२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सुनचाँदीका सिक्का किन्न टक्सारमा सर्वसाधारणको घुइँचो

सीमित समय र साँघुरो बिक्री व्यवस्थाले सेवाग्राहीलाई सास्ती

धनतेरस तथा तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बिक्री खुला गरेको सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको घुइँचो लागेको छ। धार्मिक विश्वास र सांस्कृतिक परम्परासँग जोडिएका सुनचाँदीका सिक्का खरिद गर्न आउनेको भीड बढेपछि सेवाग्राहीले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता देखिएको छ।

बिहीबार बिहानैदेखि टक्सार महाशाखा परिसरमा सुन तथा चाँदीका सिक्का खरिद गर्न आउने महिला, पुरुष तथा ज्येष्ठ नागरिकको लामो लाइन लागेको थियो। सीमित समयभित्र बिक्री गर्ने व्यवस्था र सेवाग्राहीको अत्यधिक चापका कारण सिक्का खरिद प्रक्रिया सहज हुन सकेको छैन।

हिन्दू धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार धनतेरसका दिन सुनचाँदीका सामग्री खरिद गर्नु शुभ मानिन्छ। यस दिन सुन, चाँदी वा अन्य बहुमूल्य धातु घरमा भित्र्याउँदा धन, समृद्धि, सुख र शुभलाभ प्राप्त हुने विश्वास छ। धनकी देवी लक्ष्मीको कृपा प्राप्त हुने तथा घरमा सम्पन्नता बढ्ने धार्मिक मान्यतासँग पनि सुनचाँदी खरिदको परम्परा जोडिएको छ।

त्यसैगरी, तिहारमा लक्ष्मीपूजाको विशेष महत्त्व रहेकाले लक्ष्मीको प्रतीकका रूपमा सुन तथा चाँदीका सिक्का वा मेडालियन राख्ने र पूजा गर्ने चलन छ। राष्ट्र बैंकले बिक्री गर्ने चाँदीका मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुने भएकाले पनि सर्वसाधारणको विशेष आकर्षण रहने गरेको छ। लक्ष्मीलाई धन र समृद्धिको तथा गणेशलाई शुभारम्भ र विघ्नहर्ताका रूपमा पूजा गर्ने धार्मिक विश्वासका कारण यस्ता सिक्का केवल बहुमूल्य धातुको रूपमा मात्र नभई धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएका सामग्रीका रूपमा पनि लिइन्छन्।

यही धार्मिक तथा सांस्कृतिक विश्वासलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले हरेक वर्ष तिहारको अवसर पारेर सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्दै आएको छ। यस वर्ष पनि राष्ट्र बैंकले कात्तिक १९ र २० गते दुई दिनका लागि सुन तथा चाँदीका सिक्का बिक्री खुला गरेको हो। बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थान खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था छ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

सुन तथा चाँदीका सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण गरिन्छ। सिक्का निर्माण तथा प्रशोधनमा लागेको खर्चसमेत जोडिने भएकाले बजारमा पाइने सामान्य सुनचाँदीभन्दा केही महँगो पर्न सक्छ। तर, धार्मिक विश्वास, सांस्कृतिक महत्त्व तथा विशेष अवसरमा संकलन गर्ने रुचिका कारण यस्ता सिक्काप्रति सर्वसाधारणको आकर्षण भने उच्च रहने गरेको छ।

तर, चाडपर्वका बेला बढ्ने मागअनुसार बिक्री व्यवस्थापन प्रभावकारी हुन नसक्दा सेवाग्राहीले हरेक वर्ष लाइनको सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ। सीमित बिक्री अवधि, थोरै समय र भीड व्यवस्थापनको कमजोर अवस्थाले ज्येष्ठ नागरिक तथा महिलासमेत लामो समयसम्म लाइनमा बस्न बाध्य भएका छन्।

लाइनमा बसेर सिक्का खरिद गरेकी आरती शाहले बिक्री व्यवस्थापन अस्तव्यस्त हुँदा आफूले निकै सास्ती खेप्नुपरेको गुनासो गरिन्। बिहीबार करिब पाँच घण्टा लाइनमा बसेकी उनले पर्याप्त काउन्टर र व्यवस्थित लाइन व्यवस्थापन नहुँदा सेवाग्राहीलाई अनावश्यक दुःख भएको बताइन्।

राष्ट्र बैंकले बिक्री अवधि बढाउने, पर्याप्त बिक्री काउन्टरको व्यवस्था गर्ने, टोकन प्रणाली लागू गर्ने तथा सम्भव भएसम्म प्रदेशस्थित कार्यालयबाट समेत बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने शाहको सुझाव छ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको सुनचाँदीका सिक्काप्रतिको आकर्षण हरेक वर्ष बढ्दो छ। तर, सर्वसाधारणको चापअनुसार सेवा विस्तार र व्यवस्थापन गर्न नसकिए सरकारी निकायबाट उपलब्ध हुने यस्तो विशेष सेवासमेत सर्वसाधारणका लागि सहजभन्दा झन्झटिलो बन्ने देखिन्छ।

प्रकाशित: २० कार्तिक २०८३ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App