२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

चिनीको मूल्य अधिक वृद्धि

फाइल तस्बिर

बाढीपहिरोका कारण आपूर्ति व्यवस्था प्रभावित भइरहेका बेला बजारमा चिनीको खुद्रा मूल्य प्रतिकेजी १६० रुपैयाँसम्म पुगेको छ।

दुई साता अघिसम्म प्रतिकेजी १०० देखि १०५ रुपैयाँसम्ममा बिक्री हुँदै आएको चिनीको मूल्य अहिले पसलअनुसार १४५ देखि १६० रुपैयाँसम्म पुगेको छ । चिनीको मूल्य अस्वाभाविक रूपमा बढेपछि सरकारले बजारमा आपूर्ति बढाउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले यी दुई सरकारी कम्पनीलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न स्वीकृति दिएको हो।

सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भारतबाट सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत २ हजार ५०० मेट्रिकटन चिनी आयात गर्ने तयारी गरेको छ। कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला न्यौपाने सुवेदीका अनुसार आयातका लागि बोलपत्र आह्वान भइसकेको छ।

खाद्य कम्पनीले यसअघि नै १ हजार क्विन्टल चिनी आयात गरिसकेको र थप १ हजार ५०० क्विन्टल ल्याउने तयारी गरेको जनाएको छ। कम्पनीका अनुसार दसैं–तिहारअघि नै थप चिनी बजारमा ल्याउने लक्ष्य छ। भारत सरकारसँग जिटुजी प्रक्रियाबाट खरिद हुने भएकाले चिनी आयात गर्दा पर्ने मूल्य थाहा पाएपछि आयात प्रक्रिया अघि बढाउन समस्या नरहेको कम्पनीको भनाइ छ । बाढीपहिरोका कारण सडक तथा पुलमा भएको क्षतिले चिनी काठमाडौंसम्म ढुवानी गर्न समस्या हुन सक्ने कम्पनीले जनाएको छ। भोटेकोसी–त्रिशूली बाढीपछि विभिन्न सडकखण्डमा भएको क्षतिले दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित भएको हुँदा आयातित चिनी बजारसम्म पुर्‍याउन ढुवानी चुनौती देखिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री केन्द्र तथा गोदाममा अहिले करिब १५ हजार क्विन्टल चिनी मौज्दात रहेको छ। कम्पनीले बजारभन्दा सस्तोमा प्रतिकेजी १०९ रुपैयाँमा चिनी बिक्री गरिरहेको जनाएको छ। यद्यपि सीमित बिक्री केन्द्र र बजारको तुलनामा न्यून मौज्दातका कारण सरकारी चिनीको आपूर्तिले समग्र बजारको माग धान्न सकेको छैन।

यता साल्ट ट्रेडिङले स्वदेशी चिनी उद्योगबाट १५ हजार मेट्रिकटन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। साल्ट ट्रेडिङका प्रवक्ताकुमार राजभण्डारीका अनुसार सरकारले स्वदेशी उद्योगबाट चिनी खरिद गर्ने नीतिअनुसार उक्त परिमाणमध्ये १२ हजार मेट्रिक टन साल्ट ट्रेडिङले र ३ हजार मेट्रिक टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने व्यवस्था गरिएको छ। साल्ट ट्रेडिङले आफ्नो भागको करिब १ हजार ८०० मेट्रिकटन चिनी खरिद गरिसकेको जनाएको छ।

सामान्य अवस्थामा चिनी आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ। बजारमा अभाव देखिएपछि सरकारले १ प्रतिशत भन्सार दरमा आयातको सुविधा दिएको हो। बजारमा तत्काल आपूर्ति बढाएर मूल्य नियन्त्रण गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो।

बजारमा भने चिनीको मूल्यमा ठुलो अन्तर देखिएको छ। काठमाडौं उपत्यकाका खुद्रा पसलमा प्रतिकेजी १४५ देखि १६० रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको व्यवसायीहरू बताउँछन्। व्यवसायीका अनुसार थोक बिक्रेताबाट मागअनुसार चिनी नपाउँदा खुद्रा बजारमा अभाव देखिएको हो।

चिनीको मूल्य बढ्नुमा स्वदेशी उत्पादन तथा मौज्दातमा कमी, आयातमा देखिएको समस्या, बाढीपहिरोका कारण ढुवानी तथा वितरण प्रणालीमा आएको अवरोध र चाडपर्वका कारण बढ्न थालेको मागलाई मुख्य कारण मानिएको छ । सडक तथा पुलमा भएको क्षतिले ढुवानी लागतसमेत बढेको व्यवसायीको दाबी छ। सरकारी कम्पनीहरूले भने बजार मूल्य नियन्त्रणका लागि आफ्नो मौज्दातबाट तुलनात्मक रूपमा सस्तोमा चिनी बिक्री गरिरहेका छन्। साल्ट ट्रेडिङले प्रतिकेजी १०५ रुपैयाँ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १०९ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन्। बिक्री केन्द्र सीमित भएकाले सरकारी मूल्यको प्रभाव समग्र बजारमा पर्न नसकेको व्यवसायीहरूको भनाइ छ।

अबको एक सातापछि तीज, करिब २० दिनपछि सोह्रश्राद्ध र एक महिनापछि दसैंको घटस्थापना सुरु हुँदैछ। त्यसपछि तिहार र छठजस्ता पर्वसमेत आउने भएकाले चिनीको माग थप बढ्ने देखिन्छ । चाडपर्वको समयमा माग बढ्ने तर सरकारी कम्पनीले ल्याउने चिनी बजारमा पुग्न ढिलाइ भए अभाव र मूल्यवृद्धि अझ बढ्न सक्ने जोखिम छ।

सरकारले आयात तथा खरिद प्रक्रिया छिटो पूरा गरेर बजारमा पर्याप्त चिनी उपलब्ध गराउन सके मात्रै निर्णयको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनेछन् । अन्यथा सरकारी कम्पनीको मौज्दात सीमित बिक्री केन्द्रमा मात्र उपलब्ध हुँदा निजी बजारमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न कठिन हुने देखिन्छ।

प्रकाशित: २३ भाद्र २०८३ ११:५४ मंगलबार