२१ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

पृथ्वी राजमार्ग: राजमार्ग अवरोधले रोकियो पोखरा–काठमाडौं यात्रा

दिनमा ३ सयवटा हाराहारीमा चल्ने सवारी अहिले ग्यारेजमा

पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्क। पृथ्वी राजमार्ग सुनसान बनेपछि अहिले बसपार्कमा बसको आउजाउ रोकिएके छ। तस्बिरः सन्तोष/नागरिक

राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्क आजकल सुनसान छ। हरेक दिन बिहान र बेलुकी बसपार्कबाट छुट्ने बस चढ्न विदेशी पर्यटकदेखि स्वदेशी यात्रुको बसपार्क आउजाउ चलिरहन्थ्यो। लेकसाइडका होटलमा बसेका अधिकांश विदेशी पर्यटक बस चढ्न त्यही बसपार्क आउँथे। बिहान ९ बजेसम्म र बेलुकी पनि ९ बजेसम्मै बसपार्क क्षेत्रमा यात्रामा निस्कने यात्रुको चहलपहल हुन्थ्यो। विभिन्न गन्तव्यबाट पोखरा भित्रिएका बसको पनि दिउँसो २ बजेपछि भीड थपिन्थ्यो।

तर, झन्डै दुइसातादेखि पर्यटक बसपार्क सुनसान छ। बिहान र बेलुकी बस चढ्न अहिले कोही पनि बसपार्क आउँदैनन्। पोखराका विभिन्न ठाउँबाट छुट्ने बस पनि बजारका ठाउँठाउँबाट यात्रु चढाउँदै अन्तिममा राष्ट्रबैंकचोकको बसपार्क पुगेर यात्रुलाई लिएर गन्तव्यमा निस्कन्थे। तर, अहिले पर्यटक बसपार्क क्षेत्र पुरै सुस्ताएको छ।  

बसपार्कभित्र विभिन्न बस कम्पनिले संचालन गरेको काउन्टर नखुलेको धेरैदिन भइसक्यो। आफ्ना यात्रुलाई गन्तव्यमा पठाउनका लागि बिहानै बसपार्क आउने पर्यटन व्यावसायी पनि अहिले देखिन छाडेका छन। बुटवल र सौराहाका लागि छुट्ने सिमित बाहेक अरु बस अहिले बसपार्कभित्रै थन्किएका छन्। व्यावसायीले बसपार्कमा बस अड्याएका मात्र छन्।  

बाहै्रमास चौबिसैघण्टाजसो सवारीको चहलपहल रहने पृथ्वीचोक पनि अहिले सुनसान छ। काठमाडौंका लागि छुट्ने र काठमाडौंबाट आएका यात्रुको अन्तिम गन्तव्य रहेको पृथ्वीचोकमा अहिले यात्रुको भीडभाड देखिन्न। स्याङजा, बागलुङ, म्याग्दी, पर्वतबाट पोखरा हुँदै काठमाडौंसम्म आउजाउ गर्ने ठूला आकारका सवारी पनि अहिले रोकिएका छन्। कमाउने समयमा सवारी थन्काएर राख्नुपरेकोमा व्यावसायी पनि चिन्तित छन्।  

रसुवा भोटेकोशीमा आएको बाढीले पोखरा–काठमाडौं जोड्ने एकमात्र मुख्य राजमार्ग पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पोखरा हुँदै संघीय राजधानीसम्मको स्थलमार्गको यात्रा ठूला आकारका सवारीका लागि पूर्णरुपमा बन्द छ। साना सवारी सीमित संख्यामा विभिन्न वैकल्पिक मार्ग हुँदै काठमाडौं आउजाउ गरेको भएपनि ठूला आकारका बस भने पोखराबाट छुट्न सकेका छैनन। पर्यटकीय सिजन सुरु हुँदै गर्दा अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा चल्ने ठूला आकारका सवारी पूर्ण रुपमा ठप्प छन्।  

पोखराबाट मुग्लिन हुँदै चितवन, लुम्बिनी र स्याङजा हुँदै लुम्बिनीसम्म चल्ने पर्यटक बस चलिरहेको भएपनि बिहानैदेखि बेलुकी अबेरसम्म पोखराबाट काठमाडौंका लागि छुुट्ने पर्यटक बस अहिले बसपार्कका थन्किएका छन्। चाँडबाँडको मौका पारेर यो बेला आन्तरिक यात्रु पर्याप्त आकारमा भेटाउने व्यावसायीले अहिले भने बस थन्काएर राखेका छन। कमाई हुने बेला राजमार्गको सास्ती खेप्नुपरेकोमा व्यावसायीको चिन्ता छ। राजमार्ग खुल्ने टुंगो नहुँदा व्यावसायीमा तनाव छ।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका पूर्व अध्यक्ष हरिराम अधिकारीका अनुसार पोखराबाट दिवा र रात्री गरेर दिनमा ४० वटा हाराहारीमा पर्यटक बस काठमाडौंका लागि छुट्ने गर्दथे। तर, अहिले ती सबै गाडी रोकिएका छन्।

 ‘एकाध साना बस र कार, जीप हेटौंडा हुँदै काठमाडौं गएका छन्। तर, सबै आकारका सवारीका लागि त्यो यात्रा निकै नै घुमाउरो पर्छ,’ अधिकारीले भने, ‘पृथ्वी राजमार्ग सहज नभएसम्म यात्रा सम्भव देखिएको छैन।’  

उनका अनुसार गोरखाबाट विभिन्न सडक हँदै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटसम्म जान सकिन्छ। तर ती भित्री रुटमा पनि ठूला आकारका गाडी चल्न सक्दैनन। गोरखाबाट धादिङ खण्ड हुँदै बेनीघाटसम्म जाँदा तीनवटा विकल्प भएपनि ती भरपर्दा नभएको उनले बताए।  

‘ठूला आकारका गाडीका लागि बाटो नै छैन। ३० सिट क्षमतासम्म गाडी चल्न सक्छन। तर, पनि वर्षा भईरहेकोले भित्री बाटोमा पनि समस्या छ,’ उनले भने, ‘पोखरालाई स्थलमार्ग हुँदै काठमाडौंसम्म जोड्नका लागि वैकल्पिक सडक खोजि गरेपनि सहज भएन। अन्तिम विकल्प भनेकै पहिरोग्रस्त ठाउँसम्म गाडीमा यात्रु लैजाने, यात्रुलाई पैदल हिडाएर पहिरो पार गराउने र अर्काेतिरको खण्डमा बस ल्याएर गन्तव्यसम्म पु¥याउने बाहेक विकल्पन दिन नसकेको उनले बताए।  

‘पर्यटकीय सिजन सुरु हुन थालेको छ। यात्रुको आउजाउ बढ्ने यो बेला सवारी थन्काएर राख्नु परेको छ। व्यावसायीले कमाउने समयमा सवारी ग्यारेजमा थन्किएका छन,’ अधिकारीले भने, ‘काठमाडौंलाई जोड्ने बैकल्पिक बाटो धेरैवटा छन, तर भरपर्दाे भएनन। पृथ्वी राजमार्गको विकल्पमा कुनै पनि सडक तयार भएनन, त्यसको मार खेप्नुपरेको छ।’ उनका अनुसार पोखरालाई काठमाडौंसम्म संचालन हुने अधिकांश सवारी अहिले पोखरामै रोकिएका छन्। अहिले पोखरा–काठमाडौं स्थलमार्ग अवरुद्ध भएपछि हवाई यात्रामा यात्रुको चाप बढेको अधिकारीले बताए।  

पृथ्वी राजमार्ग बस कम्पनिका अध्यक्ष ऐनकुमार साइले पनि पोखराबाट हेटौंडा हुँदै एकाध सवारी गएपनि त्यो यात्रा सहज नभएको बताए। 

‘पोखरालाई काठमाडौं जोड्ने खण्डको विकल्प नै भएन। बाटो सहज कतैपनि भएन। भित्री सडकमा ठूला आकारका सवारी गुड्न सक्दैनन’ साइले भने, ‘गोरखा हुँदै बेनीघाटसम्म निस्कन सकिने भएपनि साना आकारका गाडी मात्र चल्न सक्ने अवस्था छ। ठूला आकारका गाडी जान सक्दैनन।’  

उनका अनुसार पोखराबाट बिहान सबेरैदेखि बेलुकी अबेरसम्म काठमाडौंका लागि सवारी छुटिरहन्थे। पोखराबाट मात्र नभई स्याङजा, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ सहित ती जिल्लाका ग्रामीण क्षेत्रबाट समेत काठमाडौंका लागि सिधा बस संचालन हुँदै आएका थिए। ती सबै सवारी पोखरा हुँदै आउजाउ गर्थे। तर, अहिले सबै सवारी रोकिएका छन्।

‘पोखरा–काठमाडौं रुटमा दिनमा ३ सय हाराहारीमा सवारी चल्थे। गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट समेत सवारी चल्दा हजारौं यात्रुले यात्रा गरेका थिए। तर, अहिले ती सबै सवारी रोकिएका छन,’ उनले भने, ‘यात्रुको चाप हुने समय हो। तर, व्यावसायीले सवारी थन्काएर राख्नुपरेको छ। कमाउने समयमा सवारीमा ताला लगाउनु परेको छ। हेटौंडा हुँदै आउजाउ गर्दा धेरै नै फेरो पर्ने भएकोले पनि सहज छैन।’  

प्रकाशित: २१ भाद्र २०८३ १७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App