१० भाद्र २०८३ बुधबार
image/svg+xml
अर्थ

बढेको बजार घटेको देखिएपछि नेप्सेले सच्यायो गल्ती, परिसूचक ७ अंकले बढ्यो

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक गणना प्रणालीमा प्राविधिक त्रुटि देखिएको छ।

बजार बन्द हुँदा १२ अंकले बढेको सूचकलाई अन्तिम १५ मिनेटको औसत गणनापछि २ अंकले घटेको देखाइएपछि लगानीकर्तामाझ व्यापक असन्तुष्टि र अन्योल सिर्जना भएको थियो।

लगानीकर्ताको चर्को दबाबपछि नेप्सेले गणना सच्याउँदै बजार ७.१० अंकले बढेको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। सोमबार दिनभरि हरियो रहेको बजार बन्द हुँदा नेप्से परिसूचक २९७६.३६ विन्दुमा पुगेको थियो।

तर, नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना गरेर अन्तिम परिसूचक सार्वजनिक गर्दा २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा झरेको देखाइयो।

बजार बन्द हुनुअघिको अन्तिम १५ मिनेटमा परिसूचक लगातार बढिरहेको थियो। दिउँसो २:४५ बजे २९६७ अंकमा रहेको नेप्से बन्द हुँदासम्म २९७६ अंकसम्म पुगेको थियो। यस्तो अवस्थामा औसत गणनापछि परिसूचक घट्नु असम्भवप्रायः थियो।

नेप्सेको वेबसाइटमा परिसूचक घटेको देखाइँदा कारोबार प्रणाली (टीएमएस) मा भने २.६१ अंकले बढेको देखिएपछि लगानीकर्ताहरू थप अन्योलमा परेका थिए। उनीहरूले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट तत्कालै गुनासो गर्दै आक्रोश व्यक्त गरेका थिए।

लगानीकर्ताको चर्को दबाबपछि नेप्सेले गणनामा त्रुटि भएको स्वीकार गरेको थियो। नेप्सेले प्राविधिक समस्या भन्दै समस्या पहिचान र समाधानका लागि टोली खटिएको जवाफ दिएको थियो।

पछि नेप्सेले त्रुटि सच्याउँदै नयाँ तथ्याङ्क सार्वजनिक गर्‍यो। संशोधित तथ्याङ्कअनुसार, बजार परिसूचक ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा पुगेको छ। नेप्सेले कम्पनीको अन्तिम मूल्यको सट्टा न्यूनतम मूल्यको आधारमा औसत निकालेकाले गणनामा गडबड भएको जनाएको छ।

सोमबार बजारमा ३२१ कम्पनीको १ लाख ७० हजार पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

समता घरेलु लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ९२ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: १२ श्रावण २०८२ १९:४५ सोमबार