२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml
अर्थ

विश्व बैंकको सहयोगमा सडक बन्दै

पोखरा क्षेत्रमा बनेका सडक निरिक्षण गरिँदै। तस्बिरः नागरिक

विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरा क्षेत्रमा निर्माणाधिन परियोजनाको स्थलगत निरिक्षण गरिएको छ। नगरप्रमुख धनराज आचार्य सहित विश्व बैंकका भाइस प्रेसिडेन्ट एंव चिफ रिस्क अफिसर डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।  

विश्व बैंकको सहयोगमा अहिले पोखरा क्षेत्रमा सडक निर्माण र स्तरोन्नती भईरहेका छन्। टोलीले तालचोक–बेगनास, शिशुवाचोक–खुँदिखोला र कालिकास्थान–पुँडिटार–लामगादी सडक खण्डको निरिक्षण गरेको हो।  

नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा तालचोक बेगनास सडक खण्ड (३.२८ कि.मी), शिशुवादेखि खुँदीखोला पुलसम्म करिब ४.१४ किलोमिटर र कालिकास्थानदेखी लामगादी सम्मको १२ किमी सडक अहिले निर्माण भइरहेको छ।  

यी मध्ये करिब ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँको लागतमा शिशुवादेखि खुँदी खोलापुलसम्मको सडक निर्माण भइसकेको छ। सडकमा दायाँबायाँ नाली सहित १५ मिटर डबल लेन, ७ मिटर सर्पोट बाटो, १.५ मिटर साइकल ट्रयाक र २.५ मिटर फुटट्रयाक रहेको छ। अरु सडक खण्ड भने अझै पुरा भईसकेका छैनन्।

दोविल्ला–बागमारा–तिक्लाङ्–बडहरकोट–लामगादी–चापलाङ–उपल्लोपुँडीटार–तल्लो पुँडीटार–झिगटे तगारेगौडा–तल्लो गगनगौंडा सडक अन्तर्गत पर्ने कालिकास्थान लामगादी सडक खण्ड समेत निर्माण भइसकेको छ। विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँमा सहयोगमा ७ मिटर चौडाइ, अस्फाल्ट पिच, सडकको दायाँबायाँ ड्रेन सहितको २÷२ मिटरको फुटट्रयाक निर्माण भईरहेको छ।  

तालचोक बेगनास सडक भने निर्माण सम्पन्न हुने क्रममा रहेको छ। सडक हरियाली फुटपाथ, साइकल ट्रयाक र डिभाइडर सहित चार लेनको सडक बन्दैछ। यस खण्डमा ५ वटा कल्भर्ट तथा पुल निर्माण भएका छन्। सडकको बिचमा १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइको फुटपाथ र सडकमा ४ सेन्टिमिटर मोटाइको अस्फाल्ट पिच हुनेछ। यो सडकका लागि विश्व बैंकले ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ सहयोग गरेको छ।  

विश्व बैंकको सहयोगमा सञ्चालित परियोजना सम्पन्न हुने चरणमा रहेको जनाउँदै नगर प्रमुख आचार्यले थप परियोजना सञ्चालनका लागि विश्व बैंक सहकार्यका लागि पोखरा महानगरपालिका इच्छुक रहेको बताए। खुदीखोलादेखी रुपा गाउँपालिकाको सिमानासँग पुग्ने सडकको स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन समेत उनले बैंक पदाधिकारीसँग आग्रह गरेका थिए। ‘हामीलाई अझै पनि सहयोगको आवश्यकता छ। सहयोग आएमा पूर्वाधार बन्नेछन,’ उनले भने।  

विश्व बैंकका चिफ रिस्क अफिसर डेनिसले पोखरा क्षेत्रमा सडक, पुल संरचना बनाउन र स्तरोन्नती गर्नेगरि सहयोग गर्नका लागि आफू सकारात्मक रहेको जवाफ दिएका थिए। उनले आगामि दिनमा सहयोग जुटाउनका लागि पहल गर्र्ने पनि बताए।  अवलोकनमा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सहित विभिन्न वडाध्यक्ष सहभागि भएका थिए।  

प्रकाशित: २५ वैशाख २०८३ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App