१२ असार २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

प्रजातन्त्र दिवसको शुभकामना!

आज फागुन ७। अर्थात् नेपालीले हरेक वर्ष ‘महान्’ सम्झने दिन। स्वाभाविक पनि हो किनकि आजभन्दा ७३ वर्षअघि अर्थात् २००७ फागुन ७ गते प्रजातन्त्र नआएको भए नेपाल अझै लामो समय जहानिया राणा शासनको पञ्जाबाट फुत्कन सक्दैनथ्यो। यसरी सीमित परिवारको बन्धनभित्रै रहनुपर्दा जनताले न आफ्नो अधिकारबारे आवाज उठाउन पाउँथे न त तिनको अभ्यास नै। त्यसैले यस्तो अवस्था सम्झँदा मात्र पनि कहाली लाग्छ यतिबेला।

एक सय चार वर्षसम्म शासनसत्ता चलाए राणाले। यस क्रममा उनीहरूले जनतालाई माथि उठ्न दिएनन् नै, आफ्नै दाजुभाइ, बाबुआमा, दाजुभाउजू, दिदीभिनाजुसमेत केही भनेनन्। सत्ता हत्याउन जस्तासुकै कर्तुत गर्न पनि अग्रसर भए। फलस्वरूप मुलुकमा स्थिरता कहिल्यै भएन। नेपाली जनता यसरी राणाहरूको सत्तास्वार्थको उन्मादको शिकार भए। प्रगति र अग्रगमन शून्य भयो।

जब २००७ सालमा राजनीतिकरूपले जागरुक र चेतनाका हिसाबले अग्रसर नेपालीको सुझबुझपूर्ण आन्दोलनका कारण प्रजातन्त्र आयो, त्यसपछि बल्ल जनताले खुला आकासमुनि विचरण गर्ने अवसर पाए। चुनावको महत्त्व थाहा पाउने, आफ्ना लागि प्रतिनिधि छनोटको अभ्यास गर्ने, लेखपढको अवसर सदुपयोग गर्ने तथा राजनीतिक गतिविधिमा संलग्न हुने बाटो खुल्यो। सोझो अर्थमा भन्दा त्यसपछि पिँजरामुक्त सुँगा भए जनता, खुला आकाशमा स्वतन्त्रतवरले विचरण गर्न सक्ने।

२००७ सालपछि पनि नेपाली आकासमा कालो बादल निकै मडारिए। जनताले सोचेको सुख, समृद्धि र प्रगति त्यसपछि पनि प्राप्त भएन।  

२०१७ सालमा राजा महेन्द्रले फेरि एकदलीय शासन व्यवस्था लादे। त्यसउता मात्र हैन, त्यसयता पनि मुलुकले राजनीतिक स्थिरता महसुस गर्न पाएन। जब सबै नीतिको माउनीति राजनीति अस्थिर भएपछि प्रगतिका अन्य मार्ग मात्र सकुशल रहने सम्भावनै भएन। यसरी प्रजातन्त्रपछि पनि नेपालको राजनीति सोझो रेखामा हिँड्न पाएन।

तर पनि २००७ फागुन ७ मा भएको घटनाप्रति गर्व गर्नुपर्ने कारणचाहिँ यो थियो कि त्यो दिन प्रजातन्त्र आएको थियो। त्यसपछिका दिनहरूमा प्रजातन्त्रप्रति जे/जस्तो षडयन्त्र भए, ती अवैध थिए, दीर्घकालीन थिएनन्। र, सूर्यलाई हत्केलाले ढाक्ने प्रयास मात्र थिए। यस्तो अवस्थाको प्रजातान्त्रिक विश्वले पनि समर्थन गर्दैनथ्यो। त्यसैले २००७ पछिको अवस्था त्यसअघिको जस्तो ‘अन्धकारमय’ पक्कै थिएन। यो दिनले त्यही अन्धकार हटाएकै कारण आजसम्म पनि सबैले सम्झने दिन हुन पुगेको छ।

मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै यतिखेर गणतन्त्रको अभ्यासमा छ। राजनीतिक दल र यिनका नेताले निर्वाह गरेको भूमिकाप्रति अहिले पनि आमजनता खुसी छैनन्। चरम भ्रष्टाचार, लोकतन्त्रसमेत दिक्क मान्नेखालका गातिविधि र घिनलाग्दा कर्तुतहरूका कारण आमजनता निराश छन्। मुलुक जुन गतिमा अघि बढ्नुपर्ने हो, त्यो हुन नसकेकामा नेताहरूकै खराब भूमिकाको हात रहेकामा पनि शंका छैन। तर पनि हामीले बुझ्नुपर्ने कुराचाहिँ के हो भने अहिले जनतामा देखिएको आमनिराशा प्रजातन्त्रप्रति हैन, दलहरूप्रति पनि हैन, तिनका केही नेताप्रति हो जो वर्षौँदेखि पद ओगटेर बसेका छन् तर देश र जनताका लागि केही गर्दैनन्, केही गर्छन् त आफन्त र स्वार्थका लागि मात्र।

खलपात्रहरूले मुलुक बर्बाद पारेका छन्। तिनले आम नेपाली जनताको स्वतन्त्रताको आवाजलाई सुन्न सकेका छैनन्। तिनले खोजेको स्वतन्त्रता राजनीतिक मात्र होइन आर्थिक पनि हो। आर्थिक उपलब्धि नभएको प्रजातन्त्र खोक्रो सावित हुन्छ। आफन्तवाद र चाकरी प्रथालाई मलजल गर्दा देशरूपी रथ अघि बढ्न सकेको छैन। त्यसैले यस्ता पक्षमा ध्यान पुग्न सक्नुपर्छ। प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि आम नागरिकको स्वतन्त्रताको प्रत्याभूत भएको र आर्थिक उन्नति भएको सुरम्य समाज सिर्जना यसको उद्देश्य हो। केही कमजोरीका कारण गणतन्त्रात्मक व्यवस्थामा चुनाव जितेर राजतन्त्र फर्काउन आन्दोलन गर्नेहरू जुर्मुराएका छन्। संघीयता प्रणालीको सदुपयोग गर्दै सभासद भएकाहरू संघीयता खारेजीको माग गरिरहेका छन्। के प्रजातन्त्र नभएको भए यस्तो गर्न सम्भव थियो? के यो राणा शासनकालमा गर्न सकिन्थ्यो? यो राजाको सक्रिय शासनमा गर्न सम्भव थियो? कदापि सम्भव थिएन। त्यसैले सोझै भन्न सकिन्छ कि प्रजातन्त्रकै विरोध गर्न पनि प्रजातन्त्र अपरिहार्य छ। २००७ सालको फागुन ७ गते यही कारण महान् छ। यो आफैमा स्मरणीय छ। आफैँमाथि प्रहार हुने अवस्थासम्म सहन सक्ने एउटै मात्र अवस्था प्रजातन्त्र हो। त्यसैले यस्तो विशाल छातीयुक्त व्यवस्था प्राप्त भएको दिनको शुभकामना सम्पूर्ण नेपालीजनलाई। स्वतन्त्र आकासमा विचरण गर्ने आम नागरिकको चाहना कहिल्यै अवरुद्ध नहोस्। 

प्रकाशित: ७ फाल्गुन २०८० ०५:२८ सोमबार

Download Nagarik App
Download Nagarik App