जुम्लामा पछिल्लो समय महिला उद्यमशीलताको सशक्त उदाहरणहरू देखिन थालेका छन्। सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ र अवसरको अभावका बीच पनि यहाँका महिलाहरूले स्थानीय उत्पादन र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको बाटो समातेका छन्।
तातोपानी गाउँपालिका–२ डागीबाडकी ६७ वर्षीया अमृता रावल अर्गानिक जुम्ली जौँको सातु उत्पादनमा व्यस्त छन्। तीन वर्षअघि ‘उत्पादक सिर्जनशील कुटानी, पिसानी पेलानी उद्योग’ दर्ता गरी व्यवसाय सुरु गरेकी उनले ‘अर्गानिक खाऔँ, स्वस्थ रहौँ’ भन्ने सन्देशसहित स्थानीय उत्पादन प्रवर्द्धन गरिरहेकी छन्। आफ्नै खेतबारीमा उत्पादन भएको जौँ अपुग भएपछि उनले छिमेकी गाउँबाट खरिद गरी प्रशोधन गर्दै आएकी छन्, जसले अन्य किसानलाई पनि बजार सुनिश्चित गरेको छ।
रावलको आम्दानी क्रमशः बढ्दो छ। पहिलो वर्ष ८० हजार रुपैयाँ आम्दानी गरेकी उनले दोस्रो वर्षमा एक लाख ३० हजार रुपैयाँ कमाइन्। चालु आर्थिक वर्षमा पनि सोही हाराहारीको कारोबार भइसकेको छ भने वार्षिक रूपमा दुई लाख ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको छ। दसैं–तिहार र रारा घुम्न आउने पर्यटक बढ्दा सातुको माग अझै उच्च हुने उनी बताउँछिन्। उनका उत्पादन जुम्ला बजारका अर्गानिक पसल र कोसेली घरमार्फत बिक्री हुँदै आएका छन्। ‘बजारको समस्या छैन, उत्पादन भएजति बिक्री हुन्छ,’ रावल भन्छिन्।
यस्तै, चन्दननाथ नगरपालिका–५ की ४७ वर्षीया सखी कठायत ‘लक्की आलु चिप्स तथा अचार नमकिन उद्योग’ सञ्चालन गर्दै अचार, नमकिन र आलु चिप्स उत्पादनमार्फत आफ्नो पहिचान बनाएकी छन्। ‘अचार दिदी’का रूपमा परिचित सखीका उत्पादनमा कुखुराको मासुको अचार, स्याउ, टिमुर र जडिबुटी अचार प्रमुख छन्।
चार वर्षअघि सुरु गरेको व्यवसायबाट उनले गत वर्ष करिब तीन लाख रुपैयाँको अचार, ६० हजार रुपैयाँको नमकिन र ३० हजार रुपैयाँको आलु चिप्स बिक्री गरिन्। चालु आर्थिक वर्षमा अहिलेसम्म एक लाख ८० हजार रुपैयाँको कारोबार भइसकेको छ। उनका उत्पादन जुम्लासँगै काठमाडौं, नेपालगञ्ज र सुर्खेतसम्म पुग्न थालेका छन्। ‘स्थानीय स्वाद र शुद्धताले नै बजार विस्तार भएको हो,’ उनी भन्छिन्।
चन्दननाथ नगरपालिका–६ छिना गाउँकी २८ वर्षीया लक्ष्मी थापाले पनि आफ्नै सीपबाट उद्यम सुरु गरेकी छन्। ‘देविदान आलुचिप्स उद्योग’ सञ्चालन गर्दै उनले युट्युबमार्फत सीप सिकेर व्यवसाय थालेकी हुन्। आलु चिप्स र विभिन्न अचार उत्पादन गर्दै मासिक १६ देखि २० हजार रुपैयाँ आम्दानी गर्दै आएकी उनले वार्षिक करिब दुई लाख ९० हजार रुपैयाँ कमाइ गरिरहेकी छन्।
उनका अनुसार उत्पादनको माग उच्च भए पनि आवश्यक मात्रामा उत्पादन गर्न चुनौती छ। सात जनाको परिवारको खर्च धान्न सहज भएको उनी बताउँछिन्। उनले उत्पादन गर्ने आलु चिप्स १५, ३० र ५० रुपैयाँका प्याकेटमा बिक्री हुन्छ भने मासुको अचार आधा केजी बट्टा एक हजार रुपैयाँमा बिक्री हुन्छ। मुला–गाजरको अचार प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ। १२ कक्षा उत्तीर्ण गरेकी थापाले विगत वर्षहरूमा वार्षिक १ लाख ७० हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।
उता, चन्दननाथ नगरपालिका–५ कालेखोलीकी ३२ वर्षीया रविना बुढा ‘सन्देश एन्ड जनेस पाउरोटी उद्योग’ सञ्चालन गर्दै सफल उद्यमीका रूपमा स्थापित भएकी छन्। पातारासी गाउँपालिका–३ हुरीमहरी गाउँकी उनी आफैं अटोरिक्सा चलाएर पाउरोटी, क्रिमरोल र चाउमिन बजारमा वितरण गर्छिन्।
पाँच वर्षअघि सुरु गरेको उद्योगबाट उनले वार्षिक करिब १० लाख रुपैयाँ बचत गर्ने गरेको बताउँछिन्। ‘लगन र परिवारको साथ भए असम्भव केही हुँदैन,’ उनी भन्छिन्। उनका उत्पादनमध्ये पाउरोटी, ब्रेड र क्रिमरोल प्रतिकेजी ५० रुपैयाँ तथा चाउमिन प्रतिकेजी १२० रुपैयाँमा बिक्री हुँदै आएको छ।
पति डिलबहादुरको सहयोगमा उद्योग सञ्चालन गरिरहेकी रविनाले ६ लाख ५० हजार रुपैयाँमा अटो खरिद गरेकी थिइन् र अहिले त्यसको लगानी उठाइसकेको बताउँछिन्। कक्षा १० सम्म अध्ययन गरेकी उनी बिहानै उत्पादन लिएर पसल–पसल पुग्छिन्।
जुम्लाका यी महिलाहरूले सीमित स्रोतका बाबजुद स्थानीय उत्पादन र सीपको सदुपयोग गर्दै आत्मनिर्भरता मात्र होइन, अन्यका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
प्रकाशित: २१ वैशाख २०८३ १६:०३ सोमबार





