४ पुस २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

विशृंखलित विश्वास

नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सकिएको छ। यसले गरेको सबै भन्दा ठूलो निर्णय गठबन्धनलाई निरन्तरता दिने हो। यसबाहेक वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध वैधानिकरूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्णरूपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्न जिम्मेवारीबोध गर्दै जस्ता अमूर्त कुरा समेटिएका छन्।

यसैबीच प्रमुख प्रतिपक्ष नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक पनि बिहीबार नै सकिएको छ। बैठकले गरेका मुख्य निर्णयमा सरकारको राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरू संकटग्रस्त बन्दै गएको, मुलुकको अर्थतन्त्र मन्दीमा फस्दै गएको, मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको उल्लेख छ। अर्कोतर्फ गएको माघ २८–२९ गते सकिएको माओवादीको केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको थियो। पार्टी इन्चार्जहरूले पार्टीप्रति आकर्षण बढेको ब्रिफिङ गरेका उक्त बैठकमा माआवादी पार्टी प्रवेशको क्रम बढेको भन्दै खुसियालीसमेत व्यक्त गरिएको थियो।

यसरी तीन साताबीच मुलकका मुख्य ३ दलको बैठकले गरेका निर्णयले अझै पनि जनतालाई छुने हदसम्म पुग्नै नसकेको देखाउँछ। आफ्ना पार्टी समर्थक र अझ त्यसैमा लागेर लाभ लिन सकेकालाई पन्छाएर हेर्दा यी ठूला दलको बैठक सर्वसाधारणका लागि न कुनै चासोको विषय बन्न सक्यो न त उनीहरूले गर्ने निर्णयका लागि उत्सुक नै। यसबाट प्रष्ट हुन्छ–दलहरूले आफूलाई जनताको आधारबाट धेरै टाढा राखेका छन्। जनताको जीविकासँग नजोडिएका दल आफैंमा असान्दर्भिक हुँदै जान्छन्।

तीनै दलले देखाएका चासो र व्यक्त गरेका चिन्ता मात्र सत्ता प्राप्तिसँग सम्बन्धित छन्। गठनबन्धनलाई अझ बलियो बनाएर लैजाने भन्नु यसैलाई साधन र साध्य दुबै ठान्नु हो। सत्ता साधन हो र यसबाट साध्यमा पुग्न कोसिस गर्नुपर्छ। त्यसैगरी मुख्य विपक्षीले सत्तासीनहरूको आलोचना मात्र गर्ने काम पनि सत्ताको लालचाद्वारा नै अभिप्रेरित छ। र, पार्टीप्रति आकर्षण बढेको अनि नवप्रवेशी थुप्रै आएका कुरा पनि बलियो भएको देखाएर सत्तासुख नछाड्ने दाउ नै हो। मुख्य दलहरू आफ्ना बैठकद्वारा मुलुकमा व्याप्त समस्याको निकास दिनुपर्ने अहं जिम्मेवारीबाट विमुख देखिएका छन्। बढ्दो भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान, बिचौलियाको हातबाट डुब्न लागेको मुलुकलाई उतार्नुपर्ने, हरितन्नम हुँदै गएको आर्थिक अवस्था कसरी सुधार्ने भन्ने जस्ता पक्षमा उनीहरूको मौनता रहस्यमय छ। यस्ता विषय प्राथमिकतामा नपर्नु भनेको उनीहरू समस्याबाट टाढिँदै जानु हो। एकातिर, जनता कराइरहेका छन् ऐया र आत्थोको स्थिति छ। अर्कोतिर, आय आर्जन गर्ने उपायतर्फ मुलुक जान सकेको छैन। यसको समाधान अहिलेको परम् आवश्यक पक्ष हो। दलहरू आममानिसका विश्वासका धरोहर हुन्। यस्ता दल यसमा आबद्ध वा समर्थकहरूको मात्र हुन सक्दैन। सबै दलमा आबद्ध नहुन पनि सक्छन्। तर पनि दलको नेतृत्वले सबैको हित हेर्नुपर्छ किनकि दल र अझ त्यसमा पनि ठूलो आकारका दल कुनै पनि बेला शासनसत्तामा जाने हैसियत राख्छन्। त्यसैले उनीहरू सर्वसाधारणका समस्याबाट बाहिर निस्कन पाउँदैनन्। नेपालको सन्दर्भ केलाउने हो भने दलहरूले बिर्सिएको मुख्य कुरा नै यही भएको छ जसले दल र आमजनताबीचको दूरी लम्ब्याउँदै लगेको छ।

दलका बैठक सबै जनताका लागि कौतुहलको विषय बन्नुपर्छ। उनीहरूले गर्ने निर्णय प्रत्येक नेपालीको चुलोसम्म पुग्ने हुनुपर्छ। विगत सरकार, वर्तमान सरकार वा भावी सरकारका रूपमा भूमिका रहने भएकाले उनीहरू आमजनताको दैलोबाहिर जानै सक्दैनन्। तर विडम्बना, मुख्य दलका बैठक यस्ता विषयमा अनभिज्ञ छन्। त्यसैले पनि आगामी दिनहरूमा दलका बैठक बस्दा र निर्णय गर्दा हामीप्रति करिब तीन करोड नेपालीले हेरिरहेका छन् भन्ने हेक्का राख्न सके सबैभन्दा बढी भलो उनीहरूकै हुने पक्का छ। जनतासँग नजोडिएका दलको कुनै भविष्य हुँदैन भन्नेमा हेक्का रहेन भने कालान्तरमा यस्ता अभ्यास निरर्थक सावित हुने छन्।  

प्रकाशित: १४ फाल्गुन २०८० ०५:५६ सोमबार

Download Nagarik App
Download Nagarik App