coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

असल लोकतान्त्रिक अभ्यास

लोकतन्त्र सुसञ्चालनका लागि संस्कार पनि लोकतान्त्रिक हुनुपर्छ। अभ्यासले नै लोकतन्त्रलाई बलियो बनाउँछ। असल अभ्यासबाटै लोकतान्त्रिक आदर्श स्थापित हुन्छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा राजनीतिक व्यक्तिबाट प्रदर्शित व्यवहारले लोकतन्त्रका आधारभूत आदर्शलाई प्रवद्र्धन गर्न नसकेको महसुस भएको छ। विशेषगरी निर्वाचनमा आफूले मत पाउँदा जनताको जय/जयकार गर्ने र नपाउँदा धाँधली भएको आरोप लगाउने प्रवृत्ति देखिएको छ। केही वरिष्ठ नेताहरूमै यस किसिमको व्यवहार देखिएको छ। आममतदाता कसैको पक्ष वा विपक्षमा हुन सक्छन्। मतदाताले आफूलाई विजयी गराइरहून् भन्ने हो भने आफ्नो व्यवहार पनि त्यत्तिकै असल हुनुपर्छ।  

निर्वाचनमा सहभागी भइसकेपछि परिणाम प्रतिकूल भए पनि स्वीकार गर्न सक्नुपर्छ। अन्यथा, आफूलाई अनुकूल हुँदा त्यो महान् कार्य हुने र नहुँदा धाँधली हुने जस्ता टिप्पणीले सम्बन्धित राजनीतिक व्यक्तिको इज्जत हुन सक्दैन। आममतदाताले पनि यस्ता नेताको मूल्यांकन गरिरहेका हुन्छन्। २०३६ सालमा तत्कालीन पञ्चायत व्यवस्थाले धाँधली गरेर बहुदललाई जिताएको थियो। त्यसमा धाँधली भए पनि बिपी कोइरालाले परिणाम स्वीकार गरेका थिए। त्यसले  राजनेताको परिचय दिन्छ। खेलमा सहभागी भइसकेपछि त्यसको परिणाम जस्तोसुकै अवस्थामा स्वीकार गर्नुले नेताको उचाइ बढाउँछ।  

अहिले सम्पन्न निर्वाचनमा केही विवादित ठाउँबाहेक अन्यत्र स्वच्छ र निष्पक्ष ढंगले मतदान भएको छ। केही घटनालाई लिएर सबै ठाउँमा त्यही भयो भन्ने छैन। हामीले अपनाएको अहिलेको प्रणालीमा धाँधली गरिहाल्ने अवस्था धेरै छैन। अन्यथा, बहालवाला गृहमन्त्री बालकृष्ण खाँड आफैँ पराजित हुने थिएनन्। सामान्यतः गृहमन्त्री पराजित हुँदैनन्, बरु विभिन्न हिसाबले मतदानमा प्रभावित गर्न सक्छन् भन्ने मान्यता राखिन्छ। तर अहिलेको हाम्रो निर्वाचन प्रणालीलाई अनुगमन गर्ने धेरै निकाय छन्। त्यति मात्र होइन, सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थितिबेगर निर्वाचनसम्बन्धी काम गर्न सकिँदैन।  

मत परिणामलाई यथारूपमा स्वीकार गर्ने मात्र होइन, आफू प्रतिकूल परिणाम आउँदा देखाउनुपर्ने व्यवहार पनि उत्तिकै आवश्यक छ। विशेषगरी बहालवाला मन्त्री पराजित हुँदा राजीनामा गरेर आफूलाई अलग गर्नुपर्ने व्यवहार पनि लोकतान्त्रिक अभ्यास हो। अहिले राजीनामा नगरे पनि अर्को सरकार गठन हुने बेलामा स्वतः जाने हो। त्यसैले केही दिनको पाहुनाले किन राजीनामा गर्ने भन्ने लाग्न सक्छ। जति दिन भए पनि राजीनामा गर्दा सम्बन्धित मन्त्रीकै इज्जत बढ्ने हो। त्यति मात्र होइन, आफूलाई जनमतले अस्वीकार गरेको हुँदा त्यसको सम्मानका निम्ति पनि राजीनामा आवश्यक हुन्छ। नेपाली कांग्रेसको महाधिवेशनका बेला आन्तरिक प्रतिस्पर्धामा पराजित भएका डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा गरेको घटना ताजै छ। वास्तवमा उनले यो दलको निर्वाचन मात्र हो किन राजीनामा गर्ने भनेर बस्न सक्ने अवस्था थियो। तर नैतिकताका आधारमा देखाइने यस्ता व्यवहारले समग्रमा लोकतन्त्रप्रति विश्वास बढाउँछ। लोकतन्त्रका नेता सिद्धान्तनिष्ठ हुन्छन् भन्ने पनि देखाउँछ।  

अहिले आएको मत परिणाम मुलुकका प्रमुख दलहरूका निम्ति त्यति धेरै उत्साहजनक देखिएको छैन। आफूले लोकतन्त्रका निम्ति संघर्ष गरेको र नयाँ आउने दल त्यत्तिकै आएका हुन् भन्ने भाष्य निर्माण गर्नु पनि आवश्यक छैन। आममतदाताले विभिन्न प्रयोग गरिरहन्छन्। ती प्रयोगमा आफूलाई उम्दा सावित गर्न पनि दलहरू र तिनका नेताले लोकतान्त्रिक चरित्र देखाउनुपर्छ। अन्यथा, आममतदातालाई तिनका व्यवहारले झनै चिढ्याउँछ। आममतदाताले अहिले अस्वीकार गरेका छन् भने अर्को पटक जसरी पनि मन जित्ने गरी भूमिका निर्वाह गर्न खोज्नु लोकतान्त्रिक हो। अन्यथा, नयाँ आएका दल वा यसका नेताको उपस्थितिलाई अर्थहीन ठान्दा अन्त्यमा आफैँ असान्दर्भिक हुने खतरा रहन्छ।  

निर्वाचन हरेक पाँच वर्षमा आउने अभ्यास हो। बितेका पाँच वर्षमा दलहरूले गरेका भूमिकाको आलोकमा आगामी समयका निम्ति तिनले निर्वाचित हुन पाउने हो। विशेषगरी सहरी जनसंख्याको ठूलो हिस्साका रूपमा रहेका मध्यमवर्गीय मानिसले दलसँगको सान्निध्यका आधारमा भन्दा प्रभावशाली उम्मेदवार हेरेर मत दिने प्रवृत्ति बढ्दै गरेको अहिलेको मत परिणामले देखाएको छ। यस्तो स्थितिमा सम्बन्धित दलहरूले प्राप्त गरेको मतका आधारमा आफूलाई सुधार गर्दै जानुपर्ने अवस्था छ। उच्च लोकतान्त्रिक चरित्र देखाउँदै आगामी दिनमा गरिने सुधार कार्यले तिनको मात्र हित गर्दैन, त्यसले लोकतन्त्रकै उचाइ बढाउँछ।  

लोकतन्त्रको सुन्दर पक्ष भनेको आममतदाताले दिएको अभिमतका आधारमा शासन सञ्चालन गर्नु हो। उच्च लोकतान्त्रिक चरित्र देखाउने उम्मेदवारप्रति आममतदाताको विश्वास देखिन्छ। यसपटक छनोटमा परेका राजनीतिक व्यक्तिहरूप्रति मतदाताको कुनै न कुनै आकर्षण छ। त्यो आकर्षणलाई विकर्षणमा परिवर्तन हुन नदिन लोकतान्त्रिक चरित्र निर्माणमा ध्यान पुग्नु आवश्यक छ। जति उच्च लोकतान्त्रिक संस्कार हुन्छ, त्यति नै अहिलेको व्यवस्था सफल हुँदै जान्छ। त्यसले आमनागरिकको हितमा काम गर्न सक्ने हुन्छ। लोकतन्त्र आफैँले केही गर्न सक्दैन, यसका कर्ताहरूको भूमिकाले मात्र यो जीवन्त हुन्छ। यसलाई कमजोर बनाउने वा बलियो ? त्यो भने सम्बन्धित व्यक्तिको भूमिकामा निर्भर गर्छ। यसैकारण लोकतन्त्रका नेताहरू आफ्नो व्यवहारमा बढ्ता ध्यान दिन्छन्। लोकतान्त्रिक चरित्र भएन भने जतिसुकै राम्रो व्यवस्था भए पनि चल्न सक्दैन।

प्रकाशित: १३ मंसिर २०७९ ००:११ मंगलबार

Download Nagarik App
Download Nagarik App