व्यवसायी चन्द्र ढकालले रसुवाको बाढीले दिएको पीडासँगै कैलालीमा निर्माण भइरहेको जालपादेवी केबलकार आयोजनाले आशा जगाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत ढकालले १० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीले धेरैको घरपरिवार र सपना बगाएको भन्दै पीडितप्रति सहानुभूति व्यक्त गरेका छन्। कैलालीस्थित जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसन पुग्दा आफूमा आशा जागेको बताउँदै उनले प्रकृतिले परीक्षा लिए पनि त्यसकै काखमा निर्माण भइरहेका पूर्वाधारले नेपालको भविष्यप्रतिको विश्वास देखाउने बताएका हुन्।
उनले भनेका छन्, ‘आज जब देशका विभिन्न भागहरू प्राकृतिक विपत्तिबाट जुधिरहेका छन्, त्यही बेला यस्ता दीर्घकालीन पूर्वाधार निर्माणले हामीलाई सम्झाउँछन् कि नेपालको यात्रा रोकिनु हुँदैन। हामी दु:खमा उभिन्छौं, माया साट्छौं, र त्यही सहनशीलताका साथ भविष्य निर्माणमा पनि लाग्छौं।’
ढकालका अनुसार जालपादेवी केबलकार सुदूरपश्चिममा निजी क्षेत्रबाट भएको ठुलो लगानी हो। उनका अनुसार यो आयोजना सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने सांस्कृतिक तथा आर्थिक आधार बन्न सक्छ।
केबलकार चाँडै सञ्चालनमा आउने बताउँदै ढकालले यस्ता पर्यटन पूर्वाधार सातै प्रदेशमा विस्तार गर्न सके पर्यटकको बसाइ दोब्बर बनाउन सहयोग पुग्ने बताएका छन्। यसले नेपालीसँगै सीमापारिका भारतीय पर्यटकलाई पनि आकर्षित गर्ने उनको विश्वास छ।
हेर्नुस् उनको फेसबुक स्टाटस
आज मनमा दुई किसिमका भावना बोकेर लेखिरहेको छु। एकातिर प्रकृतिले दिएको पीडा र अर्कोतिर त्यही धर्तीमा उभिएको आशाको संरचना।
केही दिनअघि रसुवामा आएको बाढीले धेरैको घरपरिवार र सपना बगायो। त्यो पीडामा म पूरै नेपालसँगै उभिएको छु।
यसैबिच आज सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसन पुग्दा मनमा एक किसिमको आशा पनि जागृत भयो। प्रकृतिले कहिलेकाहीँ परीक्षा लिन्छ, तर त्यही प्रकृतिकै काखमा हामीले सिर्जना गरेको यो संरचना, यो प्रयास, नेपालको भविष्यप्रतिको हाम्रो अटुट विश्वासको प्रतीक बन्छ।
यो आयोजना सुदूरपश्चिममा सम्भवतः निजी क्षेत्रबाट भएको सबैभन्दा ठुलो लगानी हो। तर मेरो लागि यो केवल लगानीको आँकडा मात्र होइन, यो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा सांस्कृतिक र आर्थिक सङ्गमको सपना हो। एउटा यस्तो सङ्गम जसले भूगोलका सीमाहरू मेटेर समृद्धिको साझा बाटो कोर्नेछ।
आज जब देशका विभिन्न भागहरू प्राकृतिक विपत्तिबाट जुधिरहेका छन्, त्यही बेला यस्ता दीर्घकालीन पूर्वाधार निर्माणले हामीलाई सम्झाउँछन् कि नेपालको यात्रा रोकिनु हुँदैन। हामी दुःखमा उभिन्छौँ, माया साट्छौँ, र त्यही सहनशीलताका साथ भविष्य निर्माणमा पनि लाग्छौँ।
जालपादेवी केबलकार चाँडै सञ्चालनमा आउनेछ। यस्ता संरचना र पर्यटन पूर्वाधारहरूलाई कर्णाली, सुदूरपश्चिमसँगै नेपालका सातै प्रदेशमा विस्तार गर्न सकियो भने यसले अहिलेको पर्यटकको बसाई दोब्बर बनाउन पक्कै पनि सहयोगी भूमिका खेल्नेछ। यो आयोजना नेपाली पर्यटकका लागि मात्र नभई सीमापारिका भारतीय पर्यटकहरूका लागि समेत एउटा नयाँ आकर्षणको केन्द्र बन्ने विश्वास छ।
बाढीपीडित सम्पूर्ण परिवारप्रति संवेदना व्यक्त गर्दै, पुनर्निर्माणमा जुटेका सबैलाई हार्दिक धन्यवाद।
प्रकाशित: २८ भाद्र २०८३ १७:१९ आइतबार





