यतिबेला विश्वमा एकातिर विकासको चरमोत्कर्ष अनुभव गर्ने एउटा जमात छ। अर्कोतर्फ एक छाक खानका लागि संघर्षरत वर्ग छ। कोही अन्तरिक्षमा बसोबास व्यवस्था मिलाउन आतुर छन् तर अर्को त्यस्तो वर्ग यहीँ छ जो बाँदरसमेत लड्ने भिरपाखोमा भए पनि स्वामित्व भए हुन्थ्यो भनेर अरण्यरोदन गर्न बाध्य छ। त्यसैगरी एकातिर घरमा पालिएको कुकुरका लागि दैनिक मासु अर्डर गर्छन् भने अर्को वर्गचाहिँ सडकपेटीमा राखिएको फोहोर फ्याँक्ने कन्टेनरमा केही खानेकुरा छ कि भनेर भित्रै छिरेर खोजिरहेका देखिन्छन्।
यी यस्ता वास्तविकता हुन् जसले विश्वमा प्रत्येक दिन हुनेखाने र हुँदा खानेबीचको खाडल झन् झन् बढाइरहेका छन्। सम्पन्न र विपन्नको सूचक झन् तन्काइरहेका छन्। धनी र गरिबको धन सम्पत्तिबीचको अन्तर अझै फराकिलो पार्दै लगेका छन्। यसरी हेर्दा पृथ्वीको प्रकृतिप्रदत्त स्रोतको दोहन र उपयोगसमेत सीमित वर्गले मात्र गरिरहेका छन्। जसको असर भने धेरैलाई पर्न गएको छ।
यही वास्तविकताबीच नेपालमा बिहीबारदेखि विश्व सामाजिक मञ्च सुरु भएको छ। चार दिनसम्म चल्ने यो सम्मेलनमा विश्वभरबाट नागरिक समाजका त्यस्ता प्रतिनिधि सहभागी छन् जसले माथि उल्लिखित विषयविरुद्ध आवाज उठाउँदै आएका छन्। प्रकृतिले नै उपलब्ध गराएको होस् वा राज्यको, स्रोत र साधनको एकलौटी दोहनविरुद्ध सक्रिय हुँदै आएका छन्। र, यस्ता अन्यायविरुद्ध गोलबद्ध हुन संसारका प्रभावित जनसाधारणलाई आह्वान गर्दै आएका छन्।
यसरी काठमाडौँबाट सन्देश प्रवाह गर्ने क्रममा मञ्चले (१) आर्थिक असमानता र आर्थिक न्याय, (२) श्रम, प्रवास, जबर्जस्ती श्रम, दासत्व र बेचबिखन, (३) जातीय, काम र वंशमा आधारित भेदभाव, जाति, जातीय, आदिवासी जनजाति, छुवाछूत, भेदभाव, र सबै प्रकारका भेदभाव, (४) लिङ्ग, लैङ्गिकता र पहिचान र लिङ्ग आधारित हिंसा, (५) भूमि, कृषि, कृषि पारिस्थितिकी, खाद्य सम्प्रभुता, ऊर्जा र प्राकृतिक स्रोतहरू, (६) शान्ति, द्वन्द्व, युद्ध, पेसा, बिस्थापन र सुरक्षा, (७) शिक्षा, कला र संस्कृति, (८) सञ्चार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता), (९) लोकतन्त्र, मानव अधिकार, अधिनायकवाद, कानुन र न्याय, (१०) स्वास्थ्य, सामाजिक सुरक्षा र समानता, (११) जलवायु न्याय, पारिस्थितिकी, आवास, र दिगो विकास, (१२) महिला, बालबालिका, युवा, किशोर/किशोरी, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक आन्दोलन नागरिक अन्तरिक्ष र विश्व सामाजिक फोरमको भविष्य र (१३) सामाजिक आन्दोलनहरू, नागरिक ठाउँ र विश्व सामाजिक फोरमको भविष्य विषयमा छलफल गर्नेछ। यी यस्ता विषय हुन् जसले कुनै न कुनै रूपमा हामी नेपालीलाई पनि सताइरहेकै छ।
पहिलो कुरा त असमानता, विभेद र अन्यायविरुद्ध आवाज उठाउने यस्तो महत्त्वपूर्ण मञ्चको कार्यक्रम नेपालमा हुनु नै नेपालीका लागि गौरवको विषय हो। जसले एकातिर अन्यायविरुद्ध आवाज उठाउने ठाउँका रूपमा विश्वले नेपाललाई चिन्नेछ भने अर्कोतर्फ कार्यक्रममा आउनेहरूका कारण कारोबार हुने आर्थिक पक्षले पनि धेरथोर फाइदा नै पु¥याउनेछ किनकि यो कार्यक्रममा विश्वभरका करिब ५० हजार जना सहभागी हुने आयोजकको अनुमान छ। त्यसैगरी नेपालले यति ठूलो र महत्त्वपूर्ण कार्यक्रम सफलपूर्वक आयोजना गरेर आफूलाई सक्षम सावित गर्ने अवसर पनि हो यो। साथै घरेलु मैदानमा आयोजना हुने कार्यक्रमको सदुपयोग गर्दै आफ्ना आवाज अरूभन्दा बढी उजागर गर्ने मौका पनि हो। त्यसैले यस्तो कार्यक्रमलाई सम्पन्न बनाउन सरकार, गैरसरकारी क्षेत्र सबैले हातेमालो गर्नुपर्छ।
पहिलो पटक ब्राजिलको पोर्तो एलेग्रेमा सुरु भएको यो मञ्च काठमाडौँमा आइपुग्दा १६औँ संस्करणमा उक्लेको छ। यस अर्थमा यो ऐतिहासिक मञ्च पनि हो। नेपालले आफ्नै आँगनमा भएको यस्तो मञ्चको सदुपयोग गर्दै लिन सकिने जति फाइदा लिन चुक्नु हुन्न। किनकि भनाइ नै छ– बगेको खोला फर्कँदैन, आएको मौका पर्खँदैन।
प्रकाशित: ४ फाल्गुन २०८० ०६:०६ शुक्रबार