२५ कार्तिक २०८३ बुधबार
image/svg+xml
अर्थ

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

उक्त अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी अर्थात् ११३ प्रतिशत प्रगति हो ।

पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए ।

यस अवधिमा आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ सङ्कलनको लक्ष्य राखिएकोमा रु एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उहाँले जानकारी दिए ।

घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए ।

एक करोड ८१ लाख ९१ हजार रुपैयाँ लक्ष्य रहेको घर वहालकरमा एक करोड ३१ लाख ३८ हजार रुपैयाँ (७२ प्रतिशत) जम्मा भएको छ ।

त्यस्तै ब्याजकरतर्फ नौ करोड ८८ लाख ८२ हजार रुपैयाँ उठाउने लक्ष्य राखिए पनि रु चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए ।

मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए ।

५३ करोड ३२ लाख ९९ हजार रुपैयाँ मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भएको उनले बताए ।

अन्तःशुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए ।

छ करोड १७ लाख ४५ हजार रुपैयाँ लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् आठ करोड ८३ लाख २२ हजार रुपैयाँ संकलन भएको उनले बताए ।

अन्य करमा ६१ लाख ७६ हजार रुपैयाँ लक्ष्य तोकिएकामा दुई करोड ३७ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ ।

नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए ।

प्रकाशित: २५ कार्तिक २०८३ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App