फोहोरबाट आम्दानी दिलाउने र हरित रोजगारीको बाटो देखाउने उद्देश्यसहित पोखरामा आरयू (रिसाइकल र अपसाइकल) फेस्ट सुरु भएको छ।
पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना चलिरहेको छ। सोहि परियोजना सञ्चालन अन्तर्गत उत्पादित सामाग्रीको प्रदर्शन गर्दै सचेतना दिलाउन यो कार्यक्रम गरिएको पोखरा महानगरपालिकाले बताएको छ।
फेष्टमा घरेलु फोहोर र प्रयोगविहीन सामाग्रीबाट कसरी उपयोगी सामान उत्पादन गर्न सकिन्छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। त्यसका साथै फोहोरबाट उत्पादित सामग्रीको प्रदर्शनी पनि गरिएको छ। फेष्टमा दीगो फोहोर व्यवस्थापनका उपायबारे सचेतना जगाउँदै चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जानकारी गराईने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए।
बुधबार सुरु भई दुईदिनसम्म चल्ने फेष्टको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए। ‘रिथिंक २०२६ फ्रम वेस्ट टु वर्थ’ भन्ने नाराका साथ यो महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले फोहोरलाई केवल समस्याका रुपमा मात्र नहेरी यसका सामाजिक, आर्थिक र वातावरणीय सम्भावनाको पहिचान गर्दै पुन प्रयोग र प्रशोधनमा जोड दिनुपर्ने बताए। फोहोरको उपयोग मार्फत चक्रीय अर्थतन्त्रको विकासमा लाग्न उनले सुझाए।
‘फोहोरका रुपमा फालिने वस्तुलाई पुनःप्रयोग र पुनर्चक्रणमार्फत उपयोगी सामग्रीमा रुपान्तरण गर्नु वातावरण संरक्षणसँगै रोजगारी सिर्जना र उद्यमशीलता विकासको अवसर पनि हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘हरित रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा वातावरणमैत्री जीवनशैलीको विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँछ।’
पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकल तथा अपसाइकल मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत फेष्टको आयोजना गरिएको नगर प्रमुख आचार्यले बताए। फेस्टले रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबिच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य लिएको उनको भनाई छ।
‘फेष्ट मार्फत रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र वास्तविक बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्य राखिएको हो,’ उनले भने, ‘यो कार्यक्रम मार्फत विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरिनेछ।’
मेयर आचार्यले पोखरामा ग्रिन भेन्चर जोन (जीभीजेड) को अवधारणालाई प्रवर्द्धन गर्दै आरयू उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको पनि बताए। कोइकाका कन्ट्री डाइरेक्टर मूहेओन कोङ र युएनडिपीका आवासीय प्रतिनिधि क्योको योको सुकाले पोखराका लागि हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माणमा यस्ता प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने बताए।
महोत्सवबाट आरयू उद्यमहरुको दृश्यता र बजार पहुँच अभिवृद्धि हुनुका साथै रिसाइकलर, अपसाइकलर, निजी क्षेत्र र पर्यटन क्षेत्रबिच सहकार्य सुदृढ हुने अपेक्षा गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए। यसले चक्रीय अर्थतन्त्र तथा प्लास्टिक प्रदूषणका समाधानबारे जनस्तरमा बुझाइ बढाउन समेत सघाउने उनको भनाई छ।
रिसाइकल र अपसाइकल उद्यमलाई बजारसम्मको पहुँच पुर्याउन महोत्सव सहयोगी बन्ने महानगरको अपेक्षा छ। आरयू फेष्टमा १४ फिट अग्लो विशाल टेडी बियर ‘रुरु’ राखिएको छ। जुन फालिएका कपडा तथा प्रयोग भइसकेका सामग्रीबाट म्युज नेपालले निर्माण गरेको रुरु बाँसको भित्री संरचनामा तयार पारिएको सामग्री हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भाटभटेनी, रानीपौवा र गौरीघाट पार्कलगायतका सार्वजनिक स्थलमा प्रदर्शन गरिएको रुरुलाई महोत्सवका दुवै दिन प्रदर्शनमा राखिएको छ।
फेष्ट विद्यार्थीका लागि सिकाइ र अनुभव साटासाट गर्ने थलो बन्ने आयोजकको अपेक्षा छ। पोखरामा कोइकाको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनमा आएको छ। यसमा झण्डै एकअर्ब ४४ करोड ८७ लाख रुपैयाँको लगानीमा फोहोर प्रशोधनमार्फत रिसाइक्लिङ र अपसाइक्लिङ अन्तर्गत जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ।
यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि सन २०२७ को मार्च २७ मा पोखरा महानगरलाई हस्तान्तरण गर्नेछ। पोखराको प्रदर्शनी केन्द्रमा उत्पादित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ भने पोखरा महानगरपालिकाका ३३ वटै वडामा १ सय ३६ वटा सामुदायिक समूह नर्माण गरेर रिसाइक्लिङ र अपसाइक्लिङमार्फत सामग्री निर्माण भइरहेको छ।
प्रकाशित: २ मंसिर २०८३ १७:२८ बुधबार





