१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

विप्रेषणका व्यथा

एक महिनामै एक खर्ब रुपियाँ विप्रेषण भित्रिएको खबर सुखद भए पनि यसका भित्री कथा उत्साहपूर्ण छैनन्। अर्थतन्त्रको बाह्य पक्ष मात्र सुधार भएर पुग्दैन। आन्तरिक पक्ष सुधारमा पनि उत्तिकै ध्यान पुग्नु आवश्यक हुन्छ। आन्तरिक पक्ष सुधार नभई अर्थतन्त्र चलायमान हुँदैन। यसले आम मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न सक्दैन। विप्रेषणले अर्थतन्त्रमा सुधार भएको चर्चा गर्न जति सहज छ, त्यति नै असहज अवस्था यसले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव छ। विप्रेषणले कुल गार्हस्थ्य उत्पादनको करिब २३ प्रतिशत हिस्सा ओगटेको छ।

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या अघिल्लो आव भन्दा ४०.३ प्रतिशतले वृद्धि भएको थियो। गत आवमा नयाँ चार लाख ९७ हजार ७०४ विदेश गएका थिए। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर दुई लाख ७७ हजार २७२ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका थिए। यसरी हेर्दा गत आवमा मात्र वैदेशिक रोजगारीमा ७ लाख ७४ हजार ९७६ जना गएका छन्। यो कामका लागि जाने संख्या हो।

आर्थिक वर्ष २०७९/८० मा अध्ययनका लागि एक लाख १० हजार २१७ जना विदेश गएका छन्। यसरी हेर्दा रोजगारी र अध्ययनका लागि वैधानिकरूपमा आठ लाख ८५ हजार १ सय ८३ जना विदेशिएका छन्। अध्ययनका लागि विदेश गए पनि तीमध्ये अधिकांशको उद्देश्य कमाउने नै हो। योबाहेक भिजिट भिसामा विदेश गएर उतै लुक्नेको संख्या पनि उल्लेख्य छ। रोजगारी, अध्ययन, गैरकानुनीरूपमा काममा जानेले पनि विप्रेषण पठाएका छन्। विगतमा कोभिडका कारण रोजगारी गुमाएका, ओभरटाइम काम गर्न नपाएकाले पनि अहिले काम गर्न पाएका छन्। गत आर्थिक वर्ष विदेशमा रोजगारीमा जानेको संख्या वृद्धि भएकाले त्यसको प्रभाव चालु आवको पहिलो महिनामा नै देखिएर रेमिटेन्स आप्रवाहमा वृद्धि भएको हो। आर्थिक वर्ष २०७९/८० मा १२ सय २० अर्ब ५६ करोड रुपियाँ विप्रेषण आप्रवाह भएको थियो।

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा अर्थतन्त्रको बाह्य पक्ष उत्साहप्रद् देखिएको हो। साउन एक महिनामा मात्र १ खर्ब १६ अर्ब रुपियाँ विप्रेषण थपिएको छ। विप्रेषणबाट अर्थतन्त्र चलायमान गराउनु अल्पकालीन उपचार मात्र हो। दीर्घकालीनरूपमा यसबाट मुलुक बाहिरिने उपाय खोजी गर्नुपर्छ। पहिलो, मुलुकभित्रै युवा शक्तिलाई रोजगारी दिन सकिएको छैन। त्यसले उनीहरू घरपरिवार छाडेर परदेशमा काम गर्न जानुपरेको छ। दोस्रो, गन्तव्य मुलुकमा काम पाउन छाडेका दिन देशमै कामको खोजी हुनुपर्छ। यसबाट मात्र युवा शक्ति यहीँ अडिन सक्छन्।

यतिबेला देशबाट दुई किसिमको प्रवासन भइरहेको छ। पहिलोथरी छन्, जो पश्चिमा मुलुक अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया आदिमा अध्ययन गर्न र उतै जीवन व्यवस्थापन गर्न गइरहेका छन्। दोस्रोथरी छन्, जो देशभित्र अवसर नपाएपछि अरब र अन्यत्र अदक्ष कामदार खोज्ने मुलुकमा पुगेर श्रम बेचिरहेका छन्। तिनलाई घरभित्रै काम दिन सकेको भए सम्भवतः यहीँ कृषि लगायतका क्षेत्रको उत्पादकत्व बढ्थ्यो। विप्रेषणबाट आउने रकमको ठूलो हिस्सा उपभोगमै खर्च हुन्छ। देशका खेतखलियान र गरा यतिबेला बाँझै छन्। विप्रेषणबाट आएको रकमले अनाज किनेर खानुपर्ने अवस्था छ।

विप्रेषणका लागि युवा जनशक्ति विदेश जाँदा पारिवारिक विघटन पनि उत्तिकै भइरहेको छ। बढ्दो सम्बन्ध विच्छेद दरकाे कारण पनि यही हो। विदेशमा कमाउने जाने हुँदा घरपरिवार छोड्नुपर्ने र अव्यक्त पीडाले तिनीहरू तड्पिनुपर्ने अवस्था छ। त्यसैले विप्रेषणबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको चर्चा जति भइरहेको छ, यसको सामाजिक प्रभावबारे खुलेर छलफल गर्नुपर्ने अवस्था पनि आइसकेको छ। विप्रेषणबाटै देश चलाइन्छ भन्ने सोचमा परिवर्तन आवश्यक भइसकेको छ।  

प्रकाशित: २ आश्विन २०८० ००:०० मंगलबार

Download Nagarik App
Download Nagarik App