ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ३३७ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ।
यसबाट राज्यकोषमा रु २१ लाख १८ हजार ५०३ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जसअनुसार मादकपदार्थ सेवन गरेका ७५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका एक सय २७, सङ्केत बत्ती उल्लङ्घनकर्ता एक सय ३८ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका एक सय ४८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ७०, निषेधित क्षेत्रमा हर्न बजाउने दुई सय ५०, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने एक सय ३८, एकतर्फी सडकमा सवारी चलाउने एक सय ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो।
प्रकाशित: २७ जेष्ठ २०८३ १२:५८ बुधबार





