८ भाद्र २०८३ सोमबार
image/svg+xml
अर्थ

गोसाईंकुण्डमा मृत फेला दुई युवकको शव खराब मौसमका कारण काठमाडाैं ल्याउन सकिएन

रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवाको शव फेला परेको छ। तर, निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण हेलिकप्टर जान नसक्दा शवलाई काठमाडौं ल्याउन सकिएको छैन।

मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–११ का करिब २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। उनीहरू आइतबार दिउँसो स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

खबर प्राप्त हुनासाथ खोजीमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले स्थानीयको सहयोगमा सोमबार बिहान करिब ११ बजे दुवै जनाको शव फेला पारेको हो।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, लगातारको वर्षा र बाक्लो हुस्सुका कारण हेलिकप्टर अवतरण गर्न असम्भव भएपछि शवहरूलाई तीर्थयात्री बस्न बनाइएको पाटीपौवामा राखिएको छ। उक्त स्थानमा संयुक्त सुरक्षा फौज तैनाथ छ।

मौसममा सुधार आएमा मंगलबार हेलिकप्टरमार्फत शवलाई काठमाडौं ल्याउने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०८२ २०:२८ सोमबार