१५ असार २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

बढ्दो आपराधिक गतिविधि

काठमाडौँस्थित सरस्वतीनगरकी निरा आचार्यको हत्या अभियुक्तका रूपमा प्रहरीले झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरेको छ। आइतबार प्रहरीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार अहिलेसम्म हत्यामा विनोद मात्र संलग्न देखिएका छन्। तर अनुसन्धान जारी नै रहेकाले थप रहस्य खुल्ने सम्भावना जीवितै छ। निराको हत्या वैशाख ७ गते भएको थियो।

काठमाडौँ नेपालकै सबै भन्दा अग्रणी महानगरपालिका मात्र होइन, मुलुकको सङ्घीय राजधानीसमेत हो। त्यसैले यहाँ विभिन्न पूर्वाधारका साथै सुरक्षा स्थिति पनि मुलुकका अन्य भूभागका तुलनामा मजबुत रहेको विश्वास गरिन्छ। देशका कुनाकाप्चाबाट समेत विभिन्न दुःख पीडा सहेर भए पनि यही साँघुरो ठाउँमा बस्न मन पराउनुका विभिन्न कारणमध्ये यही गतिलो सुरक्षा व्यवस्था पनि एक हो।  

तर निराको दिनदहाडै, त्यो पनि आफ्नै पसलभित्र भएको हत्याले राजधानीको सुरक्षा व्यवस्था सोचे जति मजबुत नभएको देखाएको छ। एउटा कुखुरो मार्न त केही समय लाग्छ, कराउँदा केही मानिस जम्मा हुन्छन् र फलानोले आज कुखुरा काट्यो भन्ने वरपर-छरछिमेकलाई समेत थाहा हुन्छ। तर यहाँ त पसलभित्र मान्छे मारिएको छ। त्यो पनि शरीरका विभिन्न ठाउँमा छुरा रोपेर। तर पनि कसैले पत्तो पाउँदैन। पसल भनेकै यस्तो सार्वजनिक ठाउँ हो, जहाँ मानिस आउने-जाने क्रम भइरहन्छ। तर पनि यस्तो ठाउँमा कुनै व्यक्ति सजिलै मान्छेको ज्यानै लिन सफल हुन्छ भने यस्तो अवस्थालाई सुरक्षाका दृष्टिले उचित मान्नै सकिन्न।

हुन त जहिले पनि अपराध गर्नेहरू कानुन-नियम र सुरक्षा संयन्त्र भन्दा एक पाइला अगाडि हुने गर्छन्। पछिल्लो समय नेपालमा पनि व्यावसायिक अपराधीहरू देखिन थालेका छन्। जसले विशेषगरी छिमेकी मुलुक भारतका अपराधीहरूले अपनाउने तौरतरिका पछ्याइरहेका देखिन्छन्। यही कारण सुरक्षा निकाय तथा अनुसन्धानकर्मीहरूलाई समेत अपराधी पत्ता लगाउन हम्मेहम्मे पर्ने गरेको छ। निरा हत्या प्रकरणमा पनि अभियुक्तले ‘सुझबुझपूर्ण अपराध’ गरेको देखिन्छ। प्रहरीलाई पत्ता लगाउनै करिब ३ साता लाग्नुले पनि यो पुष्टि हुन्छ।

पसलमै रहेको चक्कुले प्रहार गर्नु, घटना गराइसकेपछि लुगासमेत फेर्न भ्याउनु र आरामले टेम्पुसमेत चढेर भाग्न भ्याउनु एक अपराधीका लागि सहज होला तर सुरक्षाका दृष्टिले पक्कै अप्ठेरो विषय हो। तर पनि यी सबै चरण पार गरेर ऊ सकुशल आफ्नो बाटो लाग्न सक्नु भनेको सुरक्षा निकायलाई थप सक्रिय बन्नु भन्ने पाठ हो। अर्थात आपराधिक क्रियाकलापमा लाग्नेहरूले समयानुसार आफूलाई अद्यावधिक गरिरहने भएकाले अनुसन्धान र सुरक्षामा संलग्नहरूले पनि आफूहरूलाई सोहीअनुरूप ढाल्नुपर्छ भन्ने सुझावसमेत हो।  

हुन त जहिले पनि अपराध गर्नेहरू कानुन-नियम र सुरक्षा संयन्त्र भन्दा एक पाइला अगाडि हुने गर्छन्। पछिल्लो समय नेपालमा पनि व्यावसायिक अपराधीहरू देखिन थालेका छन्। जसले विशेषगरी छिमेकी मुलुक भारतका अपराधीहरूले अपनाउने तौरतरिका पछ्याइरहेका देखिन्छन्। 

नेपालमा पछिल्लो पटक विभत्स अपराधका घट्ना बढ्दो छ। यसका विभिन्न कारण हुन सक्छन्। रिसइबी, प्रतिशोध साँध्ने, जग्गा-घरलगायत सम्पत्ति, मादक पदार्थ सेवन, जातीय भेदभाव, यौन इच्छा जस्ता कारणले हत्याका घटना वृद्धि भइरहेका छन्। यस्ता विभिन्न कारणमध्ये एउटा हो– गरिबी। प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यो घटना धनको लालसाबाट हुन गएको देखिन्छ। पसलमा बसेकी निराले लगाएको एउटा सिक्रीका लागि हत्या भएको प्रारम्भिक अनुमान छ। त्यसबाहेक पसलमै रहेको १२-१३ सय रुपियाँ पनि उसले लगेको देखिन्छ।

यो सिक्री सुन पसलमा राखेर पैसा निकालिहाल्नु, त्यो पैसामध्येबाट मोबाइल किनिहाल्नु जस्ता घटनाले पनि अभियुक्त पैसा अभावबाट सिकिस्त भएको देखिन्छ। क्यासिनोमा बाउन्सरका रूपमा कार्यरत हुँदा जुवाको लत लागेको र त्यसले ऋणीसमेत बनाएको खबर पनि बाहिरिएका छन्। त्यसैगरी घरमा श्रीमती हुँदाहुँदै बाहिरी महिलासँग सम्बन्ध रहेकाले त्यसले पनि थप पैसा चाहिने अवस्था सिर्जना भएको र तनाव बढेको पनि देखिन्छ। यी सबै कुरा अनुसन्धान पूरा भएपछि प्रष्ट होलान् नै, साथै नयाँ नयाँ रहस्य पनि खुल्दै जालान्, तर एउटा साँचो कुराचाहिँ यो हो कि गरिबीले पनि मानिसलाई अपराध कर्ममा लाग्न उत्प्रेरित गर्छ। निराको घटनामा पनि यही पक्ष हाबी भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ।

अपराध कर्मको संलग्नतालाई कुनै पनि हिसाबले स्वीकार्नै सकिन्न। अझ हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई त जति दुत्कारे पनि कम हुन्छ। तर पनि कुनै समस्या न्यूनीकरणका लागि सोच्ने हो भने सबै भन्दा पहिले त्यसको जरासम्म पुग्नुपर्ने हुन्छ। त्यसैले यस्ता घटना आइन्दा नहोउन् भन्ने चाहने हो भने सबै भन्दा पहिले मुलुकका विशेषगरी युवा वर्गमा देखिएको नैराश्यपन घटाउनुपर्छ। त्यसको मुख्य कारण बेरोजगारी समस्या समाधानमा ध्यान दिन आवश्यक छ। युवाहरू बेरोजगार हुँदा आर्थिक समस्या निम्तन्छ। फुर्सद हुन्छ। आर्थिक समस्या र फुर्सद आपराधिक योजना निर्माणका लागि ऊर्वर भूमि हुन्। त्यसैले यस्तो अवस्था अन्त्यका लागि मुलुकको सत्ता सम्हालेकाले सोच्नुपर्छ।

बाहिरी अर्थात अपरिचित मानिसको अस्वाभाविक हेलमेल र ओहोरदोहोरप्रति निगरानी, सिसी टिभीको सार्वजनिक मात्र नभई व्यक्तिगत प्रयोजनमा समेत थप लगानी, बेरोजगारी अन्त्यका लागि सार्थक सरकारी प्रयास, अस्वाभाविक महत्वाकाङ्क्षाबाट मुक्ति, सुरक्षाकर्मीलाई समयानुसार थप तालिम र उपकरण उपलब्ध गराउने जस्ता कार्यले यस्ता आपराधिक घटना न्यूनीकरणमा सघाउँछन्। त्यसबाहेक कानुनी सजायलाई समेत समयानुकूल संशोधन गर्ने र यसका प्रावधानबारे व्यापक चेतना जारी गर्ने हो भने पनि आपराधिक क्रियाकलाप गरिहाल्नबाट मानिस हच्कने हुन सक्छ। 

प्रकाशित: १९ वैशाख २०८० ००:२२ मंगलबार

Download Nagarik App
Download Nagarik App