वायु प्रदूषण मानव जीवनको सरदर आयु निर्धारण गर्ने सबै भन्दा ठूलो कारक बनेको छ। बुधबार सार्वजनिक ‘एयर क्वालिटी लाइफ इन्डेक्स-२०२३’ नामक अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार विश्व स्वास्थ्य संगठनको वायु प्रदूषणको मापदण्ड परिपालन भएमा विश्वको जनसंख्याको सरदर आयु २.३ वर्ष बढ्ने र समग्रमा हिसाब गर्दा कुल १७ अर्ब ८० करोड मानव आयु बचत हुने देखिएको छ। वायुमण्डलको प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा त्यो भन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ का रूपमा परिभाषित गरिँदा विश्वभर यी सूक्ष्म कणका कारण हुने मृत्युको संख्या धूमपानले गर्ने कुल मृत्यु संख्या बराबर छ भने मद्यपानबाट हुने मृत्युको संख्या भन्दा तीन गुणा, सडक दुर्घटनाबाट हुने मृत्युभन्दा ५ गुणा र एचआइभी–एड्सका कारण हुने कुल मृत्युको भन्दा ७ गुणा बढी रहेको छ। यस हिसाबले वायु प्रदूषणले जनस्वास्थ्य र मानिसको सरदर आयुमा गंभीर प्रभाव पारेको प्रष्ट हुन्छ।
अन्तर्राष्ट्रिय प्रतिवेदनले वायु प्रदूषणले नेपालीलाई पारेको प्रभाव पनि उल्लेख गरेको छ। जसअनुसार नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ। तराईका ९ जिल्लामा त झन् सरदर आयु ६.८ वर्षले घट्न सक्ने प्रतिवेदनको आकलन छ। विश्व स्वास्थ्य संगठनले तोकेको पिएम २.५ को मापदण्डका आधारमा नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा नामांकित छ। यसैगरी नेपालीको सरदर आयु छोट्याउनमा जिम्मेवार प्रमुख ५ कारणमा प्रदूषण पहिलो बनेको छ। वायु प्रदूषणले नेपालीको सरदरमा ४.६ वर्ष आयु कटौती गरेको छ भने त्यसपछि दोस्रोमा हृदय रोगका कारण ३.५ वर्ष, तेस्रोमा श्वासप्रश्वाससम्बन्धी रोगका कारण ३.२ वर्ष, चौथोमा धूमपानले २.८ वर्ष र पाँचौँमा उच्च रक्त चापले १.७ वर्ष आयु घटाएको त्यसमा उल्लेख छ। सबैभन्दा चिन्ताको विषय त नेपाली वर्षभरि नै प्रदूषित हावामा श्वासप्रश्वास गर्न बाध्य भएको प्रतिवेदनले औल्याएको छ।
स्टेट अफ ग्लोबल एयर २०२० प्रतिवेदनअनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका रहेको अध्ययनले देखाएका छन्।
जनस्वास्थ्यमा पर्ने बोझका हिसाबले प्रदूषणको ठूलो जोखिम र चुनौती हुँदाहुँदै पनि किन यसलाई सम्बोधन गर्न सकिएको छैन भन्ने विषय टड्कारो बनेको छ। यो समग्र परिस्थितिमा अबको बाटो के हुने र यो चुनौतीलाई सम्बोधन गर्न के/कस्ता प्रयास गर्ने भन्ने विषय महत्वपूर्ण बनेको छ। यो समस्या समाधानमा प्रदूषणका प्रमुख कारक के हुन र यसलाई हटाउन र न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने हो।
नेपालमा विशेषगरी डिजेलमा आधारित सवारी साधनले गर्ने उत्सर्जन, वन डढेलोबाट निस्कने धुवाँ, इँटा कारखानाले गर्ने धुवाँ उत्सर्जन, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ। यसैगरी उत्तरी भारतीय राज्यमा ठूलो मात्रामा कृषि अवशेष जलाउँदा हुने प्रदूषण नेपालमा समेत आउने मानिएको छ।
यी कारकलाई सम्बोधन गर्न केही नीतिगत प्रयास पनि भएका छन् तर तिनको कार्यान्वयन अत्यन्त कमजोर छ। सीमाबाहिरबाट आउने प्रदूषणमा हाम्रो प्रत्यक्ष भूमिका नहोला तर घरभित्रैबाट हुने प्रदूषण नियन्त्रणमा हाम्रो प्रयास सशक्त हुनुपर्छ। सवारी साधनको नियमित मर्मत संभार, युरो–६ मापदण्ड कार्यान्वयन, विद्युतीय साधनलाई प्रोत्साहन जस्ता कार्यले उत्सर्जनमा कटौती गर्न सकिन्छ। खुला रूपमा फोहोर जलाउन नदिन तथा कृषि अवशेषलाई जथाभावी नबाल्न जनचेतना पनि आवश्यक छ। समग्रमा यो चुनौतीसँग जुध्न राज्यका साथै सम्पूर्ण जनताको सहकार्य उत्तिकै जरुरी छ।
प्रकाशित: १५ भाद्र २०८० ००:२३ शुक्रबार