहरूमै जबर्जस्ती सवारी हाँक्ने, जान्दै नजानेकालाई पनि आर्थिक लाभका आधारमा चालक अनुमतिपत्र दिने, सडकका खाल्डाखुल्डी नपुर्ने, सवारी साधन अवधि पुगेका वा थोत्रा हुँदा पनि चलाउन नछाड्ने, ट्राफिकसम्बन्धी ज्ञान अभाव तथा नियमित अनुगमन र जाँच जस्ता विषयमा देखिएका कमजोरी सडक दुर्घटनाका मुख्य कारण हुने गरेका छन्। तर विडम्बना भन्नुपर्छ, दुर्घटनाका यी सामान्य कारण थाहा भए पनि सम्बन्धित निकायले खासै चासो देखाएको छैन। हैन भने कसरी यस्ता दुर्घटना दोहोरिइरहेका छन् त ? प्रश्न गम्भीर छ। सडकमा सञ्चालन हुने सवारीको नियमित जाँच र अनुगमन हुँदो हो त यस्तो अवस्था आउने थिएन।

कतिपय सन्दर्भमा ‘बढी आत्मविश्वास’ ले पनि काम गरेको छ। इन्जिनले तान्दै नतान्ने ठाउँमा पनि जबर्जस्ती लैजाने, बिरामी सवारी साधनलाई पनि सकभर काम गर्न लगाउने, नियमित जाँच नै नगर्ने, क्षमताभन्दा बढी अर्थात् चालकको सिटमा समेत यात्रु कोच्ने जस्ता कार्यले दुर्घटना बढाइरहेका छन्। त्यसैगरी नराम्रो बाटोमा पनि ढिपी गरेर अघि बढ्ने र राम्रो बाटोमा चाहिँ गति तीव्र पार्ने जस्ता कारण पनि यस्ता घटना कम हुन सकेका छैनन्। चाँडै हौसिने सवारी चालकका रूपमा बढी नै प्रवेश गरेका कारण पनि पछिल्लो पटकका दुर्घटना सहज बनेका हुन्।

मानिस एक त कालगतिले मर्छन् भने अर्को यस्तै दुर्घटना तथा विभिन्न रोगका कारण। कालगतिले मर्नेलाई बचाउन नसकिए पनि रोगका कारण र दुर्घटनाका कारण मर्नेलाई भने बचाउन सकिन्छ। जस्तो–बाटो राम्रो भयो भने, चालक संवेदनशील रहे भने, यात्रुले कुरा बुझे भने, सवारी धनीले चाँडै धनी हुने मोह त्यागे भने अनि ट्राफिक प्रहरीले कर्तव्य पालन राम्रोसँग गरे भने र नीति निर्माताहरूले राम्रो र उपयुक्त नीति बनाए भने मर्नै नपर्ने कारणबाट मर्नेहरूलाई बचाउन सकिन्छ। त्यसैगरी यही कारण हुने अन्य हानिलाई समेत न्यून गर्न सकिन्छ। तर हामीले विचार पुर्‍याउन नसकेको पक्ष भने यही हो।

दुर्घटना समाचारको विषय मात्र हैन। यो सरकारले र सुरक्षा निकायले तथ्यांक राख्दैमा जिम्मेवारी सकिने पक्ष पनि हैन। यो खासमा हुनै नहुने कुरा हो। त्यसैले दुर्घटना किन नियमितरूपमा भइरहेको छ भन्ने पत्ता लगाउन आवश्यक छ। त्यसका लागि सुझावलाई कार्यान्वयन तहमा उतार्नु उत्तिकै आवश्यक छ। यस्तो अवस्थाले मात्र सर्वसाधारणको ज्यान अनाहकमा जानबाट जोगाउन सकिन्छ भने आगामी दिन सतर्क तुल्याउनसमेत भूमिका निर्वाह हुन सक्छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०६:०८ सोमबार

Download Nagarik App
Download Nagarik App