महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले बढ्दो युवा पलायनको समस्यालाई सम्बोधन गर्न सरकारले साना तथा मझौला उद्यमीहरूलाई विशेष प्रोत्साहन गर्नुपर्नेमा जोड दिएकी छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्यमशीलता प्रवर्द्धनमार्फत युवाहरूलाई देशमै अवसर सिर्जना गर्न सकिने बताइन्।
अध्यक्ष ज्ञवालीले महासंघले संघदेखि स्थानीय तहसम्म युवाहरूलाई उद्यमी बनाउने विषयमा निरन्तर पहल गरिरहेको जानकारी दिइन्। विदेशिने युवाहरूमा पुरुषको संख्या अत्यधिक रहेको तथ्यांक औंल्याउँदै उनले महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न सके देशको अर्थतन्त्र र रोजगारी सिर्जनामा दोहोरो फाइदा पुग्ने तर्क गरिन्।

‘नेपालबाट पुरुषहरू बढी विदेशिने गरेको देखिएकाले महिलाहरूलाई उद्यमशीलतामार्फत उद्यमी बन्न प्रोत्साहन गर्न आवश्यक देखिएको छ,’ उनले भनिन्, ‘अहिलेको समय नैराश्यतामा नबदलियोस्। उद्यमशीलता विकास गरी नेपालीलाई नेपालमै दुई छाक खान पुग्ने अवस्था बनाऔं।’
उनले शिक्षा, रोजगारी र दक्षताका आधारमा लगानी केन्द्रित गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले विकासका लागि युवाहरूलाई अघि बढाउनुको विकल्प नभएको सुनाए।
उनले हालको विकासको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नेपालको परम्परागत र निर्वाहमुखी कृषि प्रणालीका कारण ठूलो परिमाणमा उत्पादन हुन नसक्दा निर्यातमा कठिनाइ भइरहेको बताए।
सुवेदीले भने, ‘नेपालमा परम्परागत रूपमा निर्वाहमुखी कृषि रहेका कारण एउटै वस्तु ठूलो मात्रामा उत्पादन नहुने गरेकाले विदेश निर्यात गर्न असम्भव भइरहेको छ।’
उनले प्रदेश सरकारले युवाहरूलाई उद्यमी बनाउन ‘उदय परियोजना’ मार्फत विनाधितो ऋण उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘भदौको अन्तिम सातादेखि ऋण दिन सुरु गरिनेछ,’ सुवेदीले भने।
साथै, प्रदेश सरकारले स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्रीहरूलाई उपहारका रूपमा प्रयोग गर्ने योजना अघि बढाएको पनि उनले खुलासा गरे।
कार्यक्रममा युवा उद्यमीहरूले पनि आफ्ना अनुभव र चुनौतीहरू प्रस्तुत गरे। युवा उद्यमी नर श्रेष्ठले अहिलेका युवाहरू ‘अब के गर्ने ?’ भन्ने अन्योलमा रहेको बताए। उनले भने, ‘सबै विदेश पलायन भइरहेको अवस्थामा युवाहरू नेपाल बस्ने कि विदेश जाने भन्ने अन्योलमा छन्। तर, अवसर र परिवर्तन आफ्नै हातमा छ। प्रयास आफैंले गर्ने हो।’
अर्का युवा उद्यमी दिनेश श्रेष्ठले प्रदेश सरकारको ‘उदय परियोजना’ लाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे। त्यसैगरी, युवा उद्यमी सागरराज ढुंगानाले निरन्तरको संघर्षले नै सफलता दिलाउने बताए। ‘आफैं नहारेसम्म हार हुँदैन,’ ढुंगानाले भने, ‘सानो सोचले सानै ठाउँमा पुर्याउँछ, तर विशाल सोचले ठूलो परिवर्तन गर्छ।’
कार्यक्रममा चिनारी मिडियाकी निर्देशक सीता थापाले अब युवाहरूले बोल्नेभन्दा पनि काम गरेर देखाउने समय आएको बताइन्।
कार्यक्रममा महिला उद्यमी महासंघले ७७ वटै जिल्लामा च्याप्टर गठन गरिसकेको र कोशी प्रदेशबाट प्रदेशस्तरीय समिति गठन सुरु गरेको जानकारी दिइएको थियो।
अध्यक्ष ज्ञवालीका अनुसार एक हप्ताभित्र सातवटै प्रदेशमा समिति गठन गरिनेछ। कार्यक्रममा युवा उद्यमीसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
हेराैं तस्बिरहरु:




















प्रकाशित: २६ श्रावण २०८२ १९:३८ सोमबार





