५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

सवारी दुर्घटना: कहिल्यै नसिकिएको पाठ

कुनै पनि दुर्घटना अपवादबाहेक आकस्मिक हुन्छ। त्यसैले यसलाई पूर्ण रूपमा टार्न सकिन्न तर न्यून गर्न भने अवश्य सकिन्छ। अझ ससाना कुरामा विचार पुर्‍याउने हो भने यस्ता दुर्घटनाबाट हुने क्षतिको आकार घटाउन सकिन्छ। विशेष गरेर सवारी दुर्घटना बढी हुने नेपाल जस्तो देशमा सामान्य पक्षहरूमा ध्यान दिँदा मात्र पनि यसबाट हुने हानि कम गर्न सकिन्छ। तर दुर्घटना र यसबाट हुने क्षति बढिरहेका दृश्यले हामी यस्तो अवसरबाट चुकेको देखिन्छ।

भर्खरै मात्र नेपालीहरूको महान् चाड दसैँ सकिएको छ। दसैँ धेरै नेपालीका लागि सुखद रहे पनि तिनका लागि भने दशा बन्यो जसका आफन्त सवारी दुर्घटनामा परेर मृत्यु भयो। तिनका लागि कहिल्यै नबिर्सने दिनका रूपमा गणना भयो जो यही कारण अंगभंग हुन पुगे। अनि तिनका लागि कहिल्यै नबिर्सने दिनका रूपमा परिणत भयो जो यही कारण उपचारका नाममा मृत्युसँग निरन्तर संघर्ष गर्न बाध्य छन्।

आइतबारकै मात्र कुरा गर्ने हो भने पनि एमाले नेताहरू सवार गाडी काभ्रेमा दुर्घटना हुँदा ११ जना घाइते भए। उता पोखराको छोरेपाटनबाट स्तुप हुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जना भन्दा बढी घाइते भए। प्रहरीका अनुसार दसैँ अवधिमा मात्र २० वटा सवारी दुर्घटनामा २८ जना घाइते भए भने सवारी साधन एकापसमा ठक्कर खाएका ५१ वटा घटना भए। यस्ता घटनाबाट ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो। यसबाट पनि चाडपर्वमा दुर्घटना घट्नुको सट्टा बढेको प्रष्ट हुन्छ।

हुन त प्रहरीले चाडवाड विशेष सुरक्षा योजना नै तयार पारी निगरानी बढाएको बताएको थियो। पहिलो कुरा त यो काठमाडौँ उपत्यकाको ३ जिल्लामा केन्द्रित थियो भने दोस्रो कुरा यो सवारीसँग मात्र सम्बन्धित थिएन। तेस्रो कुरा चाडपर्वका बेला धेरै सुरक्षाकर्मी स्वयं बिदामा बस्ने भएकाले वा ड्युटीमा रहेका पनि पर्व मनाउनमा केन्द्रित हुने भएकाले यस्तो योजना प्रभावकारी हुन सकेन। जसलाई यस अवधिमा भएका घटनाको संख्याले नै प्रमाणित गरेको छ।

गति तीव्र नगर्ने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, खाल्डाखुल्डी पुर्ने जस्ता कार्यमा जोड नदिइ ट्राफिक प्रहरी अगाडि देखिएकै भरमा सवारी दुर्घटना कम हुने ठान्नु नै भूल थियो। त्यसैगरी चाडपर्व भन्दैमा क्षमता भन्दा बढी यात्रु राखेर गरिने यात्राले पनि दुर्घटना निम्त्याएको सहजै बुझ्न सकिन्छ। पोखरामा भएको माइक्रो बस दुर्घटनामा २५ जना भन्दा बढी घाइते हुनुले देखाउँछ कि यसमा क्षमता भन्दा निकै बढी यात्रु राखिएका थिए। तर यस्ता विषयमा पनि कसैले ध्यान नदिनु दुर्घटनाका लागि अर्को उपयुक्त कारण थियो।

चाडपर्वका बेला आवतजावत बढी हुनु स्वाभाविक हो तर यहीबेलामा सवारी साधनको संख्या बढाउनुपर्ने वा आउने/जाने पटक वृद्धि गर्नुपर्नेमा एकैपटकमा धेरै यात्रु बोक्ने र धेरै पैसा कमाउने प्रवृत्ति देखिन्छ। यात्रु पनि न आफू चढेको सवारी साधनको क्षमताबारे सोधखोज गर्छन् न त यसको अवस्थाकै बारेमा। मात्र आफू गन्तव्यमा पुग्न पाए हुने एक मात्र उद्देश्य रहने गरेको छ उनीहरूको। जुन दुर्घटनाको अर्को मुख्य कारण हो।

दुर्घटनाका कारण सवारी धनी, ट्राफिक प्रहरी र अधिकांश यात्रुलाई पक्कै थाहा छ। के गरेमा दुर्घटनाबाट बच्ने सम्भावना बढी हुन्छ भन्ने हेक्का पनि छ। यसअघि भएका दुर्घटना र तिनका कारण भएका हानिको ज्ञान पनि ताजै छ तर पनि दुर्घटना भइरहेका छन्। किन? किनकि हामीले विगतका दुर्घटनाबाट पाठ सिकेनौँ। अझै पनि नसिक्ने हो भने सवारी दुर्घटनाकै कारण भइरहने क्षतिबाट हामीलाई कसैले बचाउन सक्ने छैन। 

प्रकाशित: १२ कार्तिक २०८० २३:३८ आइतबार

Download Nagarik App
Download Nagarik App