सरकारले आगामी सन् २०३० सम्ममा नेपालको प्रतिव्यक्ति विद्युत खपत वार्षिक १५ सय किलोवाट घण्टा (युनिट) पुर्याउने लक्ष्य राखेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले वर्तमान अवस्थामा प्रतिव्यक्ति खपत अत्यन्तै न्यून रहेको उल्लेख गर्दै यस महत्वाकांक्षी लक्ष्यलाई पूरा गर्न स्वदेशमै आन्तरिक औद्योगिक खपत बढाउनुको विकल्प नभएको बताएका छन्।
नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै मन्त्री श्रेष्ठले हाल नेपालको प्रतिव्यक्ति ऊर्जा खपत ४०० देखि ४५० किलोवाट घण्टा मात्र रहेको जानकारी दिए।
छिमेकी राष्ट्र भारतमा यो खपत १५ सय युनिट र थाइल्यान्डमा २५ सय युनिट रहेको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपाली बिजुलीलाई केवल बाह्य बजारमा निर्यात गर्न केन्द्रित हुनुभन्दा स्वदेशमै उत्पादनशील क्षेत्रमा उपयोग गर्नुपर्ने स्पष्ट पारे।
सन् २०३० को १५ सय युनिट खपतको लक्ष्य हासिल गर्नका लागि घरेलु भान्सा र सामान्य घरायसी प्रयोग मात्र पर्याप्त नहुने सरकारको विश्लेषण छ। मन्त्री श्रेष्ठका अनुसार सरकारले ठुला तथा भारी उद्योग, डाटा सेन्टर, व्यावसायिक प्रतिष्ठान र ठुला पर्यटकीय होटलहरूलाई राष्ट्रिय ग्रिड प्रणालीमा आबद्ध गराई विद्युतको माग र खपत व्यापक रूपमा बढाउने रणनीति अख्तियार गरेको छ।
यस लक्ष्य प्राप्तिका लागि भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सबैभन्दा ठुलो पूर्वाधार चुनौती रहेको मन्त्री श्रेष्ठले बताए।
विशेष गरी पश्चिम नेपालका कतिपय क्षेत्रमा उपभोक्ता र उद्योगहरूले अझै पनि गुणस्तरीय र नियमित विद्युत नपाएर सास्ती खेपिरहेको भन्दै उनले वितरण प्रणाली र ग्रिडको विश्वसनीयता सुधार नगरेसम्म १५ सय युनिट खपतको लक्ष्य पूरा हुन कठिन हुने औंल्याए।
मन्त्री श्रेष्ठले आन्तरिक बजारको खपत वृद्धि सरकारको पहिलो प्राथमिकता भए पनि छिमेकी मुलुकहरूसँगको अन्तरदेशीय विद्युत व्यापारलाई पनि सँगसँगै अघि बढाइने बताए।
भारत र बंगलादेशसँगको बजारलाई थप विस्तार गर्दै भविष्यमा म्यानमार र थाइल्यान्डसम्म नेपाली ऊर्जा व्यापारको मार्ग खोल्ने सरकारको दीर्घकालीन योजना रहेको उनले जानकारी दिए।
प्रकाशित: २४ असार २०८३ १५:३८ बुधबार





-600x400.jpg)