सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दीपुरमा व्यावसायिक तरकारी खेती विस्तार भएसँगै गाउँको स्वरूप फेरिन थालेको छ। बागमती प्रदेश सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेती सुरु भएपछि स्थानीय किसानको आम्दानी बढ्न थालेको हो।
जनजाति समुदायको बाहुल्य रहेको बन्दीपुरमा अहिले दुई सयभन्दा बढी टनेल निर्माण भएका छन्। ती टनेलमा किसानले गोलभेडा, काक्रा, काउलीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। केही वर्षअघिसम्म परम्परागत खेतीमा निर्भर किसान अहिले व्यावसायिक तरकारी उत्पादनतर्फ आकर्षित भएका छन्।
बागमती प्रदेश सरकारअन्तर्गतको कृषि विकास कार्यालय सिन्धुली, सुनकोसी गाउँपालिका र स्थानीय किसानको सहकार्यमा बन्दीपुरमा व्यावसायिक तरकारी खेती विस्तार गरिएको हो। प्रदेश सरकारले अघि सारेको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई गाउँपालिकाले समन्वय र सहकार्य गरेपछि बन्दीपुरमा टनेल निर्माण तथा व्यावसायिक खेतीले गति लिएको स्थानीय किसान बताउँछन्।
स्थानीय किसान मानबहादुर सुनुवारका अनुसार तरकारी बिक्रीका लागि बजार खोज्दै टाढा जानुपर्ने बाध्यता पनि घटेको छ। किसानले उत्पादन गरेको तरकारी खरिद गर्न व्यापारी खेतबारीमै पुग्न थालेका छन्। गाउँमै गोलभेडा प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म बिक्री हुने गरेको किसान बताउँछन्। काउलीलगायत अन्य तरकारीले पनि राम्रो मूल्य पाउन थालेपछि किसानको उत्साह बढेको छ।
‘लेकबेसी कृषक समूह’ गठन गरेर समूहका सदस्यले सामूहिक रूपमा तरकारी खेती गर्दै आएका छन्। समूहका अध्यक्ष दुर्गाबहादुर सुनुवारले टनेलमा खेती गरेपछि उत्पादन बढ्नुका साथै बजारको समस्या पनि कम भएको बताए।
‘पहिले खेतमा लगाएको उत्पादनको बजार कहाँ हुन्छ भन्ने चिन्ता हुन्थ्यो। अहिले तरकारी तयार भएपछि व्यापारीहरू आफैं खेतमै आउँछन्,’ उनले भने, ‘टनेलमा खेती गरेपछि उत्पादन पनि राम्रो भएको छ। परिवारको खर्च चलाउन सहज भएको छ र आम्दानीको नयाँ बाटो खुलेको छ।’
पर्याप्त सिँचाइ र मलको अभाव भने अझै समस्या रहेको उनले बताए। सिँचाइ र मलको सुविधा थप गर्न सके बन्दीपुरलाई तरकारी खेतीका लागि उर्वर क्षेत्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। यहाँका अधिकांश महिलाले पनि तरकारी खेतीबाट घरखर्च व्यवस्थापनसँगै बालबालिकाको पढाइमा सहयोग पुगेको बताउँछन्।
परम्परागत खेतीबाट हुने आम्दानीको तुलनामा टनेलमा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानको जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ।
‘पहिले आफ्नै घरका लागि मात्र खेतीजस्तो हुन्थ्यो। अहिले बिक्री गर्ने उद्देश्यले तरकारी लगाउँछौं,’ किसानहरू भन्छन्, ‘एकैपटक धेरै उत्पादन हुँदा व्यापारी गाउँमै आएर खरिद गर्छन्।’
सुनकोसी गाउँपालिकाले पनि बन्दीपुरलाई व्यावसायिक तरकारी उत्पादनको क्षेत्रका रूपमा विकास गर्ने योजना अघि बढाएको जनाएको छ। गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले किसानलाई प्रविधि, टनेल निर्माण, बीउ तथा उत्पादनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै जाने बताइन्।
‘करिब १० वर्षअघिसम्म बन्दीपुर निकै विकट थियो। हामीले बाटो र बिजुलीका लागि काम गर्यौं। अब व्यावसायिक तरकारी खेतीको हब बन्दीपुरलाई बनाउँछौं,’ उनले भनिन्।
स्थानीय तह र प्रदेश सरकारको सहयोग तथा किसानको सक्रियताका कारण बन्दीपुरमा तरकारी खेती विस्तार हुँदै गएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ।
कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीका अनुसार कृषि विकास कार्यालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र सम्बन्धित साझेदार कृषक समूहको २० प्रतिशत लगानीमा समुदायमा आधारित ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बन्दीपुरमा लागू भएको हो।
कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै प्रदेश सरकारले पाँच वर्षसम्म कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘बन्दीपुरमा १५ भन्दा बढी जातका तरकारीका बीउ वितरण गरी तरकारी उत्पादनमा कृषकलाई उत्प्रेरित गरेका छौं,’ अधिकारीले भने, ‘सुरुको वर्ष ५२ जना कृषकबाट सुरु भएको तरकारी खेतीमा कार्यक्रम कार्यान्वयनको तेस्रो वर्ष पुग्दा दुई सयभन्दा बढी कृषक आबद्ध भएका छन्।’
‘लेकबेसी कृषक समूह’ले एक आर्थिक वर्षमा एक करोड रुपैयाँ बराबरको तरकारी बन्दीपुरमै उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ।
प्रकाशित: २२ भाद्र २०८३ १४:२१ सोमबार





