द ब्रिज इन्टरनेसनल (टिबिआई) ले रिटर्नी इन्नोभेटर्स फर नेपाल (आरआइएन) कार्यक्रम सञ्चालन गर्दै कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ। यो ‘के -हामी’ परियोजना नेपाल-कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) को सहयोगमा सञ्चालन भएको हो।
एक वर्ष लामो उद्यमशीलता शिक्षा यात्रा सम्पन्न गरेर कोरियाबाट फर्किएका १० जना नेपाली युवाहरूले आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्दै व्यापार पिच प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन्।
ती सहभागीहरूले आफ्ना व्यावसायिक अवधारणा र आगामी योजनासमेत सार्वजनिक गरेका थिए। जसमा कोरियामा सिकेका सिप प्रयोग गरी नेपालमा व्यवसाय सुरु गरेका सफलताको कथा सुनाउनेमा बनमाला कृषि केन्द्रका सञ्चालक ईश्वर बनमाला पनि थिए।
परम्परागत कृषि व्यवसायलाई आधुनिक मोड दिँदै बनमाला कृषि केन्द्रले आफ्नो उत्पादन र बजार विस्तारलाई तीव्र पार्दै आएको छ।
मुख्य गरी कृषि फार्मले परम्परागत रूपमा उत्पादन गर्दै आएको मखमली, सयपत्री फूल तथा गोलभेँडा खेतीलाई नयाँ व्यावसायिक संरचनामा रूपान्तरण गरेको उद्यमी ईश्वर बताउँछन्।
उनका अनुसार ताजा उत्पादनहरू अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्दै आएको छ। साथै स्थानीय हाटबजार कार्यक्रमहरूमा सहभागिता मार्फत उपभोक्तासमक्ष प्रत्यक्ष पहुँच बनाएको छ। जसले किसान र ग्राहकबिचको दूरी घटाउँदै सहज बजार उपलब्ध गराएको उनले बताए।
आगामी योजनामा मूल्य अभिवृद्धि भएका उत्पादन–जस्तै टमाटर–सस लगायतका प्रशोधित कृषि सामग्री उत्पादन गर्ने लक्ष्य केन्द्रले राखेको छ। यसका लागि आवश्यक तालिम तथा प्रविधिगत क्षमतामा सुधार गर्ने प्रक्रिया भइरहेको उनी बताउँछन्।
‘बढ्दो बजार माग र गुणस्तरीय उत्पादनलाई ध्यानमा राखेको छ,’ कोरिया र नेपाल दुवैबाट तालिम लिएका उद्यमी ईश्वरले भने, ‘रिटर्नी इन्नोभेटर्स फर नेपाल कार्यक्रमबाट प्राप्त तालिम र व्यावसायिक सिपले मेरो व्यवसाय विस्तारमा ठुलो भूमिका खेलेको छ।’
उनका अनुसार रिटर्नी इन्नोभेटर्स फर नेपाल कार्यक्रमबाट प्राप्त आधुनिक व्यावसायिक अभ्यास, बजार अध्ययन, दस्तावेजीकरण र रणनीति निर्माणका सिपहरूले व्यवसायलाई अझ मदत पुगेको छ।
‘बजारको माग पूरा गरेसँगै उत्पादनको गुणस्तर सुनिश्चित गर्नु, लागत -मूल्य व्यवस्थापन, ग्राहकसँगको बलियो सम्बन्ध, प्रविधि र नवप्रवर्तन अपनाउनु नै व्यवसाय दिगो हुनु हो’, उनले भने।
फूल खेतीलाई आधुनिक रूप दिँदै उनले ११ रोपनी जग्गामा मखमली, सयपत्री लगाएका छन्। साथै टनेल र खुला दुवै फार्ममा उत्पादन गर्दै आएका उनले किसानहरूबाट समेत उत्पादन संकलन गर्छन्।
व्यवसाय विस्तारका लागि उनले थप पाँच रोपनी जग्गामा सयपत्रीको व्यावसायिक खेती थप गर्ने तयारी गरेका छन्। ‘यी सबै कदमहरूले फूल खेती र तरकारी खेती दुवैलाई प्रभावकारी रूपमा विस्तार गर्न मदत गर्नेछ,’ उनले भने।
ईश्वरले विदेशमा कार्यरत र नेपाल फर्किएर उद्यम सुरु गर्न चाहने श्रमिकलाई आफ्नो व्यवसाय रुचि, सिप र क्षमतासँग मेल खाने क्षेत्रमा नै सुरु गर्न सुझाव दिएका छन्। ‘अरूको व्यवसाय नक्कल गरेर होइन, सानै होस् तर आफूले बुझेर गर्न सकिने व्यवसायबाट सुरु गर्नुपर्छ। बजारले के चाहन्छ, ग्राहकले कसरी मूल्यांकन गर्छ, पहिले अध्ययन गर्नुपर्छ,’ उनी भन्छन्।
सावधानीपूर्वक योजना, बजार अध्ययन र आत्मविश्वास नै सफल उद्यमशीलताका मुख्य आधार हुने उनले बताए।
उनी जस्ता अरू उद्यमीहरूले पनि रिर्टनी इनोभेटर फर नेपाल प्रतियोगितामा भाग लिएका थिए।
उक्त प्रतियोगिताबाट उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गर्नुका साथै ऋणसमेत प्रदान गरिनेछ। कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा कोरियाबाट फर्किएका १० जना रिटर्नीहरूबीच व्यापार प्रतियोगिता आयोजना गरिएको थियो। ती १० जनाले नै रिटर्नी इनोभेटर फर नेपाल अन्तर्गत उद्यमशीलता शिक्षा पूरा गरेर अन्तिम चरणमा पुगेका थिए। जसमा प्रारम्भिक चरण (स्टार्ट ट्र्याक) अन्तर्गत उद्यमी ईश्वर बनमाला द्वितीय भएका थिए। उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन्।
प्रतियोगितामा वृद्धि चरण (ग्रोथ ट्र्याक) अन्तर्गत तारा थापा प्रथम भएका थिए। उनले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाएका थिए। त्यस्तै रविलाल पन्थ द्वितीय भए। खेमबहादुर कार्की तृतीय भएका थिए। उनीहरूले क्रमशः तीन लाख र दुई लाख रुपैयाँ पुरस्कार पाएका छन्।
त्यस्तै प्रारम्भिक चरण (स्टार्ट ट्रयाक) अन्तर्गत जनकलाल तामाङ प्रथम भएका थिए। उनले तीन लाख रुपैयाँ पुरस्कार पाए। ईश्वर बनमाला द्वितीय र फुलमाया तामाङ तृतीय भएका थिए। उनीहरूले क्रमशः दुई लाख र एक लाख रुपैयाँ पुरस्कार पाएका हुन्।
कोरियाबाट फर्केका ६ जना रिटर्नी उद्यमीले आफ्नो व्यावसायिक पिचमा नगद पुरस्कार प्राप्त गरेका छन्। नेपालमा ग्रोथ ट्र्याक र स्टार्टअपमा उद्यमशील क्षमता निर्माण तालिम पूरा गर्ने २० जनालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
यो कार्यक्रमले कोरियाबाट फर्किएकाहरूलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ। उनीहरूलाई आप्रवासी कामदारबाट सफल उद्यमीको रूपमा रूपान्तरण गर्न सशक्त बनाउँदै नेपालको आर्थिक विकासमा योगदान पुर्याउनु प्रमुख उद्देश्य रहेको जानकारी ब्रिज इन्टरनेसनलका सिइओ जिनसोल ह्वाङले दिए।
कोइका कोरियाको सरकारी निकाय हो जसले अन्तर्राष्ट्रिय विकासको लागि अनुदान सहायता र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। कोइकाले सन् २०२२ देखि कोरियाबाट फर्केकाहरूको उद्यमशीलताको सपनालाई वास्तविकतामा परिणत गर्न विभिन्न काम गर्दै आएको छ।
उक्त कार्यक्रमको उद्देश्य विशेष गरी हाल कोरियामा कार्यरत नेपाली श्रमिकको उद्यमशील क्षमता अभिवृद्धि र फर्किएपछि उनीहरूको व्यावसायिक योजनामा सहजीकरण गर्ने हो।
प्रकाशित: २८ मंसिर २०८२ १०:४५ आइतबार





