३१ भाद्र २०८३ बुधबार
image/svg+xml
अर्थ

एक वर्षमै दोब्बरले बढ्यो घरजग्गा कारोबार

नेपालमा घरजग्गा कारोबार एक वर्षभित्र दोब्बरले बढेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो।

कारोबार र कित्ताकाटको स्थिति

आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब १५ करोड बराबरको घरजग्गा कारोबार भएकोमा आव २०८२/८३ मा बढेर रु. ७ खर्ब २० अर्ब ८६ करोड पुगेको छ।

कारोबार संख्याः आव २०८१/८२ मा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो भने आव २०८२/८३ मा ४.७४ प्रतिशतले वृद्धि भएको छ । देशभर हाल कुल ३ करोड २८ लाख ४७ हजार ६३२ कित्ता जग्गा रहेका छन्।

बजारको उतारचढाव र चुनौती

जग्गा वर्गीकरण नभएका स्थानीय तहमा कित्ताकाटमा कडाइ गरिए तापनि घरजग्गा कारोबार बढ्नुलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकारीहरूले सकारात्मक रूपमा लिएका छन्। निर्वाचनपछि बजारमा उत्साह देखिए पनि चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनाहरू (साउन, असोज र कात्तिक) मा भने कारोबार केही सुस्त रहेको थियो।

विभागका अनुसार विगतको आन्दोलनका क्रममा २२ वटा मालपोत र १४ वटा नापी कार्यालयमा आगजनी तथा तोडफोड भई क्षति पुगेको थियो। हाल ती सबै कार्यालयहरू मर्मत भई पुनः सञ्चालनमा आइसकेका छन्। पछिल्लो समय मालपोत र नापी कार्यालयहरूमा बिचौलियामुक्त गराउने सरकारी अभियानअन्तर्गत लेखापढी व्यवसायीहरू पक्राउ पर्न थालेपछि यसको विरोध भइरहेको छ। यसले फस्टाउँदै गएको बजार पुनः प्रभावित हुने हो कि भन्ने चिन्तासमेत व्यक्त गरिएको छ।

महिला स्वामित्वमा उल्लेख्य वृद्धि

घरजग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ। देशभर महिला जग्गाधनीको संख्या ४४ लाख ८३ हजार ५३१ (कुलको ३९ प्रतिशत) पुगेको छ। अहिले सहरी क्षेत्रमा महिला जग्गाधनीको हिस्सा करिब ५० प्रतिशत पुगेको छ।

कुल कित्तामध्ये पुरुषका नाममा २ करोड २० लाख २४ हजार १७० र महिलाका नाममा ९७ लाख ६१ हजार ७९५ कित्ता दर्ता छन्।

आव २०८०/८१ को तथ्यांकअनुसार जग्गा खरिदबिक्रीमा महिला र पुरुषको सहभागिता लगभग बराबर (महिलाः ४ लाख २ सय ४१ र पुरुषः ४ लाख ३ हजार ४ सय ५१) रहेको थियो ।

प्रकाशित: ३१ भाद्र २०८३ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App