उदयपुरको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल रौतापोखरी जोड्ने सडकको कालोपत्रे सहितको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ।
सदरमुकाम गाईघाटदेखि ४८ किलोमिटर उत्तर पहाडी भेगमा अवस्थित यस गन्तव्यसम्म पुग्ने सडकको निर्माण कार्य हाल तीव्र गतिमा भइरहेको हो।
सदरमुकाम गाईघाटदेखि दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको साउने, खाँबुको रानीबास र डहर हुँदै रौतापोखरी जोड्ने यस खण्डमा ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे गरिँदै छ।
पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार सडकका लागि आवश्यक ‘स्ट्रक्चर’ निर्माणको काम लगभग सकिएको छ। यो असारभित्रै रौतापोखरीसम्मको आउजाउ सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको कार्यालयले जनाएको छ।
यसअघि गाईघाटदेखि डहरसम्मको सडक कालोपत्रे भइसकेको भए पनि डहरदेखि रौतापोखरी मन्दिरसम्मको साढे ३ किलोमिटर खण्ड कालोपत्रे हुन बाँकी थियो।
सडकको अवस्था जीर्ण हुँदा मन्दिर दर्शन र भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका थिए। करिब दुई दशकअघि ट्रयाक खुलेको यो कच्ची सडकमा वर्षायाममा पहिरो जाने र हिलाम्मे हुने समस्याको दीर्घकालीन समाधानका लागि अहिले व्यापक सुधार थालिएको हो।
चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ८ करोड १६ लाख ९८ हजार ८ सय ९६ रुपैयाँ लागतमा यस योजनाको कार्यान्वयन भइरहेको छ। निर्माण कम्पनी अधिकारी कन्ट्रक्सनका अनुसार साढे ३ किलोमिटर सडकमा स्ट्रक्चरको काम सकिन लागेको र लगत्तै ‘सब-बेस’ र ‘बेस’ को काम सुरु हुनेछ।
बेसको तयारी सकिए लगत्तै कालोपत्रेको प्रक्रिया थालिने कम्पनीले जानकारी दिएको छ।
निर्माण कम्पनीका प्रतिनिधि एवं साइट इन्चार्ज रमण भण्डारीले सम्झौता अवधि २ वर्षको भए पनि आगामी माघ-फागुनसम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।
‘अहिले सडकको दायाँ-बायाँ नाला, रिटेनिङ वाल र ग्यावियन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ भण्डारीले भने, ‘स्ट्रक्चरको काम सकिए लगत्तै कालोपत्रेको काम अघि बढ्नेछ, तर बेलाबेलामा हुने वर्षाले भने केही ढिलाइ गरेको छ।’
जिल्लाको गौरवको रूपमा रहेको रौतापोखरीको दिगो विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले लगानी गर्दै आएका छन्। रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा मन्दिरको भौतिक पूर्वाधार र पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइएको बताए।
सडक स्तरोन्नति सम्पन्न भएपछि रौतापोखरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास स्थानीयले लिएका छन्।
प्रकाशित: २५ जेष्ठ २०८३ १६:३२ सोमबार





