सरकार र लघुवित्त पीडितबीचको दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको छ।
यसअघि हिजो (बिहीबार) भएको पहिलो चरणको वार्तामा समस्या समाधानका लागि छलफललाई निरन्तरता दिने समझदारी भएको थियो ।
लघुवित्त पीडितका माग सम्बोधनका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार नै वार्ता टोली गठन गरेका थिए। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीलाई पीडित पक्षसँग तत्काल वार्ता गर्न निर्देशन दिइएको थियो।
वार्ता टोलीमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई वार्ता समितिको सदस्य सचिव तोकिएको छ।
लघुवित्त संस्थाहरूबाट पीडित भएको भन्दै विभिन्न माग राखेर आन्दोलन गर्दै आएका पीडितसँग सरकारले वार्ता प्रक्रिया अघि बढाएको हो।
प्रकाशित: १५ श्रावण २०८३ १८:०८ शुक्रबार





