पाँच वर्षसम्म मेची क्षेत्रका सर्वसाधारणलाई ‘सडक निर्माण समयमै सकिने’ आश्वासनमा झुलाएपछि अन्ततः अलपत्र काम थाति राखेर ठेक्का तोड्ने अवस्था आएको छ। मेची करिडोरअन्तर्गत इलाम–झापा फास्ट ट्र्याक (केचना–कञ्चनजंघा मार्ग) निर्माणको ठेक्का तोड्ने तयारी गरिएको हो। वर्षौंदेखि कचल्टिएको बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोड्ने स्वीकृतिका लागि सडक डिभिजनले सडक विभागमा फाइल पठाएको छ।
राजनीतिक दलको संरक्षणका व्यक्ति र जनप्रतिनिधिआबद्ध निर्माण कम्पनीले चरम लापरबाही गर्दा ५ वर्षयता इलाम, पाँचथर, ताप्लेजुङवासीले ठूलो सास्ती भोगिरहेका छन्। पटक–पटक ‘काम सक्छु’ भन्दै निर्माण व्यवसायीले प्रतिबद्धता जनाए पनि ‘बालुवामा पानी’झैं बनेपछि सरकारी निकाय ठेक्का तोड्ने मनस्थितिमा पुगेको हो। ‘धेरै पटक म्याद थपेर प्रयास गर्दा पनि काम अघि बढेन, पिटिक्कै चित्तोबुझ्दो गतिमा काम भएन,’ सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘हामीले ठेक्का तोड्ने तयारी गरेका छौं, फाइल स्वीकृतिका लागि विभाग पुगेको छ।’
केचना–कञ्चनजंघा सडकअन्तर्गत यो खण्डको साढे ९ किलोमिटरको काम २०७८ असार २९ मा २ वर्षभित्र कालोपत्रेसमेत सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लागेको थियो। तर, ५ वर्ष बित्दा ४७ प्रतिशतमात्रै काम भएको डिभिजनले जनाएको छ। कामको जिम्मा खड्का–कृष्ण–सक्षम जेभीले लिएको थियो।
काम अलपत्र पार्ने निर्माण कम्पनीका मुख्य सम्पर्क व्यक्ति इलामका डम्बर खड्का र जाजरकोटका रत्नबहादुर खड्का हुन्। डम्बर इलामको नेपाली कांग्रेस जिल्ला सभापति तथा भर्खरै निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्। उनी इलामबाट पटक–पटक संघीय र प्रदेश निर्वाचनमा उम्मेदवारसमेत बनेर पराजित थिए। रत्नबहादुर अहिले पनि जाजरकोटको छेडागाढ नगरपालिका प्रमुख र कांग्रेस नेता हुन्। कागजमा खड्का–कृष्ण–सक्षम जेभीका प्रोपाइटर जाजरकोटका प्रकाश खड्का देखिन्छन् तर उनको नाममा मुख्य व्यवसाय गर्ने व्यक्ति चाहिँ उनका बुबा तथा मेयर रत्नबहादुर नै हुन्।।
उनीहरूले जिम्मा लिएको कामले गति लिने सम्भावना नभएपछि गत असारमा इलाम आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले ठेक्का तोड्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार सडक डिभिजनले सडक विभागमा फाइलसमेत पठाएको थियो। तर, डम्बरबहादुरले प्रत्यक्ष निगरानीमा गरिरहेको काम आफूले नसकेपछि गत असारमा रत्नबहादुरलाई जिम्मा लगाए भने रत्नबहादुरले त्यहीबेला इलाम आएर वर्षौं अलपत्र काम आफूले सम्पन्न गर्ने प्रतिबद्धता गरे। त्यसपछि सडक डिभिजनले रत्नबहादुरलाई ‘अन्तिम मौका’ भन्दै असोजसम्मको म्याद दिएर कामलाई निरन्तरता दियो। रत्नबहादुरले २० दिनमा सडक हिलोरहित बनाएर असोज मसान्तमा कालोपत्रे सक्ने प्रतिबद्धता गरेका थिए। तर, उनले सामान्य हिलो पुर्नेबाहेक अरू काम गरेनन्। बरू, पुनः म्याद थपको निवेदन दिए।
पछिल्लो पटक पनि कामको गतिमा कुनै परिवर्तन नभएपछि २०८३ असोज मसान्तमा ठेक्का सम्झौता सकिएको छ। डिभिजन प्रमुख भट्टराईले अहिले म्याद थप नभएको र ठेक्का तोड्ने तयारी भएको जानकारी दिएका छन्। ‘ठेक्का तोड्ने तयारी गर्नुको मुख्य कारण नै काममा चरम ढिलाइ हो,’ उनले भने।
यो खण्डको सुरुमा ठेक्का लाग्दा कामको म्याद २०८० पुस २९ सम्म थियो। तर, काम नसकिएपछि ०८२ असार १८ मा सक्नेगरी थपिएको थियो। थपिएको समयभित्र पनि ४५ प्रतिशतमात्रै काम सकिएको थियो। पुनः असोज मसान्तमा सकिनेगरी म्याद थपिएको थियो। २०८० सालमै कालोपत्रे सकिनुपर्ने सडकमा ५ किलोमिटर हाराहारी, त्यो पनि ग्राभेलमात्रै भएको छ।
२०८२ असोज १८ र १९ को बाढीले केचना–कञ्चनजंघा सडकअन्तर्गत माइखोलाको पुल क्षति गरेकामा अहिले मर्मत भइसकेको छ। यही सडकको पुवाखोवामा बेलीब्रिज र ठाडेखोलामा बक्स कल्भर्टसमेत बनिसकेको छ। तर, सडक समयमा निर्माण नसकिँदा विशेष गरी ठूला सवारीका साधन गुडाउने विकल्प बन्दझैं छ। मेची राजमार्गको राजदुवाली खण्डबाट अहिले पनि ठूला सवारी साधन खुलेका छैनन्। फास्ट ट्र्याक पनि कष्टकर हुँदा स्थानीयले दुःख पाइरहेका छन्।
भइरहेको ठेक्का तोडेर अर्काे ठेक्का लगाउन प्रक्रियागत रूपमा केही ढिलाइ हुने भए पनि ठेक्का तोड्ने खबरले स्थानीय सर्वसाधारण र सरोकारवाला खुसी छन्। ‘बरू केही समय ढिलो होस् तर नयाँ ठेक्काबाट सडक पक्कै बन्छ,’ एक स्थानीय भन्छन्, ‘नेता ठेकेदारहरूले इलाम, पाँचथर र ताप्लेजुङका मान्छेलाई वर्षौंसम्म थाङ्नामा सुताए, अहिले यो हाल बनाए। अब कामको गति बढ्छ कि भन्ने आशा छ।’
प्रकाशित: ३ कार्तिक २०८३ १३:३४ मंगलबार


-600x400.jpg)


