खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ करोड रुपैयाँ बढीको खाद्य सामग्री बिक्री गरेको छ।
शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार चालु आवको साउन, भदौ र असोज महिनामा कुल १ करोड २ लाख ४ हजार ७ सय ५० रुपैयाँ बराबरको खाद्य सामग्री बिक्री भएको छ। आर्थिक वर्ष २०८२।८३ को एक वर्षे अवधिमा यहाँस्थित खाद्यले कुल १ करोड ६ लाख रुपैयाँ हाराहारीको खाद्य सामग्री बिक्री गरेको थियो।
यसअघि खाद्यबाट चामल मात्र बिक्री हुँदै आएकोमा अहिले भने चामलसहित चिनी र मसुरो दालको समेत बिक्री सुरु भएको छ। कार्यालय प्रमुख तिम्सिनाका अनुसार खाद्यले चालु आवको यो अवधिमा ५० लाख ६५ हजार २ सय ५० रुपैयाँ बराबरको ५ सय ७२.५ क्विन्टल जिरा मसिनो र २० लाख ९० हजार ६ सय २५ रुपैयाँ बराबरको ३ सय ४० क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको छ।
२७ लाख ३५ हजार ३ सय ७० रुपैयाँ बराबरको २ सय ४८.५ क्विन्टल चिनी र ३ लाख १३ हजार ५ सय रुपैयाँ बराबरको २१.५ क्विन्टल मसुरो दाल समेत चालु आवको यो विधिमा बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाले बताए।
खाद्यले दसैँ लगत्तै खाने तेलको समेत बिक्री गर्नेगरी प्रकृया अघि बढाएको समेत तिम्सिनाले जानकारी दिए। तिम्सिना यहाँस्थित खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयको कार्यालय प्रमुख भएर आएपछि उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउन कार्ययोजनासहित प्रस्तुत भएका थिए।
सुरुमा चामल मात्र बिक्री हुँदै आएको खाद्यको यहाँस्थित कार्यालयले स्थापनाको ४८ वर्षपछि चामलसंगै चिनी र दालको बिक्री सुरु गरेको छ भने केही दिनभित्रमै खानेतेल समेतको बिक्री सुरु गर्ने भएको छ।
प्रकाशित: ३१ आश्विन २०८३ ०८:१४ शनिबार



-600x400.jpg)

